मोडल ग्लोब भिजाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक १६ वर्षीया युवतीलाई बलात्कार गरेको भन्ने भिडिओ सार्वजनिक भएपछि पीडकविरूद्ध मुद्दा चल्छ कि चल्दैन भन्ने बहस सुरू भएको छ।
आठ वर्ष पुरानो घटना भएकाले उजुरी गर्न हदम्याद गुज्रेका कारण यो मुद्दा बन्न सक्दैन भन्ने आमबुझाइ छ।
बलात्कार भएको एक वर्षभित्र मुद्दा चलाइसक्नुपर्ने हदम्याद मुलुकी फौजदारी कानुनमा उल्लेख छ। यसबाहेक बालबालिकासम्बन्धी ऐनले पनि बालकैमा भएको यौन शोषण र हिंसाको उजुरी १८ वर्ष पुगेको मितिले एक वर्षभित्र पीडित आफैंले गर्न पाउने कानुनी व्यवस्था छ।
यी कानुनी व्यवस्थाकै आधारमा आठ वर्षअघिको बलात्कार घटना सामाजिक सञ्जालमा सार्वजनिक गर्ने युवतीको जाहेरी दर्ता हुँदैन कि भन्ने धेरैलाई लागेको छ।
महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता संजीवराज रेग्मी भने यसमा बलात्कारको मात्र नभएर धेरैथरि मुद्दा आकर्षित हुने बताउँछन्।
'हिजो सामाजिक सञ्जालमा मैले पनि उक्त भिडिओ हेरेँ। त्यो भिडिओमा उहाँले भनेअनुसारका घटना त बलात्कार मात्र होइन, धेरैथरिका मुद्दा आकर्षित हुने घटना हो,' रेग्मीले सेतोपाटीसँग भने, 'बलात्कार भएको घटनामा हदम्याद गुज्रिए पनि अरू मुद्दाको हदम्याद अझै हुन सक्छ।'
उनका अनुसार उक्त घटनामा युवतीलाई एक दिनसम्म होटलमा बन्धक बनाएको, अपहरण गरेको, अभिभावकको अनुमतिबिना नाबालिगलाई यौन शोषण गर्ने उद्देश्यले एक ठाउँदेखि अर्को ठाउँसम्म लगेकोजस्ता कसुरहरू भएका छन्।
'बन्धक बनाएको र अपहरण गरेकोमा हदम्यादको कानुनी व्यवस्था भए पनि शोषण गर्ने उद्देश्यले एक ठाउँबाट अर्को ठाउँ लैजाने कसुरमा भने अहिले पनि उजुर गर्न सकिन्छ,' प्रवक्ता रेग्मीले भने।
वरिष्ठ अधिवक्ता सतिसकृष्ण खरेलले पनि यो घटनामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ आकर्षित हुने बताए।
उक्त ऐनको दफा ४ को उपदफा २ (ख) ले 'वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबर्जस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्ति दुरूपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाकधम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिने' कार्यलाई मानव ओसारपसार भनेको छ।
यस्तो कसुर गरेको, गरिरहेको वा गर्न लागेको थाहा पाउने जोसुकै व्यक्तिले नजिकको प्रहरी कार्यालयमा उजुर गर्न सक्ने व्यवस्था उक्त कानुनमा छ। यस्तो उजुरी गर्ने हदम्याद कानुनमा तोकिएको छैन।पीडितले यस्तो उजुर गर्नेबित्तिकै प्रहरीले बयान प्रमाणित गराउन पहिले अदालत लैजानुपर्ने हुन्छ। पिडकलाई प्रहरीले तत्काल पक्राउ गर्न सक्छ। आफू निर्दोष रहेको प्रमाण पुर्याउने जिम्मा पनि अभियुक्तकै हुने कानुनमा उल्लेख छ।
