जनता समाजवादी पार्टी (जसपा) बरिष्ठ नेता अशोक राईले अहिले पार्टीभित्र देखिएको विवादको जिम्मेवारी तीन नेताले लिनुपर्ने बताएका छन्।
सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै राईले अहिलेको विवादको दोष पार्टी अध्यक्ष उपेन्द्र यादवलाई मात्रै दिन नहुने बताए।
'उपेन्द्रले एकलौटी गरेको भन्ने आरोपको सन्दर्भमा तीन सदस्यीय हेडक्वार्टर बनेको छ। त्यो हेडक्वार्टरले काम गरेन भन्ने हो भने त बाबुरामजी, उपेन्द्रजी र म उत्तिकै जिम्मेवार छौं। त्यस्तो हो भने हामी तीन जनाले नयाँ पुस्तालाई नेतृत्व दिऔं न त,' उनले भने,'केन्द्रीय कार्यकारिणी नबसेको अवस्थामा मुख्यालयले काम गर्ने भन्ने हो। मुख्यालयको बैठक बसेको छैन। उपेन्द्रजीले एकलौटी गर्नुभयो भनेर कोही उम्किनेवाला छैन।'
पार्टीमा विधानअनुसार अर्को अध्यक्ष बनाउन उपेन्द्र यादव तयार नदेखिएको उनको तर्क छ। त्यस्तै एक व्यक्ति, एक पदमा जान बाबुराम भट्टराई तयार नभएको उनले बताए।
'अर्को अध्यक्ष बनाउन उपेन्द्र यादवजी असहमत भएकै हो। हामी अहिले निर्माणाधीन पार्टीमा छौं। यस्तो बेलामा विधानका सबै व्यवस्था कार्यान्वयन भएन भने सम्झौतामा जानुपर्छ,' उनले भने, 'बहुमत र अल्पमत भनियो भने पार्टीमा विभाजन आउँछ। विधानको अक्षरश: पालना गर्नुपर्छ भन्ने हो भने एक व्यक्ति, एक पद गरौं भन्ने हो। त्यो कुरा बाबुरामजी लगायतले मान्नुभएको छैन।'
जसपाभित्र देखिएको विवाद र यसको समाधानको लागि भइरहेका प्रयासबारे हामीले राईसँग भिडिओ कुराकानी गरेका छौं।
यस कुराकानीका मुख्य अंश:
-मसँग बहुमत छ, बहुमतले भनेको लागु गर्नैपर्छ भनेर गइयो भने पार्टी विभाजनमा जान्छ। अलिअलि अहंकार र घमण्ड, अलिकति बहुमतको दम्भजस्ता कुरा मिसिए भने पार्टी विभाजन हुन्छ। एउटा मुद्दामा एक पटक विभाजन भए पनि सयौं मुद्दामा सँगै काम गर्नुपर्छ। एउटा विषयले ९९ विषयलाई बिर्सनु भनेको दुर्भाग्य हो।
-म विवादको केन्द्रमा बस्न नचाहने मान्छे हो। विवाद पार्टीमा चलिरहन्छ। कहिलेकाहीँ विचारको विवाद हुन्छ, कहिले नीतिगत त कहिले कार्यशैलीका कारण विवाद हुन्छ त कहिले व्यक्तिगत हुन्छ। नीतिगत र वैचारिक विवाद भयो भने त्यसले पार्टीलाई उकास्छ, फाइदा हुन्छ। कार्यशैलीमा भएको प्रश्नले पनि सुधार ल्याउन सक्छ तर जुँगाको लडाइँ भयो भने त्यसले पार्टीलाई चिरा पार्छ। त्यसकारण यस्तो विवादमा मेरो रूची हुँदैन।
-अहिलेको विवादको कारण अलिकति कार्यशैलीगत र अलिकति व्यक्तित्वको टकराव जस्तो देखिन्छ। कार्यशैलीले व्यक्तित्वको टकराव जन्मायो। यसलाई सुरक्षित अवतरण गर्न पाए हुन्थ्यो भन्ने मलाई लाग्या छ।
