दैलेखको गुराँस गाउँपालिकाले करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेपछि कर्मचारीहरु आन्दोलित बनेका छन्। शुक्रबार बेलुका भएको आन्दोलनका क्रममा प्रहरीले गोली (रबर बुलेट) चलाउँदा दुई जनालाई लागेको छ।
आन्दोलनमा सहभागीहरु उग्र बनेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए।
‘त्यहाँ वार्ताको लागि जानुभएको सिडिओसहित अध्यक्ष र अरू कर्मचारी नै असुरक्षित बनेपछि नेपाल प्रहरीले गोली चलाउनुपर्ने अवस्था आएको हो,’ डिएसपी साहले सेतोपाटीसँग भने, ‘रबर बुलेट चलाईएको हो, दुई जनालाई लागेको छ, आठ जना प्रहरी पनि घाईते भएका छन्।’
घाईते हुनेमा भवानीप्रसाद भट्टराई र बखत खत्री छन्। उनीहरु दुवै जनालाई गोली लागेको छ। दुवै जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको छ।
उनका अनुसार आन्दोलनमा सहभागी करार कर्मचारीले ढुंगामुढा गर्दा प्रहरीलाई लागेको थियो। घाईते प्रहरीको अवस्था सामान्य रहेको उनले बताए।
गाउँपालिकाले साउन १ गतेदेखि करार कर्मचारीहरुको म्याद नथप्ने निर्णय गरेपछि कर्मचारीहरु आन्दोलिन बनेका हुन्। दैलेखबाट सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोईरालाको टोली वार्ताको लागि गुराँस गाउँपालिका पुगेको थियो।
‘वार्ता भईसकेको थियो, शनिबार बेलुका विशेष वैठक बोलाएर गाउँसभामा उहाँहरुका माग लिने भन्ने भएको थियो, उहाँहरुले त्यो नमानेर अघि बढ्न थालेपछि झडप भएको हो।’ सहाय प्रमुख जिल्ला अधिकारी कोईरालाले भने।