काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट केशव स्थापित उम्मेदवार छन्। २०५४ र २०५९ गरी दुईपटक महानगरको मेयर भइसकेका स्थापित तेस्रोपटक मेयर बन्न प्रतिस्पर्धामा ओर्लिएका छन्।
आफैंले गरेका टिप्पणी र उठाएका विषयले विवादमा आइरहने स्थापित यसपटक काठमाडौं महानगरको मेयर उम्मेदवार बनेपछि फेरि चर्चामा छन्। सेतोपाटीका मनोज सत्यालले महानगरमा उनका योजना, उनले गरेका टिप्पणी लगायत विषयमा भिडिओ अन्तर्वार्ता गरेका छन्।
अन्तर्वार्ताका मुख्यमुख्य बुदाँहरू
- मनमा अलिकति खट्किएको छ, प्रतिस्पर्धी नै भएन कि भन्ने परेको छ। दुई पक्षबीच पार्टीका कुरा, सहादतका कुरा, हाम्रो पार्टीको नीति-सिद्धान्त यो भन्ने र त्यसबारे खेल्न पाए तलसम्म शिक्षित बनाउन सकिन्थ्यो।
- मेरो एग्रेसिभनेस घटेको छ। मैले ध्यान गरेँ। ताइची खेलेँ। योग गरेँ। म जीम गर्छु। ११२ किलो उचालेँ। मैले सहर बुझेको छु। १२ देखि १५ वर्षमा मैले अध्ययन गरेँ। म आइए पास हो तर मैले १० विषयमा पिएचडी गरेजत्तिकै अध्ययन गरेको छु। जेम स्टोनबारे, आयुर्वेदबारे, खोलानालाको विषयमा, मानसिक स्वास्थ्यको विषयमा।
- म जित्छु र त्यो एक दिन मात्र सेलिब्रेसन हुन्छ। म राम्रो नाच्ने मान्छे हो। मैले दुई वर्ष चर्या नाच गरेको छु। मेरो हातको मुभमेन्ट हेर्नुहोस्। म धिमे बजाउँछु। अरू पार्टीका मान्छे पनि नाच्न आऊ। त्यसको अर्को दिनदेखि प्रशासन सुधार गर्छु। भोलिपल्टदेखि म सर्वसाधारणलाई हरेक बिहान भेट्छु। मलाई कसैले तपाईंको यो गुण भएन भन्छ भने माफ पाउँ हजुर सच्याउँछु भन्छु। पदमा पुगेपछि भुइँमा बस्छु। गाली गरे पनि थापिदिउँला।
- महानगरमा मान्छेको मुभमेन्ट घटाउनुपर्छ। दही चाहिए बानेश्वर, सिन्का चाहिए पनि त्यही बानेश्वर भन्ने भएको छ। त्यो मुभमेन्ट साँघुरो पार्न सुविधासम्पन कम्प्लेक्सहरू बनाउनुपर्छ। त्यस्ता ४८ वटा कम्प्लेक्स बनाउने, कार पार्किङदखि रक्सी पसलसम्म राख्ने मेरो योजना छ। जुन ठाउँमा रक्सी पसल हुन्छ, त्यसले दैनिक २ लाखसम्म कमाउँछ भनेपछि पिसाब फेर्ने र पानी पिउने व्यवस्था गर्नेलाई मात्र रक्सी पसल राख्न दिने व्यवस्था गर्छु। यसबाट जनताले सुविधा पनि पाउँछन्, रक्सी पनि नियन्त्रणमा आउँछ।
- काठमाडौं महानगरले फोहोरदेखि सबै हेर्ने हो भने ४ अर्ब बजेटले हुँदैन, ४० अर्ब चाहिन्छ। विद्युत प्राधिकरणसँग अब हामी उपत्यकाभरिको विद्युत एकमुष्ठ किन्छौं। त्यसपछि कुनै होटलले कर तिरेन, नहुने क्रियाकलाप गर्यो, लागुपदार्थ बेच्यो भने पुलिस गएर तान्ने, खोरमा लैजाने प्रक्रिया हुन्छ। त्यस्तो घटना रेकर्ड भएलगत्तै बत्ती निभाइदियो भने के हुन्छ?
- तपाईं लेखेर राख्नुस् म १ लाख २० हजार भोट क्रस गर्छु। पहिलाजस्तो माधव नेपाल गुट, झलनाथ गुट भन्ने पनि छैन। विद्यासुन्दर र रामवीर मेरो साथमा छन्। एकीकृत समाजवादी सक्कियो। वडा नम्बर ४ को उम्मेदवार नै हाम्रो पार्टीमा आयो।
- गणेशमानको सम्मान अलग हो। बुहारी (सिर्जना सिंह) ले पनि त्यही सम्मान माग गर्न मिल्छ? के योगदान गरेको छ? प्रकाशमान सिंहसँग विवाह गरेपछि उहाँले नेवार भाषासम्म पनि सिकेको छैन भन्छन्। नेवार भाषामा बहस गरौं। लिपि थाहा छैन भन्छन्।
- बालेन शाहसँग मैले घन्टौं चिया खाएँ। इन्जिनियर हो भने तिमी आएको राम्रो हो भनेँ। मैले प्रश्न सोधेको थिएँ। उनले आफू काठमाडौंका नेवारहरूबीच जन्मिएको ठकुरी हुँ भने। मैले त होला भन्ठानेँ। अहिले युट्यबुमा भिडिओ हेरेको, अर्कै रहेछ। आफ्नो मूल खुलाउन नसक्ने मान्छेले महानगर दाबी गर्न आउन मिल्छ? सत्य बोल्नुपर्यो नि।
- यौन दुर्व्यवहारको विषय किन बेलाबेला देखापर्छ। अरू केही समूह किन वक्तव्यबाजी गर्छन्? त्यहाँ कुनै षड्यन्त्र छ। निर्वाचनपछि यो विषय सकिन्छ। यो विषयमा कसैले लगानी गर्नेवाला छैन। संलग्न नभएको विषयमा मैले किन प्रतिवाद गर्ने? म अहिले पनि आरोप लगाउनेसँग फेस टू फेस आउन आग्रह गर्छु। उहाँले मसँग आँखा जुधाउन सक्नुहुन्न।
- म १ लाख २० हजार भोट ल्याउँछु। बाँकी अरूले बाँडचुड गरून्। सबै वडाको तथ्यांक नसोध्नू, फेरि अरू भत्काउँदै हिँड्छन्।
भिडिओ: विवेक राई/सेतोपाटी