वरिष्ठ अधिवक्ता खरेलले ती युवतीले अहिले पनि यो मुद्दामा उजुरी गर्न सक्ने, त्यसमा प्रहरीले अनुसन्धान गर्न सक्ने र मुद्दा अघि बढ्ने सम्भावना भएको बताए।
उनका अनुसार यो घटनामा युवतीलाई झुक्याएर होटल बोलाएको, बेहोस पारेको र बेहोसीकै अवस्थामा आफ्नो शक्ति दुरूपयोग गरी नियन्त्रणमा राखेको कसुर स्थापित हुन सक्छ। त्यसो गर्नेलाई उक्त ऐनको दफा १५ (छ) बमोजिम कारबाही हुने व्यवस्था छ।
यो दफाअनुसार शोषण गर्ने उद्देश्यले ओसारपसार गरेकोबाहेक दफा ४ को उपदफा (२) को खण्ड (ख) बमोजिम कसुर गर्नेलाई सातदेखि दस वर्ष कैद हुनेछ।
वरिष्ठ अधिवक्ता खरेलका अनुसार यो घटनामा मानव ओसारपसारसम्बन्धी कानुनबमोजिमको मुद्दा मात्र अदालत गयो भने पनि बलात्कार भएको हो कि होइन भन्नेबारे अदालतले बोल्न सक्छ। सर्वोच्च अदालतसम्मै मुद्दा पुग्यो र अदालतले चाह्यो भने बलात्कार घटनामा हदम्यादसम्बन्धी कानुनको व्याख्या गरेर पीडकलाई मुद्दा चलाउनेसम्मको आदेश हुनसक्छ।
युवतीको भिडिओ सार्वजनिक भएपछि बलात्कारका घटनामा मुद्दा चल्ने हदम्यादसम्बन्धी कानुन खारेज गर्न माग गर्दै शुक्रबार बालुवाटारमा युवाहरूले प्रदर्शन गरे। संसदमा पनि यस्तो कानुनमाथि पुनर्विचार गर्नुपर्ने आवाज उठ्यो। नेपाली कांग्रेसका सांसद गगन थापाले हदम्यादसम्बन्धी कानुन पुनर्विचार गर्नू भनी सरकारलाई निर्देशन दिन सभामुखसँग आग्रह गरे।
वरिष्ठ अधिवक्ता खरेल पनि बलात्कार मुद्दामा हदम्यादसम्बन्धी कानुन फेर्नुपर्ने बताउँछन्।
युवतीले आफ्नो भिडिओ बयानमा उल्लेख गरेअनुसार कन्सल्टेन्सीका सञ्चालक पाण्डेले उनलाई पार्टी हुन लागेको भन्दै झुक्याएर बोलाएका थिए। होटल पुगेपछि उनले बेहोस बनाएर आफ्नो नियन्त्रणमा लिई बलात्कार गरेको युवतीको भनाइ छ। त्यो बेला बलात्कार गरेको बेलाको फोटो खिचेको र कसैलाई भनेमा बेइज्जत गरिदिने धम्की दिएर ६ महिनासम्म पटकपटक यौन सम्बन्ध राख्न बाध्य पारेको पनि युवतीले बताएकी छन्।
त्यसपछिका ८ वर्षसम्म आफूले भोगेका मानसिक यातनाबारे युवतीले भिडिओ बयानमा उल्लेख गरेकी छन्।
पहिलो घटना भएको ६ महिनापछि ती युवतीले साथीको सहयोगमा पाण्डेकै अफिसमा गएर उनले आफूमाथि गरेको अपराधबारे कर्मचारीहरूकै अगाडि भनेकी थिइन्।
उनी र उनका साथीले त्यति बेला पाण्डेसँग भएका आफ्ना फोटो, भिडिओ लगायत सामग्री मेट्न लगाएका थिए। त्यो बेला उनका साथीले पाण्डेमाथि कुटपिटसमेत गरेका थिए।
