जिल्ला अदालत दोलखाका न्यायाधीश कविप्रसाद न्यौपानेले नाबालिग बलात्कार मुद्दामा ‘मिल्न’ सुझाव दिएको पीडित पक्षले आरोप लगाएका छन्।
जेठ ३० गते बकपत्र गर्न गएका बेला इजलास बाहिर अदालतको ढोकामै उभिएर न्यायाधीश न्यौपानेले पीडितको शरीरमा घाउचोट छ कि छैन भनेर सोधेको पीडित बालिकाकी आमाले बताइन्।
‘हामी अदालतको ढोका छेउमा बसेका थियौं,’ उनले सेतोपाटीसँग भनिन्, ‘न्यायाधीशज्यू माथिबाट तल झर्नुभयो हामी बसेको ठाउँमा आएर पीडितको शरीरमा घाउ चोट छ कि छैन भन्दै सोध्नु भयो।हामीले छैन भन्यौं।’
त्यसपछि न्यायाधीशले मिल्दा हुन्छ भनेर सुझाव दिएको उनले बताइन्।
‘हामीले घाउ चोपटक त छैन भन्ने बित्तिकै उहाँले त्यसो भए यसमा केही हुन्न तिमीहरू मिल्दा हुन्छ भन्नुभयो,’ उनले भनिन्।
आफूले न्यायाधीशलाई ‘किन मिल्ने हामी’ भनेर सोधेको उनको भनाइ छ।
‘उहाँले यस्तो मुद्दामा धेरै मिलेरै जान्छन् भन्नुभयो,’ उनले भनिन्।
न्यायाधीशले नै पीडकसँग मिल्न भनेपछि अदालतबाट न्याय पाइन्न कि भन्ने उनको मनमा परेको छ।
‘न्यायाधीशजस्तो मान्छेले यस्तो भन्न मिल्छ त?,’ उनले प्रश्न गरिन् ‘हामीले न्याय पाइन्छ भनेर कसरी ढुक्क हुने?’
न्यायाधीशले मुद्दाका पक्षसँग सबै कुरा इजलासमा सोध्ने गर्छन्। इजलासभन्दा बाहिर आएर कुनै पनि न्यायाधीशले पक्ष वा विपक्षसँग कुरा गर्नु आफैंमा अस्वाभाविक हो। त्यसमाथि यो नाबालिगमाथि भएको बलात्कारको घटनासम्बन्धी मुद्दा हो। यस्ता घटनाको सुनुवाइ नै बन्द इजलासमा हुन्छ।
सेतोपाटीसँग कुरा गर्दै न्यायाधीश न्यौपानेले भने आफूले मिल्न सुझाव नदिएको दाबी गरेका छन्।
‘मैले त पीडित को हो भनेर सोधेको थिएँ। पीडितको आमाले हामी भनेपछि कसरी तपाईं पीडित हुनुहुन्छ भनेर सोधेँ। त्यस पछि उनीहरूले वास्तविक पीडितलाई देखाए,’ उनले सेतोपाटीसँग भने, ‘बलात्कार जस्तो मुद्दामा पनि मिलेर जानुपर्छ भन्ने सुझाव दिने भन्ने हुन्छ त? फौजदारी मुद्दामा मैले त्यस्तो भनेको थिइनँ। यस्ता मुद्दामा हामी संवेदनशील छौं।’
बरू आफूले अदालतमा हिँडिरहेका बेला अरू नै कसैले ‘पीडितको शरीरमा घाउ चोट छ कि छैन’ भनेर सोध्दै गरेको सुनेको उनले बताए।
‘उहाँहरूलाई त्यहाँ अरू नै कसैले शरीरमा घाउचोट छ कि छैन भनेर सोधिराख्या मैले देख्या थिएँ,’ उनले भने, ‘पीडितको घाउचोट त्यस्ता कुरामात्र हेरिने हुन्छ र?’
त्यसरी कसले सोधेको थियो भन्ने सेतोपाटीको प्रश्नमा भने उनले भने, ‘त्यो थाहा छैन मलाई अड्डामा कसले कसले सोध्छन्। सोधिहाल्छन् नि वकिलहरूले सोध्दैनन्? ’
अदालत स्रोतका अनुसार त्योबेला त्यहाँ वरिपरि पीडित, अदालतका एक कर्मचारी र न्यायाधीश न्यौपानेमात्र थिए। यो घटनामा पीडित पक्षकी साक्षी रूपा सार्कीले पनि न्यायाधीश न्यौपानेले पीडितकी आमालाई मिल्न सुझाएको बताइन्।
त्यो बेला आफू र पीडितकी आमाले न्यायाधीश न्यौपानेसँग गरेको कुराकानी उनले सेतोपाटीसँग विस्तृतमा बताएकी छन्।
‘एक तला माथि रहेको इजलासबाट झरेर न्यायाधीश तल हामी भएको ठाँउमा आउनु भयो र आफैं कुरा गर्न थाल्नु भयो। चोटपटकबारे सोधिसकेपछि ढोकाबाट बहिर निस्किँदै उहाँले ‘मिलेको भए हुन्थ्यो’ भन्नुभयो’, उनले भनिन्,‘त्यसपछि मैले ‘यो मिल्ने घटना नै होइन’ भने।’
रूपाका अनुसार न्यायाधीशका कुरा सुनेर बालिकाकी आमाले पनि किन मुद्दा फिर्ता गर्ने भनेर सोधेकी थिइन्। त्यसपछि न्यायाधीशले ‘घाउचोट नभएपछि मुद्दा गाह्रो हुन्छ’ भनेका थिए।
उनले फेरि सोधे, ‘पहिले त केटाकेटीको राम्रै थियो रे होइन? कलम कापी किन्दिने गर्थ्यो रे हैन?’
