जेठ १९ गते नै तुलसीपुर उपमहानगरपालिकाले मोबाइलमा म्यासेज पठायो।
त्यो म्यासेजमा २० गते बिहान ११ बजेदेखि आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमका बारेमा राय सुझाव माग गर्नका लागि निम्तो थियो।
निर्धारित समयभन्दा झन्डै एक घन्टा ढिलो गरी पुग्दा उपमहानगरपालिकाको हलमा मुस्किलले दुई दर्जन मानिस थिए। त्यसमध्ये ६ जना पत्रकार र अधिकांश उपमहानगरकै कर्मचारी।
अगाडि लक्सरै पत्रकार तथा नागरिक समाज दाङका पूर्वसंयोजक टीकाराम रेग्मी, नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ का क्षेत्रीय सभापति, पूर्वमेयर तथा नेकपा एमालेका नेता ढुण्डिराज लामिछाने, उपमेयर श्यानी चौधरी, मेयर टीकाराम खड्का बसेका थिए
अन्त्यतिर तुलसीपुरका यसअघिका मेयर घनश्याम पाण्डे आएपछि प्रमुख प्रशासकीय अधिकृतले छोडेर उनी दर्शक दिर्घामा आएर बसे।
मेयर खड्काले फ्लोर ओपन गर्दै सुरूमा मेयरका प्रतिष्पर्धी जसपाका टोपबहादुर महतरालाई राय दिन आग्रह गरे। महतराले तुलसीपुरमा पार्किङ समस्या समाधानका लागि पहल गर्न आग्रह गरे। तुलसीपुर बजारको फोहोर स्थानीय कुलोमार्फत दक्षिण तर्फका खेतबारीमा पुगेर खेप्नुपरेको सास्ती समाधान गर्न सुझाए।
त्यसपछि मेयर खड्काले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीलाई राय सुझाव दिन अनुरोध गरे।
भण्डारीले बबईको पानी लिफ्टिङ गरि तुलसीपुर बासीको घर घरमा पुर्याउने योजनाका साथ काम अगाडि बढेको आग्रह गरे ।
नेपाली कांग्रेसका नेता सुरेन्द्रबहादुर खड्काको बोल्ने पालो आयो। खड्का राप्ती आँखा अस्पताल सञ्चालक समितिका सचिव पनि हुन्। उनले आँखा अस्पतालले गरेका काम र बिगतमा तुलसीपुर उपमहानगरपालिकासँगको सहकार्यका बारेमा अवगत गराए ।
त्यसपछि क्रमशः तुलसीपुर च्याम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्ती, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको पालो आयो। उनीहरूले ब्यवसायिक हकहितका बारेमा बोले। रकम भुक्तानी गर्दा सम्पन्न भएका योजनाको काम हेरेर मात्रै दिनका लागि एउटा समिति निर्माणमा जोड दिए। उनीहरूले विमान सेवा धेरै असहज, महंगो बन्न पुगेको भन्दै तुलसीपुरमा रहेको टरिगाँउ एयरपोर्टको स्तरोन्नती गर्न जोड दिए।
त्यसपछि पत्रकारले आफ्नो पालोमा नगरका सार्वजनिक जग्गा जोगाउन, हरित नगरि निर्माणमा जोड दिन, परम्परागत प्राकृतिक सिँचाई कुलाको जगेर्ना गर्न, टरिगाँउ एयरपोर्ट नजिकैको चिरोमा मनोमानी ढंगले गल्ने नगल्ने फोहोर फालेर जैविक विविधता नष्ट नगर्न सुझाए।
पत्रकार र कर्मचारीको उपस्थितिले शोभा बढाइ दिएको थियो। आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमका बारेमा राय सुझाब संकलन जस्तो महत्वपूर्ण कार्यमा किन निम्त्यिाइएका अतिथि आएनन्?
हलदेखि बाहिर निस्कदै गर्दा एक जना सेवाग्राहीले भने, ‘मलाई त भित्र छिर्न पनि मन लागेन, उनीहरूले हामीले दिएको सुझाव अनुसार काम गरेको भए पो जाने? रित्तो हलमा सुझाब संकलन गर्नुको के अर्थ छ?’
निर्वाचित जनप्रतिनिधिले यसअघि आफ्नो दलबाट निर्वाचित वा आफू निकटका वडामा बढी बजेट दिएको र आफूलाई मन नपर्ने ब्यक्तिलाई बजेट नदिएर हैरान पारेको हुँदा कोही पनि सुझाब संकलनमा नआएको हुनसक्ने उनले दाबी गरे।