एक सातासम्म चलेको सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आन्तरिक विषय समाधान गर्ने प्रतिवद्धता र सरकारलाई सुझाव दिँदै सोमबार सकिएको छ।
गत सोमबार सुरू केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले विधान पालना नगरेको र एकलौटी ढंगले अघि बढेकोलगायत १२ बुँदामा आफ्ना कुरा राखेका थिए।
यो पनि: कांग्रेस केन्द्रीय समितिमा शेखर कोइरालाले राखेका यस्ता छन् १२ बुँदा
स्थानीय चुनाव समीक्षा र विविध प्रस्तावअन्तर्गत आगामी रणनीतिबारे कांग्रेसले यसपालि खुलेर छलफल गरेको थियो। केन्द्रीय सदस्यलाई पाँच मिनेट बोल्न समय दिइएको थियो।
अधिकांशले स्थानीय चुनावमा कांग्रेस ठूलो दल बनेकोमा देउवाको प्रशंसा गरे भने अब पनि गठबन्धनलाई नै निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। कांग्रेसले ३२९ पालिका प्रमुख जितेको थियो। गठबन्धनकै बलमा धेरै पालिका जितेकोमा कांग्रेस सन्तुष्ट पनि देखिन्छ।
केन्द्रीय समिति बैठक मुख्यगरी दुई खेमामा विभाजितजस्तो देखिन्थ्यो। १४९ सदस्यीय केन्द्रीय समितिमा सभापति देउवा पक्ष हाबी छ। कोइराला पक्षमा कम केन्द्रीय सदस्य छन्। अधिकांश केन्द्रीय सदस्यहरूले शेखर पक्षले गुट भेला गरेकोलगायत विषयमा कटाक्ष गरेका थिए। यतिमात्र होइन, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा ‘सस्तो लोकप्रियतामा रमाएको र संगठनका काम नगरेको’ भन्दै आलोचना भएको थियो।
यो पनि: कांग्रेसमा तीन कारणले गगन-विश्वप्रकाशको आलोचना
केन्द्रीय सदस्यहरू र सभापति देउवाकै आलोचनामा परे पनि नेता कोइराला र महामन्त्रीद्वय गगन र विश्वप्रकाशले उठान गरेका विषय केन्द्रीय समितिले समेटेको छ। केन्द्रीय समितिका निर्णयमा कारण खुलाएर सत्ता गठबन्धनसँग अब हुने संघीय र प्रदेश सभा सदस्य चुनावमा तालमेल गर्ने विषय लेखिएका छन्। स्थानीय चुनावअघि गठबन्धन गर्दा यस्ता कारण उल्लेख गरिएको थिएन।
त्यसबेला स्थानीय आवश्यकता र औचित्यताका आधारमा गठबन्धन गर्ने निर्णय गरे पनि केन्द्रले हस्तक्षेप गरेको थियो।
चुनावी तालमेल, तालमेल गर्दा न्युनतम तीन विषयमा साझा धारणा बनाएर जाने र सरकारबारे कांग्रेस निर्णयमा स्पष्ट भाषामा लेखिएको छ।
सभापति देउवाले साउनभित्रै सबै विभाग गठन गर्ने प्रतिवद्धता पनि जनाएका छन्। देउवाले सोमबार केन्द्रीय लेखा, अनुशासन र संदस्यता वितरण तथा व्यवस्थापन समिति गठन गरिसकेका छन्। तर यी समितिले संयोजक पाए पनि सदस्यता पाएको छैन।
कांग्रेसले चुनावी तालमेलको आवश्यकताबारे कारण खुलाएको छ। नेता शेखर, महामन्त्री गगन-विश्वप्रकाशले चुनावी तालमेल गर्दा कारण खुलाएर जानुपर्ने अडान राखिरहेका थिए।
