भारतको सर्वोच्च अदालतले भारतीय जनता पार्टीकी निलम्बित प्रवक्ता नुपुर शर्माले देशमा आगो झोसेको बताएको छ।
इस्लाम धर्मालम्बीका पैगम्बरबारे विवादास्पद टिप्पणी दिएकी शर्माले आफूविरूद्ध विभिन्न राज्यमा परेका जाहेरी दिल्ली सरूवा गर्न आदेश माग्दै दिएको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले शर्माले जिब्रो नसम्हालेर बोल्दा देशमा आगो झोसिएको बताएको हो।
बिबिसी हिन्दीका अनुसार न्यायाधीशद्वय सूर्यकान्त र जेबी पर्दिवालाको संयुक्त इजलासले उनको निवेदनमाथि शुक्रबार सुनुवाइ गरेको थियो।
सर्वोच्चले केही दिनअघि राजस्थानको उदयपुर जिल्लामा एक जना हिन्दु पुरूषको घाँटी रेटेर हत्या भएको घटनाका लागि शर्मालाई जिम्मेदार ठहर्याएको छ।
सर्वोच्चले कुनै पार्टीको प्रवक्ता हुनु मानिसहरूको धार्मिक आस्थामा आघात पुग्ने कुरा बोल्ने लाइसेन्स हो र भन्दै शर्मालाई प्रश्न गरेको छ।
शर्माले राष्ट्रिय टेलिभिजनबाट सार्वजनिक माफी माग्नुपर्ने अदालतले भनेको छ। अदालतले उनले दिएको निवेदनअनुसार उनीविरूद्धका सबै जाहेरी दिल्ली सरूवा गर्ने आदेश दिन पनि इन्कार गरिदिएको छ।
आफूलाई विभिन्न राज्यबाट ज्यान मार्ने धम्कीहरू आइरहेकाले सबै जाहेरी दिल्लीमै भए सजिलो हुने शर्माको तर्क थियो।
पैगम्बरबारे शर्माले दिएको अभिव्यक्तिले भारतभित्र मात्र होइन संसारभरिका इस्लामिक मुलुकमा तरंग ल्याएको थियो। तीमध्ये केहीले औपचारिक रूपमै भारत सरकारसमक्ष विरोध जनाएका थिए।
व्यापक विरोध भएपछि सत्तारूढ भाजपाले उनलाई प्रवक्ताबाट निलम्बन गरेको थियो।