सातामा दुई दिन बिदा दिने सरकारी निर्णयको सर्वत्र आलोचना भइरहेका बेला प्रदेश १ का स्थानीय तहहरुले भने त्यसको धमाधम अवज्ञा गर्दै शनिबार मात्रै बिदा दिने नीति अख्तियार गर्न थालेका छन्।
शनिबार र आइतबारको बिदा फलदायी नभएको ठहरमा पुगेका स्थानीय तहले शनिबार मात्रै सार्वजनिक बिदा दिने नीति लिएका हुन्। अहिलेसम्म इलामका दुईटा र ताप्लेजुङका एक स्थानीय सरकारले शनिबार मात्रै बिदा दिने आइतबारको बिदा आफ्नो क्षेत्रमा कार्यान्वयन नगर्ने निर्णय गरेका छन्।
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका, इलामका देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकाले आइतबारको बिदा कार्यान्वयन नगर्ने निर्णयको कार्यान्वयन थालिसकेका छन्।
इलामका दुवै स्थानीय सरकारका जनप्रतिनिधिले अघिल्लो साता जिम्मेवारी सम्हालेलगत्तै दुई दिने बिदा कार्यान्वयन नगर्ने निर्णय गरेका हुन् भने ताप्लेजुङको पाथिभरा याङवरकले यही साता यस्तो निर्णय लिएको हो। स्थानीय सरकारको निर्णयलाई कर्मचारी तथा विभिन्न कार्यालयहरुले स्वीकार गरेको जनप्रतिनिधि बताउँछन्।
ताप्लेजुङकै फुङलिङ नगरपालिकाले शिक्षण संस्थाहरु आइतबार पनि खुलै राख्ने निर्णय लिएको छ। यद्यपि नगरले शिक्षा क्षेत्र खुला राख्ने र अन्य कार्यालयहरु खुला नराख्ने निर्णयको स्थानीयस्तरमा विरोध भने भइरहेको छ। त्यहाँ एक रूपतामा आधारित निर्णय गर्न भन्दै दबाब आएको नगर स्रोतले जनाएको छ।
स्थानीय सरकारका प्रमुखहरुले संघीय सरकारले दिएको दुई दिने बिदा स्थानीय तहमा मेल नखाने भएका कारण यस्तो निर्णय लिइएको बताएका छन्।
‘विगतमा कोरोनाका कारण विद्यार्थीको पढाई चौपट भएको छ’, इलाम फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले भने ‘त्यहीमाथि दुई दिन बिदा कार्यान्वयन गर्दा उपलब्धि देखिएन। फेरि दुई दिनको बिदाले स्थानीय नागरिकलाई सरकारी सेवा लिन पनि असहज हुने भएपछि हामीले शनिबार मात्रै बिदा दिने निर्णय लिएका हौं।’
सरकारको दुई दिने बिदाको औचित्य कतैबाट पनि पुष्टि नहुने जनप्रतिनिधिहरुको भनाइ छ। ‘काठमाडौंलाई हेरेर देशभर एउटै निर्णय लागू गर्नु गलत हुन्छ’, खनालले भने, ‘त्यसैले सरकारले यसमा पुनः विचार गर्नैपर्छ। हामीले स्थानीय आवश्यकता र जनताको इच्छा अनुसारको कदम चालेका हौं।’