चुनावी तालमेल किन गर्ने जनता र कार्यकर्तालाई उत्तर दिनुपर्छ भनेर शेखर, महामन्त्रीद्वयले पटकपटक केन्द्रीय समितिमा कुरा राखेका थिए। ‘केपी ओलीले यसो गरे, उसो गरे अनि हामीले गठबन्धन गरियो भनेर मात्र हुन्न, किन गठबन्धन गर्नुपर्यो भन्नेबारे कांग्रेसले जवाफ दिनुपर्छ,’ उनीहरूले केन्द्रीय समितिमा भनेका थिए।
महामन्त्रीहरूले उठान गरेजस्तै कांग्रेस केन्द्रीय समितिले निर्णय गर्दा स्पष्ट बहुमत भएको सरकार ल्याउनलाई चुनावी गठबन्धन गर्नुपर्ने भाषा समावेश गरिएको छ। ‘यो भाषा किन राखियो भन्दा संविधानको रक्षा र समुन्नतिको रक्षा गर्नका लागि हो,’ स्रोतले भन्यो।
अर्को कुरा चुनावी तालमेल गर्ने दलहरूका बीचमा विभिन्न विषयमा न्युनतम सझदारी गरेर जाने भन्ने विषय केन्द्रीय समितिले निर्णय गरेको छ। ‘संवैधानिक, आर्थिक तथा सामाजिक रूपान्तरण र विदेश सम्बन्धबारे चुनावी गठबन्धन गर्ने दलहरूबीच न्युनतम समझदारी हुनुपर्दछ,’ स्रोत भन्छ, ‘यति गहिरो गरी निर्णय लेख्न सभापतिजी मान्नुभएको थिएन, महामन्त्रीहरूले अडान छोड्नु भएन, अनि राखियो।’
चुनावी गठबन्धनमा रहेको दलले चुनावपछि धोका नदियोस् भनेर विदेशी सम्बन्धका बारेमा पनि न्युनतम साझा समझदारी गरेर जानुपर्ने विषय कांग्रेसको छ।
‘भोलि विदेश सम्बन्धका कारण देखाएर कुनै दल बाहिरिन सक्छ, त्यसैले अहिले नै चुनावी गठबन्धन गर्ने दलहरूका बीचमा समझदारी गरेर जानुपर्दछ भनेर यो निर्णयमै स्पष्ट लेखिएको छ,’ स्रोतले भन्यो, ‘चुनावबाट बहुमत ल्याएर हामीले जनतालाई के दिने भन्ने कुरा स्पष्ट खाका पनि हुनुपर्दछ।’
एक नेताका अनुसार यति स्पष्ट भाषा केन्द्रीय समिति निर्णयमा लेख्न सभापति देउवा तयार नै थिएनन्। ‘चुनावी गठबन्धन गर्दा कांग्रेसको सांगठानिक अवस्था र स्थानीय पार्टीको भावनालाई समेट्नुपर्दछ। किनभने पहिले अरू पार्टीले जितेका ठाउँमा अहिले कांग्रेस बलियो छ, जित्न सक्ने देखिएको छ,’ एक पदाधिकारी भन्छन्, ‘कसको कति जनाधार छ भन्ने हेरेर सिट बाँडफाँड गर्नुपर्छ भन्ने भाषा राख्न लागिएको थियो तर सभापतिज्यू मान्नुभएन। अनि नरम भाषा लेखियो।’
उक्त स्रोतको दाबीअनुसार सभापति देउवाले भने सत्ता गठबन्धनका दलहरूसँग चुनावी तालमेल गर्ने भाषा मात्र लेख्न भनेका थिए। ‘सभापतिको भाषामा महामन्त्रीहरू मान्नुभएन। किन हामीले चुनावी गठबन्धन गर्ने प्रष्ट लेखेर जानुपर्ने अडान राखेपछि सांगठानिक अवस्था र स्थानीय पार्टी संरचनाको भावनाअनुसार भन्ने शब्द राखिएको हो,’ उक्त स्रोतले भन्यो।
कांग्रेसले गरेको अर्को निर्णय भने सरकारसम्बन्धी छ। बैठकमा नेता शेखर, महामन्त्रीद्वय लगायतले सरकारको आलोचना गरेका थिए। यसअघिको ओली सरकारका पालामा गरेका असंवैधानिक कामलाई देउवा सरकारले सच्याउनुपर्ने उनीहरूको माग थियो।
‘ओलीका पालामा भएका निर्णय स्मरण गर्दै संविधानअनुसार मात्रै सरकारका कामकारबाहीहरू हुनुपर्दछ भन्न खोजिएको छ,’ स्रोतले भन्यो, ‘गल्ती गर्ने एक जनाले पनि उन्मुक्ति पाउन हुन्न भन्ने भाषा पार्टी निर्णयमै लेखिएको छ।’