आर्थिक संकटबाट गुज्रिरहेको टापु मुलुक श्रीलंकामा नयाँ प्रधानमन्त्रीले सपथ लिएका छन्। राष्ट्रपति रनिल विक्रमासिंघेले ७३ वर्षिय दिनेश गुणवर्देनालाई प्रधानमन्त्री नियुक्त गरेका छन्।
उनले आजै पद तथा गोपनियताको सपथ लिएका छन्।
गुणवर्देनाले यसअघि विदेश मन्त्री र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनी अहिले सांसद छन्। केही समयअघि राष्ट्रपति गोटवाया राजापाक्षेले उनलाई गृहमन्त्री नियुक्त गरेका थिए।
गुणवर्देना श्रीलंकाको वामपन्थी पार्टी महाजन एकसाथ पेरामुनाका अध्यक्ष हुन्। उनको पार्टीका संसदमा २ जना सांसद छन्।
उनी लामो समयदेखि श्रीलंकाका सांसद छन्।
दुई दिनअघि राष्ट्रपति बनेका विक्रमासिंघे पनि संसदमा आफ्नो पार्टीका एक्ला सांसद थिए।
विक्रमासिंघे यस्ता व्यक्ति हुन् जो ६ पटकसम्म श्रीलंकाका प्रधानमन्त्री बनेका छन्। अहिलेसम्म अरू कोही यति धेरै पटक प्रधानमन्त्री बनेको छैन।
उनी सन् १९४९ मा कोलोम्बो प्रभावशाली राजनीतिक परिवारमा जन्मिएका हुन्। युनिभर्सिटी अफ कोलोम्बोमा पढ्दा विक्रमासिंघे विद्यार्थी राजनीतिमा सक्रिय थिए। पछि उनी २८ वर्षको उमेरमै सांसद चुनिए।
सन् १९७७ मा युवा तथा रोजगार मन्त्री बनेका विक्रमसिंघे त्यसयता निरन्तर सत्ताकै वरिपरि छन्। उनी १९९३ मा पहिलो पटक प्रधानमन्त्री भए। १९९४ मा पदमुक्त भए।
२००१ मा दोस्रो पटक प्रधानमन्त्री भएका उनी २००४ सम्म सत्तामा रहे।
२०१५ मा तेस्रो पटक प्रधानमन्त्री बनेका उनले सन् २०१८ सम्म थप दुई पटक प्रधानमन्त्रीको सपथ लिए।
आर्थिक संकटबाट गुज्रिएपछि गत मेमा तत्कालीन राष्ट्रपति गोटवाया राजापाक्षेले विक्रमासिंघेलाई छैठौं पटक प्रधानमन्त्री नियुक्त गरेका थिए। राजापाक्षेले अर्थमन्त्रीको जिम्मा पनि उनैलाई दिएका थिए।
यसअघि आमनिर्वाचनबाट राष्ट्रपति चुनिन खोज्दा विक्रमासिंघे दुई पटक पराजित भएका थिए।
सन् १९९९ पहिलो पटक राष्ट्रपति हुन खोज्दा उनी चन्द्रिका कुमाराटुंगासँग पराजित भएका थिए भने सन् २००५ को चुनावमा उनलाई महिन्दा राजापाक्षेले हराएका थिए।
गएको आमचुनावमा उनको युनाइटेड नेशनल पार्टीले नराम्रोसँग हार व्यहोर्यो। विक्रमासिंघे आफैं पनि पराजित भए। पछि उनी समानुपातिक तर्फबाट सांसद बने।
दुई वर्षअघिको चुनावमा भएको त्यो शर्मनाक हारलाई बिर्साउने गरी विक्रमासिंघे अहिले राष्ट्रपति चुनिएका छन्। उनी अब सन् २०२४ को नोभेम्बरसम्म राष्ट्रपति हुन पाउनेछन्।
राजापाक्षे परिवार सत्ताबाट बाहिरिएर नयाँ व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री बने पनि श्रीलंकामा प्रदर्शन रोकिएको छैन।
यसैबीच शुक्रबार बिहानै सैनिक र प्रहरीहरूले प्रदर्शनकारीहरूमाथि हस्तक्षेप गरेका छन्। प्रदर्शनकारीहरूले तीन महिनादेखि कब्जामा लिएर प्रदर्शन गरिरहेको ठाउँमा सुरक्षाकर्मीले धरपकड गरी उनीहरूलाई धपाएका हुन्। घटनामा केही प्रदर्शनकारी घाइते भएको र केहीलाई प्रहरीले पक्रेको समाचार संस्था रोयटर्सले जनाएको छ।
राष्ट्रपति निर्वाचित भएपछि विक्रमासिंघेले अहिलेका प्रदर्शनकारीहरू फासिस्ट भएको भन्दै कानुनअनुसार उनीहरूलाई कारबाही गर्ने बताएका थिए।
राजापाक्षेहरू सत्ताच्युत भए पनि अहिले राष्ट्रपति विक्रमासिंघे राजापाक्षे परिवारकै मान्छे भएको प्रदर्शनकारी आरोप छ। राजापाक्षेहरूले गलत नीति लिएर मुलुकलाई आर्थिक संकटमा फसाएको भए पनि नयाँ प्रशासनले उनीहरूलाई कारबाही गर्नुको साटो उन्मुक्ति दिने भन्दै उनीहरूले आन्दोलन जारी राखेका छन्।