पीडितकी आमाले आफ्नो छोरीलाई पीडकले धेरै अघिदेखि पछ्याएको न्यायाधीशलाई सुनाइन्।
‘छोरीलाई त पहिलैदेखि पछ्याएको रहेछ। घटनाको दिन पनि हामीलाई थाहै नदिइकन उसले छोरीलाई आमाले पठाइदिएको पैसा भन्दै कपि कलम किन्दिएको थियो रे,’ आमाले न्यायाधीशलाई भनिन्।
त्यसपछि न्यायाधीशले ‘पहिला त राम्रै रहेछ त’ भनेको रूपाले बताइन्। पीडित परिवार र न्यायाधीशबीच यो संवाद हुँदा अदालतका एक कर्मचारी पनि सँगै रहेको रूपाले बताइन्।
काठमाडौंको जैसीदेवलका ३५ वर्षीय सुरज कपालीले आफ्नी १३ वर्षीया छोरीलाई २०७७ सालको होलीको दिन चैत ६ गते बलात्कार गरेको जाहेरी उनकी आमाले दोलखा प्रहरीमा दिएकी थिइन्। प्रहरीले अनुसन्धान गरेपछि सरकारी वकिलले दोलखा जिल्ला अदालतमा मुद्दा चलाएको थियो। त्यसपछि अदालतले बकपत्रका लागि उनीहरूलाई बोलाएको थियो।
सोही मुद्दामा पीडित लगायतका साक्षीको बकपत्र दिन आमा-छोरी काठमाडौंबाट र चरिकोटबाट अरू दुई साक्षी दोलखा अदालत गएका थिए।
उनीहरूले अदालतमा पुगेर बकपत्र गर्न आएको जानकारी दिए र ढोका छेउको कुर्चीमा बसिरहेका थिए। केहीबेरमा एक महिला कर्मचारी आएर उनीहरूलाई त्यो दिन बकपत्र नहुने जानकारी गराइन्।
पीडित आमाले सोधिन्, ‘किन ?’
त्यो दिन अर्को पक्ष नआएकाले बकपत्र नहुने जानकारी कर्मचारीले गराइन्।
बकपत्र नहुने भएपछि पीडित, पीडितको परिवार र साक्षी रूपा अर्को तारिक लिन अदातलको भुइँतल्लामा पर्खिरहेका थिए। त्यही बेला न्यायाधीश न्यौपाने आएर उनीहरूसँग मुद्दाको बारेमा कुरा गरेका हुन्।
पीडित परिवारलाई प्रतिवादी पक्षले मुद्दा फिर्ता लिन र बयान फेर्न दबाब दिँदै आएको छ।
पक्राउ परेको दिनदेखि नै आफूहरूलाई प्रतिवादीका परिवारले हैरान पारेको बालिकाकी आमाले बताइन्। उनीहरूले हैरान पारेपछि काठमाडौंमा आफूहरू बस्दै आएको ठाउँ पनि छोड्नुपरेको उनले बताइन्।
‘हामीलाई पीडक परिवारले धम्की र प्रलोभन सबै देखाएर मुद्दा फिर्ता गर्न भनेका थिए। मैले मानिनँ,’ उनले भनिन् ‘अदालत जाँदा न्यायाधीशले पनि मिल्न सुझाव दिनुभयो। न्याय पाइन्न कि क्या हो भनेर मलाई डर लागिरहन्छ।’
जेठ ३० गते बकपत्र नहुने भएपछि असार ९ गते बिहीबारलाई बकपत्रको दिन तोकिएको थियो। उनीहरू सबै बकपत्रका लागि अदालत गएका थिए।
‘हिजो पनि अदालतमा मसँग न्यायाधीश जंगिनु भयो,’ रूपाले भनिन्। मिडियामा गएर कुरा लगाएको भन्दै आफूलाई हप्काएको उनले बताइन्।
‘बालिकाकी आमा बकपत्र गर्ने पालो आएर इजलासभित्र गएकोबेला म र नानी (बालिका)अदालत भवनको आँगनमा बसिरहेका थियौँ। न्यायाधीशज्यू आउनुभयो। मैले नमस्कार गर्ने बित्तिकै मसँग जंगिनुभयो,’ उनले भनिन्।
न्यायाधीशले आफूलाई भनेको सम्झँदै रूपाले भनिन्, ‘न्यायाधीशले यस्तो भन्यो, उस्तो भन्यो भन्दै सेतोपाटीमा गएर भन्ने? के तिमीहरूलाई मैले खुट्टामा ढोग्नुपर्ने हो?’
अदालतमा आउँदा सबलाई राम्रो व्यवहार र बोलीवचन गर्नुपर्छ भनेर न्यायाधीशसँग आफूले भनेको रूपाले बताइन्।
‘हामीलाई असुरक्षित महसुस गराउनु भएन नि भन्दै थिएँ तर उहाँले मेरो कुरा सुन्दै सुन्नुभएन,’ उनले भनिन्, ‘एकोहोरो आफ्नै कुरा चर्को स्वरमा भनिरहनुभयो।’
न्यायाधीशले आफूलाई प्रतिवादी पक्षकै अगाडि त्यसरी हप्काएको उनले बताइन्।