जिल्ला समन्वय समिति गठनका लागि सुर्खेतमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुने भएको छ। नेपाली कांग्रेससँग गठबन्धन गरी एक पालिकामा अध्यक्ष जितेको माओवादीले चार पालिकाको नेतृत्व लिएको एमालेसँग तालमेल गर्न लागेको हो।
समन्वय समितिमा गरिने तालमेलअनुसार नेकपा एमालेले प्रमुख र ६ जना सदस्य पाउने सहमति भएको छ भने माओवादीले उपप्रमुख र २ जना सदस्य पाउने सहमति भएको छ।
नेकपा एमालेले समन्वय समितिको प्रमुखमा गंगाराम सुनारलाई उम्मेदवार बनाउने भएको छ। सुनार २०७४ को स्थानीय तह निर्वाचनबाट वीरेन्द्रनगर-१ को अध्यक्ष निर्वाचित भएका थिए। अहिलेको निर्वाचनबाट सोही पदमा पराजित भएका उनलाई कार्यपालिका सदस्यमा दलित तथा अल्पसंख्यक कोटाबाट मनोनित गरिएको थियो।
माओवादीले उपप्रमुखमा सचिनकुमार बडुवाललाई उम्मेदवार बनाउने भएको छ।
प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूको प्रस्तावक वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल बन्दैछिन्। समर्थक चौकुने गाउँपालिकाका अध्यक्ष खड्क बिक बन्दै छन्।
नेकपा एमालेका सुर्खेत अध्यक्ष अमृत बिसीले माओवादीसँग गठबन्धन गर्नेबारे छलफल भइरहेको बताए।
'हामी छलफलमै छौं, मोटामोटी कुरा त पक्का भइसकेको छ,' उनले भने, 'उम्मेदवारबारे छुट्टै कुरा भइरहेको होला।'
२०७४ को निर्वाचनमा कुनै पनि पालिकाको नेतृत्व लिन नसकेको माओवादीले अहिले कांग्रेसँगको गठबन्धनका कारण चौकुने गाउँपालिकाको अध्यक्ष जितेको थियो। चौकुनेमा उपाध्यक्ष भने कांग्रेसले जितेको छ।
यसअघि चौकुनेकै कार्यपालिका निर्वाचनमा पनि माओवादीले एमालेसँग गठबन्धन गरी कांग्रेसलाई हराएको थियो।
जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा १८ जना मतदाता छन्। जसमा माओवादी र एमालेको गठबन्धन हुँदा उनीहरूको पक्षमा १० मतदाता हुन्छन्।
एमालेका ४ प्रमुख, ५ उपप्रमुख र माओवादीका एक अध्यक्ष गठबन्नधतर्फका मतदाता हुन्। कांग्रेसका चार प्रमुख र चार उपप्रमुख गरी ८ जना मतदाता छन्।
जेठ २७ गते सुर्खेत जिससको चुनाव हुँदैछ।