-म राष्ट्र र जनताको आन्दोलनको निम्ति पार्टीमा छु। त्यसको निम्ति हामी एकजुट र एकीकृत हुनुपर्छ भन्ने बुझेर एकताको लागि वातावरण बनाउन सकिन्छ भन्ने हो।
-प्रयत्न सफल हुने भनेको ५०/५० प्रतिशत हो। सफल र असफल जे पनि हुन सकिन्छ तर प्रयत्न गरिरहनु पर्छ। असफल भयो भनेर निराश हुनु हुँदैन र सफल भयो भने बुरूक्क उफ्रिनु पनि हुँदैन।
-हाम्रो पार्टीमा जति विवाद छ, त्योभन्दा धेरै मिडियामा आएको छ। बैठक बस्ने कुरालाई मैले भनेकै छु। विवादसँग जोडिएका साथीहरूले केही तयारीका साथ बस्न खोज्नुभएको होला।
-मैले कसैको अर्घेल्याइँ केलाएको छैन। निर्णय गर्ने सिलसिलामा विवाद आउँछ। नेताहरूको बीचमा बहस र टकराव हुन्छ। त्यसलाई विधिवत् ढंगले चलाइयो भने विवाद बढेर फुटतर्फ उन्मुख हुने अवस्था बन्दैन। हामी फुट चाहन्छौं कि जुट्न चाहन्छौं भन्ने हो। फुटन चाहेको अवस्थामा बाहिर-बाहिर पाखुरा सुर्किने काम मात्रै हुन्छ। त्यस्तो बेलामा सानो कुरा पनि ठूलो भएर जान्छ।
-विधान महाधिवेशनमा छलफल गरेर एकल अध्यक्ष वा अध्यक्ष मण्डल वा अर्को संयन्त्र बनाएर जान्छौं भनेको हो। छलफललाई उपेन्द्रजीले पनि बेवास्ता गर्नुभएको छैन। एउटै अध्यक्ष बनाउन पर्छ भन्नेको टिम पनि छ र दुई अध्यक्ष बनाउने भन्नेको पनि टिम छ। यसको विकल्पमा हामीले केन्द्रीय कार्यकारिणीको अधिकार प्रयोग हुनेगरी हेडक्वार्टर बनाएको हो।
-कसैले सम्हाल्न सक्यो/सकेन भन्ने अरूले मूल्यांकन गर्ने हो अनि आफैंले गर्ने हो। त्यो स्वयं उपेन्द्रजीको कुरा हो। कसैले लादेर हुने होइन। त्यो उहाँले बुझ्ने कुरा हो। छोड्ने हो कि चलाउने भन्ने उहाँले गर्ने निर्णय हो। कसैले नैतिक प्रश्न गर्ने अधिकार हुँदैन।
-मैले मुख्यालयको बैठक बोलाउनुस् भनेर दुबै जनालाई भनेको छु।
-सरकारमा रहेका मन्त्रीहरू फेर्नेबारे मलाई धेरै जानकारी छैन। संसदीय दलमा माग गरेको भन्ने सुनेको छु। त्यसपछि बाँकी कुरा मलाई जानकारी छैन।
-सत्ता गठबन्धन चुनावमा गठबन्धन गरेर अघि बढ्छ। जुन प्रयोजनका निम्ति भएको हो, त्यो पूरा भएको छैन। संघीय र प्रदेश निर्वाचन हामी गठबन्धन गरेरै अघि बढ्छौं। विभिन्न नेता र पार्टीलाई कतिपय ठाउँमा धोका भयो भन्ने लागेको छ। त्यसैका आधारमा सबै कुरा हेरिनु हुँदैन।
-हाम्रो पार्टी सग्लो राख्ने हाम्रो प्रयत्न जारी छ। सग्लो रहने/नरहने सम्भावना ५०/५० प्रतिशत छ।
-म एमालेमा जाने कुनै सम्भावना छैन। यसलाई निषेध नै गर्दिए हुन्छ।