झापामा बस्दै आएका भुटानी शरनार्थीका नेता डाक्टर भम्पा राईको निधन भएको छ।
गए राति २:४० बजे ७५ वर्षका राईको निधन भएको हो। उनको विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
पाँच दिन अघि दमकमै हर्नियाको शल्यक्रिया गरिएका राईको शनिबार अपरान्ह करिब ३ बजेतिर मुटुको चाल कम भएको थियो।
उनलाई सुरूमा झापाको दमकस्थित लाइफालाइन अस्पतालमा उपचारका लागि लगिएको थियो। चिकित्सकहरूले थप उपचारका लागि भन्दै विराटनगर पठाएका थिए।
उपचारका क्रममा राईको गए राति निधन भएको उनकी भान्जी गौरी राईले जानकारी दिइन्।
३० वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका राई दमकमा एक्लै बस्दै आएका थिए।
दुई वर्षअघि श्रीमती उर्मिलाको निधन भएपछि उनी दमकस्थित डेरामा एक्लै बस्दै आएका थिए।
राई पेटसम्बन्धी रोगबाट पीडित थिए। तीन वर्षअघि आन्द्रा फुटेर रगत बग्दा उनी लामो समय थलिएका थिए। उनी पछिल्लो एक वर्षदेखि हर्नियाबाट पनि पीडित थिए।
किराँत संस्कारअनुसार राईको आज दमक नजिकै पाडाजुँगीस्थित रतुवामाई वृक्षारोपणको जंगलमा अन्त्येष्टि गर्ने तयारी छ।
राई कहिलेदेखि बसेका थिए झापामा?
सन् १९९२ मा भुटानबाट लखेटिएपछि राई नेपाल आएका थिए। उनी दमकमा बस्न थालेका थिए।
शरणार्थीको नि:शुल्क उपचारमा संलग्न राईले चिकित्सासँगै शरणार्थी फिर्ती आन्दोलनको नेतृत्व गरेका थिए।
भूटानी राजाका डाक्टर राईले शरणार्थीको तेस्रो देश पुनरबासको कार्यक्रम अस्वीकार गर्दै सास रहेसम्म शरणार्थीको स्वदेश फिर्तीलाई नै अभियानको रुपमा अघि बढाउने बताउँदै आएका थिए।