नेपाली कांग्रेसका नेता शेखर कोइराला हिजोआज मधेशमा छन्। उनी प्राय: काठमाडौंमा हुँदैनन्। जिल्ला-जिल्ला पुगेर कार्यकर्ता भेटघाट गरिरहेका हुन्छन्।
अहिले कोइरालासँगै उपसभापति धनराज गुरूङ, केन्द्रीय सदस्य सञ्जय गौतम र नेता रञ्जित कर्ण पनि मधेश दौडाहामा छन्।
सरकारले मंसिरमा चुनाव गर्ने तयारी गरेको छ। मिति भने घोषणा गरेको छैन। संघीय र प्रदेश सभा चुनावमा कांग्रेसको भोट बढाउन साना-ठूला भेला र अन्तक्रियामा कोइराला सहभागी छन्।
कांग्रेसले साउन २ मा केन्द्रीय समिति बैठकको निर्णयमा सत्ता गठबन्धनका दलहरूसँग नै चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ।
केन्द्रीय समितिका निर्णय ‘ब्रिफिङ’ गर्दै कोइरालाले पार्टी र सरकारबारे कार्यकर्तालाई आफ्ना कुरा राखेका छन्।
वीरगञ्ज महानगर समितिले सोमबार गरेको कार्यक्रममा पनि कोइरालाले खुलेर कुराकानी गरेका थिए। उनले पार्टीभित्र हुने यस्ता अन्तरक्रिया र छलफलले पार्टीलाई राम्रो गर्ने पनि बताएका छन्।
मधेशका जिल्लाहरू घुम्दा र कार्यकर्ताका कुरा सुन्दा गठबन्धन गर्न हुन्न भन्ने पाएको कोइराला बताउँछन्।
‘केही दिन पहिले म सर्लाही र धनुषा गएँ। अहिले वीरगञ्जमा छु। यी ठाउँहरूमा जाँदा हामीले गठबन्धन गर्न हुँदैन भन्ने बुझें। हामीले त केन्द्रीय समितिबाट गठबन्धन गर्ने निर्णय गरिसक्यौं,’ कोइरालाले भने, ‘स्थानीय तहमा पनि म त गठबन्धन गर्न हुँदैन भन्दै थिएँ। तर गठबन्धन गरियो।’
कांग्रेसले स्थानीय तह चुनावअघि र अहिले पनि चुनावमा गठबन्धन गर्ने कि एक्लै जाने भन्नेबारे केन्द्रीय सदस्यहरूबाट धारणा लिएकोमा अधिकांशले गठबन्धन गरेरै जानुपर्ने बताएका थिए।
स्थानीय तहको चुनावमा टिकट वितरण राम्रो हुन नसक्दा केही ठाउँमा कांग्रेसकै मानिस स्वतन्त्र उठेर जितेको र काठमाडौंलगायतमा गठबन्धन गर्दा पनि हारिएको कोइराला बताउँछन्।
‘विराटनगरको वडामा मैले टिकट दिन चाहेको अर्कै, टिकट खोसेर लग्यो अर्कैले,’ उनले भने, ‘म त्यहाँ मारवाडीहरूलाई टिकट दिन चाहन्थेँ। मारवाडी मसँग रिसाए पनि! टिकट वितरण गर्दा हामीले सोचेर दिनुपर्ने रहेछ।’
उनले कांग्रेस ‘क्याडरबेस’ पार्टी नभएको बताए। ‘अधिवेशनका लागि हामी क्रियाशील सदस्य बनाउँछौं। उनीहरू त पार्टी काममा क्रियाशील नै हुँदैनन्,’ उनले भने, ‘क्रियाशीलबाट पार्टीले धेरै अपेक्षा गरेको छ तर उनीहरूबाट भन्दा पनि मतदाताबाट अपेक्षा गरिनुपर्दछ। मतदातालाई बरू रूख चिन्हप्रति आकर्षित गर्नुपर्दछ। यतातर्फ साथीहरूले ध्यान दिएर काम गरौं।’
