पूर्वी एसियाली मुलुक फिलिपिन्समा फर्डिनान्ड मार्कोस जुनियरले राष्ट्रपति निर्वाचनमा सानदार जित हासिल गरेका छन्।
गत सोमबार भएको चुनावमा मार्कोसले प्रतिष्पर्धीभन्दा झन्डै दोब्बर मत ल्याएर जित हासिल गरेका हुन्। उनले बुधबार जित दाबी गरेका छन्। यद्यपी मत परिणामको औपचारिक घोषणा हुन बाँकी रहेको सिएनएनले जनाएको छ।
बोङबोङ उपनामले चिनिने मार्कोस फिलिपिन्सका पूर्व तानाशाह फर्डिनान्ड मार्कोसका छोरा हुन्। उनले साढे दुई दशकसम्म फिलिपिन्समा तानाशाही शासन चलाएका थिए।
सन् १९८६ मा भएको जनआन्दोलनपछि उनको सत्ता ढलेको थियो। आन्दोलन बढ्दै गएपछि मार्कोस परिवार भागेर अमेरिकाको हवाई पुगेको थियो। त्यतिबेला उनीहरूले राज्यकोषबाट थुप्रै सम्पत्ति आफूसँगै लिएर गएको बताइन्छ।
देश छोडेर भागेको तीन वर्षपछि सन् १९८९ मा मार्कोसको हवाईमै निधन भएको थियो।
त्यसपछि उनको परिवार फिलिपिन्स फर्किएको थियो। फिलिपिन्समा आएपछि उनीहरूले आफ्नो राजनीतिक ठाउँ बनाउन प्रयास गरेका थिए। छोरा मार्कोस सिनेटर निर्वाचित भएका थिए।
यसपालि उनले 'राइज अगेन' र 'युनिटी' को नारा दिएर राष्ट्रपतीय चुनावी अभियान थालेका थिए।
एउटा तानाशाहको परिवारको सदस्यले फेरि फिलिपिन्सको सत्ताको बागडोर सम्हालेपछि अब उनले कसरी शासन गर्लान् भनेर केहीले चासो व्यक्त गरेका छन्।
मार्कोसले भने आफ्नो परिवारको इतिहास नभई काम हेरेर आफ्नो मूल्यांकन गर्न भनेका छन्।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मार्कोसलाई जितका लागि बधाई दिएका छन्।