बाँकेको नरैनापुर-३ का अजयकुमार मिश्र वैशाख पहिलो सातासम्म गाउँपालिकाको दमकलमा सहायकको काम गर्थे।
उनी कतै दमकल आवश्यक पर्दा पाइप मिलाउने, आगो लागेको ठाउँमा आगो निभाउन जाने, चालक सँगै स्थानीय खोलामा पानी भर्न जाने, दमकल सफाइ गर्ने लगायत काम गर्थे।
मनोनयन दर्ताको अघिल्लो दिन भने उनले जागिरबाट राजीनामा दिए। अर्को दिन वडाध्यक्षका लागि उम्मेदवारी।
जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका मिश्रले वैशाख ३० गते भएको चुनाव जिते। ३७ वर्षीय मिश्रले ६५४ मत प्राप्त गर्दा नेकपा एमालेका ताज मोहम्मद खाँले ५२५ र नेपाली कांग्रेसका राजकुमार मौर्यले ४६५ मत ल्याएका थिए।
वडाध्यक्ष बनेसँगै मिश्रको दैनिकी र जीवनको लक्ष्य फेरिएको छ।
‘म अति नै गरिब परिवारको मान्छे हुँ,’ मिश्रले सेतोपाटीसँग भने, ‘मलाई वडावासीले यहाँसम्म पुर्याए। अब म पनि आफूले भ्याएसम्म उनीहरूको सेवा गर्छु।’
उम्मेदवारी दर्ता गरेपछि आफू दुई दिनमात्रै जनताको घर-दैलोमा भोट माग्न जान सकेको मिश्रले बताए।
‘त्यसपछि म ठूलो बिराम परें र औषधी गर्न गएँ,’ उनले भने, ‘तैपनि जनताले आफैं मेरो लागि भोट मागे र विजयी गराए।’
मिश्रले कक्षा १२ सम्मको पढाइ छिमेकी देश भारतबाट पूरा गरेको जानकारी दिए।
‘मेरो पालामा नरैनापुरमा आठ कक्षासम्म मात्रै विद्यालय थिए र अहिलेको जस्तो बाटो नभएकाले उतिखेर नेपालगन्ज जान राप्ती नदीले रोक्थ्यो,’ मिश्रले भने, ‘हामीलाई इन्डिया गएर पढ्न नजिक र सहज भएको हुँदा मैले उतैबाट कक्षा १२ सम्मको पढाइ पूरा गरेको हुँ।’
आफूलाई वडावासीले बिरामी हुँदा पनि भोट मागेर जिताएकोमा औधी खुसी लागेको उनले बताए। उनको घर वडा कार्यालदेखि करिब ३ किलो मिटर टाढा मात्रै छ।
‘म निर्वाचित भएपछि एकदिन मात्रै घर गएको छु,’ मिश्रले भने, ‘आज १६ दिन पुग्यो, म जनताकै घरमा बास बसिरहेको छु।’
आफ्नो घरमा बस्न आउनुपर्छ र खाना खाइदिनुपर्छ भन्नेहरू धेरै भएको हुँदा स्थानीयकै चाहनाअनुसार आफ्नो घर जान नपाएको उनले बताए।
जनताको इच्छा-चाहनाअनुसार काम गर्ने सोच बनाएको उल्लेख गर्दै उनले जनताका घर-घरमा पुगेर, उनीहरूका कुरा सुन्दै आएको उनको भनाइ छ।
उनी पहिलो दिन वडा कार्यालय जाँदा आफ्नै साइकल चढेर गएका थिए। दोस्रो दिन गाउँपालिकाले आफ्नो लागि भनेर एउटा पुरानो गाडी पठाइ दिएको पनि उनले बताए।
‘मेरो मोटरसाइकल छैन,’ मिश्रले भने ‘कहिलेकाहीँ भाइको स्कुटरमा यात्रा गर्छु।’
धेरै वडाबासीको माग गरिब बालबालिकाको शिक्षा र गरिब परिवारको स्वास्थ्य उपचारका लागि केही गर्नुपर्छ भन्ने रहेको हुँदा आफू त्यहीअनुरूप अगाडि बढ्ने मिश्रले बताए।
‘गरिबका छोराछोरीले पनि इच्छा लागेको विषय पढ्न पाउनुपर्छ भन्ने मेरो धारणा छ,’ उनले थपे, ‘म गरिबका जेहेन्दार छोराछोरीलाई इन्जिनियर र डाक्टर पढाउन सहयोग गर्नेछु।’
कालाफाँटामा अधिकांश घरमा फुसका छन्। ती घरमा जस्ता (टिन) को छाना लगाउने प्रतिवद्धता उनले जाहेर गरे। वडाका चार वटा बस्तीमा बिजुली र बाटो नपुगेको हुँदा ती ठाउँमा बिजुली, बाटो र पिउने पानीको लागि धाराको प्रबन्ध मिलाउन काम गर्ने उनले बताए।
‘मेरो योजना अबको पाँच वर्ष पुरै जनताको सेवामा खटिने भन्नेछ,’ मिश्रले भने।