कांग्रेसको १४ औं महाधिवेशनमा ८ लाख ४२ हजार क्रियाशील सदस्य थिए।
के कारणले कांग्रेसलाई चुनावी गठबन्धन आवश्यकता पर्यो भन्दा मुलुकमा कम्युनिष्टहरू धेरै छन् भन्ने जवाफ आउने कोइराला बताउँछन्। यस्तो जवाफ पार्टीभित्रैबाट सुनिने गरिएको उनले बताए।
‘स्थानीय चुनावमा के कारणले गठबन्धनमा जानुपर्यो भन्दा कम्युनिष्ट बढेका छन्न्, ६२/६५ प्रतिशत कम्युनिष्ट छन् भन्छन्,’ उनले भने, ‘कांग्रेस कमजोर त होइन। सांगठानिक रूपमा केही कमजोर हो कि भन्ने आभास हुन्छ।’
स्थानीय चुनावमा गठबन्धन गरिएको र अब हुने संघीय/प्रदेश सभा चुनावमा पनि गठबन्धनलाई निरन्तरता दिइने उनले बताए। किन गठबन्धनमा जाने निर्णय भएको हो भन्ने राम्रोसँग बुझ्नुपर्ने पनि कोइरालाले बताए।
‘मधेशमा स्थानीय चुनावमा पनि केही ठाउँमा मात्रै गठबन्धन भएको हो। अब संघीय/प्रदेश सभा चुनावमा पनि गठबन्धन नगरी एक्लै लड्न साथीहरूको माग छ,’ उनले भने, ‘स्थानीय चुनावका परिणाम हेर्दा जितिन्छ भन्ने पनि छ। तर हामीले त चुनावी गठबन्धन गर्ने निर्णय केन्द्रीय समिति बैठकबाट गरिसकियो।’
गठबन्धन गर्ने भनेर सर्वसम्मत रूपमा निर्णय भएकोले अब कांग्रेसलाई कम क्षति हुने गरी चुनावी गठबन्धन गरिनुपर्ने कोइराला बताउँछन्।
‘कांग्रेसलाई कम क्षति हुने गरी कसरी जाने यो महत्वपूर्ण कुरा हो। केन्द्रीय समितिकै निर्णयमा प्रष्टसँग कांग्रेसलाई कम क्षति हुने कुरा लेखिएको छ। जसलाई लिएर केही दिनदेखि सत्तामै रहेका कम्युनिष्टहरूले विरोध गरिरहनु भएको छ,’ उनले भने, ‘कांग्रेसले धम्क्याउने? हामी देखाइदिन्छौं, यता जान्छौं-उता जान्छौं भनेका छन्।’
चुनावी गठबन्धन गर्ने भने पनि केही विषयमा न्यूनतम समझदारी बन्नुपर्ने कोइराला बताउँछन्।
‘यदि गठबन्धन गर्ने हो भने दलहरूका बीचमा आर्थिक र सामाजिक रूपान्तरण नीति कम्तीमा एकै हुनुपर्यो,’ उनले भने, ‘कम्युनिष्टहरूसँग गठबन्धन गर्नुछ, कांग्रेस-कम्युनिष्टबीच विचार तथा सिद्धान्त नै मिल्दैन। त्यसैले न्यूनतम समझदारी त हुनुपर्छ भन्ने कुरा केन्द्रीय समिति निर्णयमा राखिएको छ।’
उनले फरक दलहरू मिलेर सरकार बनेको र चुनावी गठबन्धनसमेत गरे पनि विचार तथा सिद्धान्त बेग्लाबेग्लै हुँदा सरकारले लिने नीति र काममा विवाद देखा परिरहेको बताए।
‘एमसिसीमा कत्रो लडाइँ भयो। सत्तामा बसेका छन्, सरकारमा छन् तैपनि सडकमा एमसिसीको विरोध गरे,’ सत्ता गठबन्धनका दलप्रति लक्षित गर्दै कोइरालाले भने, ‘सरकारमा बसेर विरोध गर्ने त होइन। महंगीको विरोध गर्न मिल्छ, मलखाद किसानले पाएनन् विरोध गर्न मिल्छ तर एमसिसी विरोध गर्ने सरकारमै बसेर!’
