श्रीलंकामा राजापाक्षे परिवारका एक जनालाई विदेश जानबाट रोक लगाइएको छ।
समाचार संस्था रोयटर्सका अनुसार राष्ट्रपति गोटवाया राजापाक्षेका भाइ एवं पूर्वअर्थमन्त्री बासिल राजापाक्षेलाई मंगलबार विदेश जान रोकिएको हो।
अमेरिकी नागरिकतासमेत भएका बासिल विमानस्थलको भिआइपी कक्षमा पुगेपछि त्यहाँका कर्मचारीले उनलाई अगाडि जाने प्रक्रिया गरेका थिएनन्। श्रीलंकामा अहिलेको अवस्था आउनुमा राजापाक्षे परिवारको मुख्य भूमिका रहेको भन्दै नागरिकमा उनीहरूप्रति तीव्र असन्तुष्टि र आक्रोश छ।
चरम आर्थिक संकटमा फसेको र प्रदर्शनकारीले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास कब्जा गरेका बेला सरकारमा रहेका राजापाक्षे परिवारका सदस्यलाई बाहिर जान दिन नहुने भन्दै कर्मचारीले काम गर्न छोडेका हुन्।
बासिल कहाँ जाँदै थिए भन्ने प्रष्ट छैन। प्रदर्शन बढ्दै गएपछि बासिलले गत अप्रिलमा अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।
बासिलका दाइ गोटवायाले बुधबार राष्ट्रपतिबाट राजीनामा दिने बताइएको छ। उनी अहिले कहाँ छन् भन्ने खुलेको छैन।