श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राजीनामा दिने भएका छन्।
शनिबार उनले सर्वदलीय बैठक बोलाएका थिए। त्यस बैठकपछि उनले ट्विट गर्दै आफूले राजीनामा दिने बताएका हुन्। बढ्दो आर्थिक संकटका कारण त्यहाँका जनताले आक्रोशित भएर प्रदर्शन गर्दै आएका छन्।
उनीहरूले शनिबार कोलोम्बोस्थित राष्ट्रपति भवन घेरेर प्रवेश गरेका थिए। त्यसअघि नै राष्ट्रपति गोतबाया राजापाक्षे भागेका थिए। उनी अहिले कहाँ छन् भन्ने खुलेको छैन। तर उनी यसरी प्रदर्शन हुनसक्ने थाहा पाएर शुक्रबार नै भागेको हुनुपर्ने अनुमान गरिएको छ।
उनी भागेपछि प्रधानमन्त्री विक्रमासिंघेले सर्वदलीय बैठक बोलाएर नेताहरूसँग छलफल गरेका थिए।
छलफलमा सर्वदलीय सरकार बनाउने निर्णय भएको पनि उनले बताए।
उनले ट्विटमा भनेका छन्,‘सबै नागरिकको सुरक्षासहित सरकारको निरन्तरताको सुनिश्चित गर्न पार्टीका नेताहरूले दिएको सर्वदलीय सरकार बनाउन दिएको सुझावलाई म स्वीकार्छु। त्यसको लागि म प्रधानमन्त्री पदबाट राजीनामा दिन्छु।’
राष्ट्रपति भवनसँगै प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवास पनि घेरेका छन्। उनी गत वैशाख २९ गतेमात्रै प्रधानमन्त्री भएका थिए। राष्ट्रपतिका भाइ समेत रहेका महिन्दा राजापाक्षेले वैशाख २६ गते राजीनामा बुझाएपछि विक्रमासिंघेलाई प्रधानमन्त्री बनाइएको थियो।
नयाँ प्रधानमन्त्री विक्रमासिंघे लामो समयदेखि राजनीतिमा सक्रिय छन्। उनी छैठौं पटक प्रधानमन्त्री भएका थिए। तर उनले कहिल्यै पनि आफ्नो पूरा कार्यकाल सम्हाल्न पाएका छैनन्।
विक्रमासिंघेलाई राजापाक्षेहरूको निकट मानिन्छ।
यस्तै शनिबार भएको प्रदर्शनमा कम्तीमा पनि ३० जना प्रदर्शनकारी, २ जना प्रहरी घाइते भएका छन्।
प्रदर्शनकारीहरूले श्रीलंकाको झन्डा, हेल्मेट बोकेर त्यहाँ प्रवेश गरेको भिडिओहरू पनि बाहिरिएका छन्।
प्रहरीले हवाई फायर पनि गरेको थियो। तर आक्रोशित प्रदर्शनकारीहरूलाई रोक्न सकेको थिएन।
‘ब्यारिकेडहरू हटाएर हजारौं प्रदर्शनकारीहरू राष्ट्रपति भवनको प्रमुख गेटमा पुगिसकेका छन्। प्रहरी पनि त्यस क्षेत्रबाट पछि हटिरहेको देखिन्छ,’ एक प्रत्यक्षदर्शीले रोयटर्ससँग भनेका थिए, ‘हवाई फायर गरेको र निरन्तर रूपमा अश्रु ग्यास प्रहार गरिएका छन्।’
राष्ट्रपति भवन प्रवेश गरेर प्रदर्शनकारीहरू पुलमा स्वीमिङ गरिरहेको तस्बिर पनि बाहिर आएका छन्। भवन भित्र गरेका विभिन्न क्रियाकलापहरूको भिडिओ खिचेर उनीहरूले सामाजिक सञ्जालमा हालिरहेका छन्।
प्रदर्शनकारीहरूले गत मार्चयता राजापाक्षेको राजीनामा माग गर्दै आएका छन्। श्रीलंकामा आर्थिक संकट आएदेखि उनको राजीनामा माग्न थालिएको हो।
यो पनि: किन आर्थिक संकटमा फस्यो श्रीलंका?