पाण्डेको कन्सल्टेन्सी अफिसमा भएको उक्त घटनाका केही साक्षीहरूसँग सेतोपाटीले कुराकानी गरेको छ।
उक्त कन्सल्टेन्सीका एक पूर्वकर्मचारीले सेतोपाटीसँग कुरा गर्दै भने, 'बिहान मैले त्यो बहिनीको भिडिओ हेरेँ। ब्युटी कन्टेस्टको ६ महिनापछि भएको घटनाको एउटा साक्षी म पनि हुँ।'
ती कर्मचारीले आफ्नो नाम भने सार्वजनिक गर्न चाहेनन्।
त्यो दिन दिउँसो खाजा खाने बेलातिर ती युवती बानेश्वरको थापागाउँस्थित पाण्डेको अफिसमा आएको उनी सम्झिन्छन्।
त्यो बेला युवतीका साथमा उनले भिडिओमा भनेका खड्का थरका व्यक्ति पनि थिए। आफूले के छ भन्दै सोधेपछि उनीहरूले मनोज पाण्डेलाई भेट्न आएको बताएर बाहिरको सोफामा बसेको उनले बताए।
त्यस दिन ती युवतीको रिसाएको अनुहार आफूले अहिले पनि सम्झिरहेको उनी बताउँछन्।
उनका अनुसार केही बेरमा पाण्डे आए। युवती, उनीसँगै आएका खड्का थरका व्यक्ति र पाण्डेसहित तीनै जना उनको कार्यकक्षमा पसे। त्यहाँ उनीहरूबीच केही बेर भनाभन भयो। स्थिति बिग्रिन थालेपछि उनी पनि पाण्डेको कार्यकक्षमा गए।
त्यतिखेर ती युवतीले पाण्डेले आफूमाथि बलात्कार प्रयास गरेको बताएको उनी सम्झिन्छन्।
'उहाँले पाण्डेजीले आफूमाथि एटेम्प्ट टू रेप गर्यो, ज्यानमा जताततै छुने गर्छ, मलाई कति यातना दियो, डिप्रेसनको दबाइ खान थालेको छु भन्नुभएको थियो। बलात्कार नै गर्यो भनेको मलाई याद छैन। तर आज भिडिओ हेरेपछि बलात्कार नै भएको भन्ने सुन्दा म स्तब्ध भएको छु,' उनले भने।
पाण्डेले भने त्यतिञ्जेल 'त्यस्तो होइन' भनिरहेका थिए। त्यसपछि युवतीसँगै आएका खड्का थरका व्यक्तिले पाण्डेलाई तीन-चार झापड लगाए।
'पाण्डेजीले कुटाइ खाने बेलातिर अफिसमा होहल्ला भयो। त्यो बेला मोबाइलमा के-के छन् डिलिट गर्ने कुरा पनि भएको थियो। डिलिट पनि गरे क्यार, तर के-के डिलिट गरे मलाई याद छैन। वरिपरि भएका सबै मान्छे बोलिरहेका थिए। को के बोले भन्ने पनि मलाई याद छैन,' उनले भने।
उनले थपे, 'फोटोग्राफर श्रीधर (पौडेल) जी पनि आउनुभएको थियो। एक जना अर्को त्यही अफिसको कर्मचारी हुनुहुन्थ्यो जो अहिले विदेशमा हुनुहुन्छ। अरू को को थिए भन्ने त बिर्सिसकेँ। झ्याल खुलै थियो, पारी बोइज होस्टलबाट केटाहरूले हेरिरहेका थिए। त्यो बेला अर्चना पन्थी पनि भएको मलाई याद छ। कुटाइ खाएपछि पाण्डे बाहिर निस्के। ट्वाइलेट गए कि कता गए कुन्नि। मैले त्यही बेला त्यो बहिनीलाई कानुनी प्रक्रियामा जाने हो भने जानू, मनोजलाई कठघरामा लैजानू भनेको थिएँ।'
