स्वतन्त्र उम्मेदवारी दिएर स्थानीय चुनाव जितेकालाई फिर्ता ल्याउन नेपाली कांग्रेसमा माग भएको छ।
गठबन्धन गर्दा विभिन्न ठाउँमा कांग्रेसकै कार्यकर्ताले विरोध गर्दै स्वतन्त्र उम्मेदवारी दिई जितेका थिए।
पूर्वउपसभापति विमलेन्द्र निधिले आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै पार्टीबाट टिकट नपाई स्वतन्त्र उठेर जितेका जनप्रतिनिधिलाई फिर्ता ल्याउन माग गरेका हुन्।
निधिको गृह जिल्ला धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा कांग्रेसबाट टिकट नपाएपछि मनोज साहले स्वतन्त्र उम्मेदवारी दिई जितेका थिए।
यहाँ कांग्रेससहित पाँचदलीय गठबन्धनको समर्थनमा जसपाका लालकिशोर साह मेयर उम्मेदवार थिए, उनी पराजित भएका थिए।
मेयर जितेका मनोज निधिनिकट नेता हुन्।
यस्तै महोत्तरीको बर्दिवास नगरपालिकाको मेयर पनि स्वतन्त्र उम्मेदवारी दिएका प्रल्हादकुमार क्षेत्री निर्वाचित भएका थिए। उनी कांग्रेसबाट उम्मेदवार हुन नपाएपछि स्वतन्त्र उम्मेदवार भएका थिए।
निधिले मनोज र प्रल्हादको नाम नै लिएर उनीहरूलाई पार्टीमा फिर्ता ल्याउनुपर्ने माग गरेका हुन्। निधिले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वतन्त्र उम्मेदवारी दिई जिनेका पार्टीका ती नेताहरूलाई फिर्ता ल्याउने वातावरण तयार पार्न ध्यानाकर्षण गराएका थिए।
स्थानीय चुनावका बेला भने सभापति देउवाले पटकपटक निर्देशन जारी गर्दै गठबन्धनका विरूद्ध स्वतन्त्र उम्मेदवारी नदिन र दिए उम्मेदवार, प्रस्तावक र समर्थक पार्टी साधारण सदस्यसमेत नहुने भन्दै वक्तव्य जारी गरेका थिए। गठबन्धन गर्ने निर्णय नमान्नेलाई ५ वर्ष पार्टी सदस्य नहुने निर्देशन थियो।
यस्तै जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा पनि स्वतन्त्र उम्मेदवारी दिएका राजुसिंह कठायत निर्वाचित भएका थिए। उनले कांग्रेसकै पदमबहादुर शाहीलाई हराएका थिए। राजुसिंह पनि कांग्रेस नै थिए। पार्टीले उनलाई टिकट नदिएपछि उनले कांग्रेसकै उम्मेदवार हराएका थिए।
कांग्रेस केन्द्रीय समिति बैठकमा गठबन्धन नमान्ने, स्वतन्त्र उम्मेदवारी दिनेहरूलाई कारबाही गर्न माग भइरहेको बेला स्वतन्त्र रूपमा उम्मेदवारी दिई जितेकालाई पार्टीमा फिर्ता ल्याउन माग उठेको हो।
अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले टिकट वितरणमा विवेकपूर्ण निर्णय गर्न नसक्दा केही ठाउँमा कांग्रेसकै कार्यकर्ता स्वतन्त्र उम्मेदवार भई चुनाव जितेकोले उनीहरूलाई छिटो पार्टीमै फिर्ता ल्याउनुपर्ने बताए।
‘कतिपय ठाउँमा पार्टी सभापतिहरूले विवेकपूर्ण निर्णय गर्न नसक्दा त्यसको विरोधमा पार्टीका कार्यकर्ता र जनताले हाम्रै पार्टीका साथीहरूलाई स्वतन्त्र उठाएर पनि जिताएका छन्,’ उनले भने, ‘टिकट वितरणमा भएका यस्ता प्रवृत्तिबारे छानबिन हुनुपर्छ। हामीले टिकट नदिएर पनि स्वतन्त्र हैसियतमा जनअनुमोदित साथीहरूलाई स-सम्मान पार्टीमा फिर्ता हुने वातावरण बनाउने निर्णय गर्न नेतृत्वको ध्यानाकर्षण गराउँदछु।’
यस्तै केन्द्रीय सदस्य बलबहादुर केसीले पनि पार्टीका नेताहरूलाई थप कारबाहीजस्ता कुरा गर्न नहुने बताएका छन्।
उनले चुनावमा असहयोग गर्नेलाई कारबाही गर्ने हो भने सबैभन्दा पहिले सभापति र नेता रामचन्द्र पौडेललाई कारबाही गर्नुपर्ने बताए।
सभापति र नेता पौडेलले नै आफूहरूलाई अन्त भोट हाल्न सिकाएको पनि उनले बताएका थिए।
‘जहाँसम्म चुनावमा असहयोग गरेको कुरा छ। तिनीहरूलाई कारबाही गर्ने कुरा पनि उठेको छ। गठबन्धन भएका ठाउँमा स्वतन्त्र उठेका र असहयोग गरेकालाई कारबाही गर्ने हो भने सबैभन्दा पहिला शेरबहादुरजी र रामचन्द्रजीलाई गर्नुपर्छ। किनभने उहाँहरूले नै हो हामीलाई अन्त भोट हाल्न सिकाएको,’ केसीले केन्द्रीय समितिमा भने।