यस्तै खाले नीतिगत विवाद भोलिका दिनमा नदेखिऊन् भनेर कांग्रेसले अहिले नै निर्णय गर्नुपरेको उनले बताए।
‘त्यसैले केन्द्रीय समिति निर्णयमा लेख्यौं- सामाजिक र आर्थिक रूपान्तरणका लागि दलहरूबीच न्यूनतम समझदारी हुनुपर्दछ। नीति नै मिलेन भने सरकारले कसरी काम गर्ने? हामी निजीकरण भन्छौं, निजीकरणलाई कम्युनिष्टहरूले आत्मसात् नै गर्दैनन्,’ कोइरालाले भने।
उनले परराष्ट्र नीतिबारे पनि गठबन्धन गरेर जाने दलहरूबीच न्यूनतम समझदारी पहिले नै हुनुपर्ने बताएका छन्।
उनले कांग्रेस नेतृत्वमै पाँच वर्ष सरकार बन्नुपर्ने बताए।
‘कांग्रेस नेतृत्वमा पाँच वर्ष स्थिर सरकार भन्ने लेखिएको छ। नेतृत्व गर्ने भन्नेबित्तिकै कांग्रेसको बहुमत सरकार भनेको हो,’ उनले केन्द्रीय समितिका निर्णय ब्रिफिङ गर्दै भने, ‘गठबन्धन गर्ने निर्णयमा हामी चुकेको छैन। हामीले गठबन्धन गर्नै हुँदैनथ्यो तर बाध्यता छन्।’
उनले गठबन्धन गरेर मात्र जितिन्छ भन्ने नसोच्न पनि आग्रह गरेका थिए। अरू दलसँग गठबन्धन भन्दा पनि आन्तरिक एकता बलियो बनाउनेतर्फ सभापति शेरबहादुर देउवा लाग्नुपर्ने बताए।
‘जतिसुकै गठबन्धन राम्रो गरे पनि जबसम्म कांग्रेसभित्रै एकता हुँदैन, कार्यकर्ताले न्यायोचित व्यवहार पाउँदैनन् त्यो बेलासम्म गठबन्धनको अर्थ हुन्न,’ उनले भने, ‘गिरिजाबाबुले जहिले पनि सहमति, सहकार्य र एकता भन्नुहुन्थ्यो। पहिले पार्टीभित्र एकता हुनुपर्दछ, सहमति र सहकार्य हुनुपर्दछ।’
बिपीकै पालादेखि गुट रहेको उल्लेख गर्दै उनले आन्तरिक एकता मिलाउन नसक्नु नै पार्टीको कमजोरी रहेको बताए।
‘पार्टीभित्रका कमजोरी मिल्नेबित्तिकै समस्या समाधानतर्फ जान्छ,’ उनले भने, ‘मेरो पनि आफ्नै ग्रुप छ। यो स्वभाविक हो, अन्यथा लिन हुन्न। हिजो सभापतिले पनि गुट चलाउनुभयो, गुट चलाउन सभापतिजीले नै सिकाएको हो।’
कोइरालाले मंसिरमा भएको १४ औं महाधिवेशनमा आफूले ४० प्रतिशत मत ल्याए पनि त्यो अनुसार भागबन्डा नमागेको बताए।
‘म भागबन्डाको विरोधी हुँ। तर पार्टीभित्रका साथीहरूलाई न्यायोचित व्यवहार हुनुपर्दछ,’ उनले भने, ‘पार्टीमा न्यायोचित टिकट वितरण भएन। विभाग र भ्रातृ संस्था पनि गठन भएन। मैले ४० प्रतिशत भाग मागे त्यहाँ रेखा कोर्छ विभाजनको। त्यस्तो सोचलाई अघि बढाउन हुन्न।’
उनले टिकट वितरण प्रक्रिया बदल्नुपर्ने बेला आएको बताए। कांग्रेस विधानअनुसार टिकट वितरण गर्न प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र संघमा संसदीय बोर्ड छ। तल्ला तहका बोर्डले दिएका टिकट यसपालि केन्द्रले हस्तक्षेप पनि गरेको थियो।
क्रियाशीलमध्येबाट प्राइमरी इलेक्सन गरी उम्मेदवार छान्ने विधि उपयुक्त भएको कोइरालाले बताए। ‘क्रियाशीलबीच भोटिङ गरेर उम्मेदवार बनाउनुपर्छ। अहिले त सम्भव नहोला, अब भने योतर्फ हामी जानुपर्छ,’ उनले भने।
कोइरालाले पार्टी व्यवहारवादी हुँदै अवसरवादीका हातमा जाने चिन्ता देखिएको बताएका छन्।
‘बिपीले सिद्धान्त र विचार कहिल्यै पनि नत्याग भन्नुभएको थियो। सिद्धान्त र विचार त्याग्ने व्यक्ति व्यवहारवादी हुन्छ। पार्टी व्यवहारवादी भएपछि अवसरवादीका हातमा जान्छ,’ उनले भने, ‘कांग्रेस व्यवहारिक राजनीतिमा लागेको छ। अब अवसरवादीका हातमा जाँदै छ कि भन्ने चिन्ता मलाई लाग्न थालेको छ।’