अफिसमा भएकै बेला ती युवतीले पाण्डेकी श्रीमतीलाई पनि फोन गरेर जानकारी गराएको उनले सम्झिए।
उनका अनुसार पाण्डे केही समयपछि अफिस आए। युवती र उनका साथी त्यहीँ थिएँ। त्यसपछि युवतीले अहिले एकपटकलाई छाडे पनि आइन्दा अरूलाई यस्तो गरेको थाहा पाए नछाड्ने बताएकी थिइन्।
'उहाँले अहिले एकपटक यस्तै भयो, आइन्दा कसैलाई यस्तो गरेको सुनेँ भने मैले छाड्ने छैन भन्नुभयो। मैले पनि यस्तो हुने भए हामी अबदेखि ब्युटी पेजेन्ट नै नगर्ने, म यहाँ कामै गर्दिनँ भनेको थिएँ,' उनले भने।
उनका अनुसार त्यसपछि उक्त कन्सल्टेन्सीले ब्युटी पेजेन्ट कार्यक्रम नै आयोजना गरेन।
फोटो पत्रकार श्रीधर पौडेलले पनि ती कर्मचारीको कुरा पुष्टि गरे।
'ब्युटी पेजेन्टको धेरै समयपछि मनोज पाण्डेको अफिसका एक कर्मचारीले बोलाएर म त्यहाँ गएको थिएँ। त्यहाँ तीन चार जना मानिस थिए। मनोज पाण्डेलाई खड्काजीले पिटिरहेका थिए,' उनले भने, 'म पुगेर के भयो भनेर सोधेँ। त्यो बहिनी (पाण्डेले आफूमाथि बलात्कार गरेको बताउने युवती) ले मलाई सेक्सुअल ह्यारेसमेन्ट गर्यो भन्नुभयो। त्यही बेला टेबुलमा रहेको क्यालेन्डर उठाएर मैले पनि मनोज पाण्डेलाई हिर्काएँ। त्यसपछि उसले रूँदै माफी मागेको थियो।'
त्यसपछि आफूहरूले युवतीलाई प्रहरीकहाँ जान सुझाएको पौडेलले दाबी गरे।
'उक्त कन्सल्टेन्सीमा काम गर्ने एक जना स्टाफ र मैले पुलिसमा जान भन्यौं। त्यो बहिनीले अब आइन्दा अरू केटीलाई यस्तो गरिस् र ब्युटी पेजेन्ट आयोजना गरिस् भने स्टेजमै आएर तेरो बेइज्जत गरिदिन्छु भनेपछि मनोजले हुन्छ भनेका थिए,' उनले भने, 'त्यति कुरा पछि म निस्किएको थिएँ। मलाई अरू थाहा भएन।'
प्रहरीकहाँ जान सुझाउने कर्मचारीले त त्यसपछि 'म यहाँ काम गर्दिनँ' भन्दै कन्सल्टेन्सीमा काम गर्न छाडेको पौडेलले बताए। युवतीले पनि आफ्नो भिडिओमा यो कुरा भनेकी छन्।
त्यसपछि पीडित युवतीले एक पूर्व मिस नेपाललाई फोन गरेको बताएकी छन्। ती पूर्व मिस नेपाल माल्भिका सुब्बा भएको बिहीबार खुलेको थियो। त्यतिखेर आफूले घटनाबारे बताउँदा 'तिम्रो समस्या हो, मलाई किन फोन गरेको' भनेर माल्भिकाले सुन्नै चाहिनन्।
कन्सल्टेन्सी सञ्चालकबाट छ महिनासम्म बलात्कार, धम्की र यातना भोगिसकेपछि आफूले आदर्श मानेकी सुब्बालाई सहायताका लागि फोन गरेको तर उनले बेवास्ता गरेको ती युवतीले भिडिओमा उल्लेख गरेकी थिइन्।
युवतीले भोग्नुपरेको घटनाबारे त्यति बेला राम्ररी नसुनेकोमा पूर्व मिस नेपाल माल्भिका सुब्बाले सार्वजनिक माफी मागेकी छन्।
