रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा हस्तक्षेप गर्ने कुनै पनि मुलुकले रूसको प्रतिकारको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।
राष्ट्रपति पुटिनले बुधबार रूसको उत्तरी सहर सेन्ट पिट्सबर्गमा सांसद्हरूसँग बोल्दै यस्तो चेतावनी दिएका हुन्।
‘हामीसँग सबैखाले हतियार र उपकरण छन्, त्यसैले कसैले घमण्ड नगरे हुन्छ, आवश्यक परेमा हामी तिनीहरूको उपयोग गर्नेछौं,’ उनले भने।
युक्रेनका सहयोगी देशहरूले हतियारको आपूर्ति बढाइरहेको बेला पुटिनको यस्तो चेतावनी आएको हो।
‘यदि बाहिरबाट कसैले युक्रेनमा हस्तक्षेप गर्न प्रयास गर्छ र रूसमाथि रणनीतिक खतरा उत्पन्न गर्छ भने हामी बिजुलीको गतिमा त्यसको प्रतिकार गर्नेछौं’, उनले अगाडि भनेका छन्।
अमेरिकासहित अन्य देशले रूसविरूद्ध लड्न युक्रेनलाई ठूलो मात्रामा सैन्य सहयोग दिइरहेका छन्।
पश्चिमा देशहरूले जर्मनीमा एउटा सम्मेलन गरेर युक्रेनलाई दिइने सैन्य सहायता बढाउने प्रतिबद्धता जनाएको भोलिपल्टै पुटिनको चेतावनी आएको हो।
‘हामीसँग सबैखाले उपकरणहरू छन्, कसैले पनि घमण्ड नगरे हुन्छ। यदि आवश्यक पर्यो भने हामी तिनलाई प्रयोग गर्छौं’, उनको भनाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।
उनले ती उपकरणहरू कसरी प्रयोग गर्ने भन्ने निर्णय पहिले नै भइसकेको भन्दै त्यसबारे विस्तृत खुलाएनन्।
यसैबीच पश्चिमा अधिकारीहरूले युक्रेनको पूर्वी क्षेत्रमा जारी रुसी विस्तारको प्रयासमा आफूहरूले रोकेको दाबी गरेका छन्।
गत साता मात्र रूसले युक्रेनी राजधानी किएभ वरपरको क्षेत्रबाट पछि हटेर डोनबास क्षेत्र केन्द्रीत आक्रमण सुरू गरेको थियो।
यता रूसले पोल्याण्ड र बुल्गेरियामा ग्यास निर्यात बन्द गरिसकेको छ।
रुसी रुबलमा भुक्तानी दिन अस्वीकार गरेपछि रुसी ग्यास कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बल्गेरियामा ग्यास आपूर्ति बन्द गरेको हो।
गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि हमला सुरु गरेको थियो।