शुक्रबार हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको आज अन्त्येष्टि गरिँदैछ।
समाचार संस्था रोयटर्सका अनुसार टोकियोको जोजोजी मन्दिरमा राखिएको आबेको पार्थिव शरिरमा अहिले जापानीहरूले अन्तिम सम्मान व्यक्त गरिरहेका छन्।
फूल बोकेका मानिसहरू मन्दिरमा लामो लाइन लागेका छन्।
आबेको अन्त्येष्टि परिवारका केही सदस्यहरूको उपस्थितिमा गरिनेछ। त्यसअघि उनको पार्थिव शरिरलाई टोकियोका विभिन्न स्थानमा परिक्रमा गराइनेछ।
शुक्रबार बिहान स्थानीय समयअनुसार साढे ११ बजेतिर दक्षिणपश्चिम जापानको नारा शहरमा आबेमाथि गोली हानिएको थियो। माथिल्लो सदनको चुनावमा आबेको लिबरल डेमोक्र्याटिक पार्टीका उम्मेदवारको पक्षमा भाषण गरिरहेका आबेमाथि गोली हानिएको थियो।
उनको छाती र घाँटीमा गोली लागेको थियो। आबेमाथि पछाडिबाट गोली हानिएको थियो। गोली लागेका आबे त्यही ढलेर बेहोस भएका थिए। उनले लगाएको सर्टमा रगत देखिएको थियो।
हेलिकप्टरबाट अस्पताल ल्याइपुर्याउँदा उनका मुख्य अंगहरूले काम गर्न छोडिसकेका थिए। केही घन्टाको प्रयासपछि डाक्टरहरूले साँझ उनलाई मृत घोषणा गरेका थिए।
आबेमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ। ४१ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले हिरासतमा राखेको छ। यामागामी नारा सहरकै बासिन्दा भएको खुलेको छ।