पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी दलबलसहित बिहीबार दाङको तुलसीपुरस्थित विद्युत प्राधिकरणको कार्यालय पुगेका छन्।
कार्यालयको सेवा प्रवाहमा व्यापक जनगुनासो रहेको भन्दै उनी कार्यालयका प्रमुखलाई भेट्न गएका हुन्।
उनीसँगै दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसीलगायत कांग्रेस नेताहरू कार्यालय पुगेका थिए। केही सेवाग्राही पनि सँगै थिए।
उनीहरू पुग्दा वितरण केन्द्रका प्रमुख ज्ञानप्रसाद फर्साल कार्यकक्षमै थिए।
गिरीसहितको टोलीले बिजुलीका मिटर बक्स जोड्न कर्मचारीले घुस मागेको, पोल पुगे पनि बत्ती विस्तार नभएको,मिटर रिडिङ गर्न कर्मचारी नआएको र कम भोल्टेजको बिजुली प्रवाह भएकोलगायत समस्या सुनाएका थिए।
कार्यालय प्रमुख फर्सालले कर्मचारीका केही कमजोरी भए सुधार्ने र आफूहरूलाई अहिले बजेटको पनि समस्या भएको जवाफ दिएका थिए।
गिरी यसरी दलबलसहित सरकारी कार्यालयमा जानुलाई नेकपा एमालेका एक नेताले भने आगामी निर्वाचनलाई मध्यनजर गर्दै लोकप्रियता कमाउन गरिएको नाटक मात्रै भएको प्रतिक्रिया दिए।