आफूले सन् २०१४ देखि २०२१ सम्म भोगेका बलात्कार, यौन दुर्व्यवहार र यातनाबारे युवतीले २० वटा साना साना भिडिओ क्लिपमा विस्तार गरेकी छन्। त्यसमै उनले कन्सल्टेन्सी सञ्चालक पाण्डेले आफूलाई बेहोस हुने औषधि मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी हुन्।
उक्त कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रमहरू आयोजना गर्छ। मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको ती युवतीले बताएकी छन्।
मिस ग्लोबल प्रतियोगितामा छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले बताएकी छन्। आफू त्यहाँ पुग्दा पाण्डेबाहेक कोही नभएको युवतीले भनेकी छन्।
उनका अनुसार, किन कोही नभएको भनेर सोध्दा पाण्डेले 'तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच-छ बजेबाट पार्टी सुरू हुन्छ' भनेका थिए। एकछिन बसेपछि उनले किशोरीलाई 'लेमोनेड' खान दिए।
'लेमोनेड खाएको केही समयपछि रिंगटा लागेजस्तो भयो। म घर जान्छु भन्दै निस्किन लाग्दा उनले रोके,' उनले भिडिओमा भनेकी छन्, 'अहिले नजाऊ, पार्टीमा केटीहरूले ड्रिंक गरेपछि उनीहरूलाई गाह्रो हुन सक्छ भनेर हामीले कोठा बुक गरेका छौं, त्यहाँ गएर आराम गर भनेर मलाई कोठामा लगे।'
त्यसपछि आफूलाई राम्ररी होस नभएको उनले बताएकी छन्। बीचबीचमा आफू ब्युँझिँदा पाण्डेले आफूलाई बलात्कार गरिरहेको उनले भनेकी छन्।
बिहान घर जाने बेला ती व्यक्तिले 'यो कुरा कसैलाई नभन्नू, मसँग तिम्रो फोटो र भिडिओ छ, सार्वजनिक गरिदिन्छु' भनेर धम्क्याएको पनि उनले बताएकी छन्।
उनका अनुसार त्यति बेला उनी १६ वर्षकी थिइन्। पाण्डेले त्यसपछि छ महिनासम्म आफूलाई बलात्कार गरेको उनले बताएकी छन्।
उनले छ महिनापछि खड्का थरका आफ्ना साथीको सहयोगमा पाण्डेको कन्सल्टेन्सीमै गएर सबै कर्मचारीका अगाडि यो घटनाबारे बताएको उल्लेख गरेकी छन्। पाण्डेले पठाएका म्यासेज र कल रेकर्ड सबैलाई देखाएको पनि उनले बताएकी छन्।
आफ्ना साथीले पाण्डेलाई कुटपिट गरेको र उनले राखेको भनेका फोटो र भिडिओ हटाउन लगाएको युवतीले बताएकी छन्। यो घटनापछि कामका लागि अर्को कन्सल्टेन्सी जाँदा त्यहाँ पनि यौन दुर्व्यवहार सामना गरेपछि आफूले मोडल बन्ने सपनै छाडिदिएको उनले भिडिओमा भनेकी छन्।
उनले मोडल र अभिनेत्री बन्न चाहने नयाँ पुस्ताका किशोरी तथा युवतीलाई मान्छेहरू भेट्न जाँदा सुरक्षित भएर जान र एक्लै नजान सुझाएकी छन्।
आफूसँग भएका सबै प्रमाण डिलिट गरिदिएकाले आफूलाई बलात्कार गर्ने ती व्यक्तिको थर मात्रै सार्वजनिक गरेको उनले भिडिओमा बताएकी छन्। यो घटनाबारे थाहा भएर पनि धेरैले आफूलाई सहयोग नगरेको उनले भनेकी छन्।