चीनले अफ्रिकी मुलुक जिम्बाबेको नयाँ संसद भवन बनाइदिएको छ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार राजधानी हरारेदेखि १८ किलोमिटर उत्तर पश्चिममा पर्ने माउन्ट हाम्पडेनमा चीनले बनाइदिएको संसद भवन तयार भएको छ।
उक्त भवन बनाउन १४ करोड अमेरिकी डलर खर्च भएको छ। सबै पैसा चीनले अनुदानका रूपमा जिम्बाबेलाई दिएको हो।
जिम्बाबेमा यसअघि उपनिवेशकालीन संसद भवन थियो। ३५० सदस्यीय संसदका लागि उक्त भवन निकै साँघुरो भएको थियो। चीनले बनाइदिएको संसद भवन ६५० सिटको छ।
सांघाई कन्स्ट्रक्सन ग्रुपले बनाएको उक्त भवन निर्माणको काम ४२ महिनामा सकिएको हो। कोरोना महामारीका कारण निर्धारित समयभन्दा १० महिना बढी समय लागेको बताइएको छ।
पछिल्लो समय चीनले अफ्रिकी मुलुकसँगको सम्बन्ध, सहकार्य र सहयोगलाई कसिलो बनाउँदै लगेको छ।
जिम्बाबेका अधिकारीहरूले चीनले बनाइदिएको संसद भवन दुई देशको सम्बन्धमा कोशेढुंगा सावित हुने अपेक्षा गरेका छन्।
संसद भवन बनेको ठाउँमा नयाँ शहर बसाउने जिम्बाबे सरकारको योजना छ।