स्थानीय तहको चुनावी इतिहासमै पहिलो पटक झापाको दमकमा हार व्यहोरेपछि नेकपा एमालेका नेताहरूले सार्वजनिक रूपमै भनेका थिए ‘एमाले नेतृत्व बेगरको दमक चलाउन गाह्रो हुनेछ। बहुमत हाम्रो, नेतृत्व अरूको जो छ।’
चुनावी हारजितको त्यो आक्रोश एमालेले चुनावपछि पनि देखाउँदा दमकमा अहिलेसम्म बजेट पारित हुन सकेको छैन। बहुसंख्यक स्थानीय सरकारले नयाँ आर्थिक वर्षको वार्षिक बजेट पारित गरेर कार्यान्वयनमा लगिसक्दा दमकमा भने नगरसभा नै अवरूद्ध छ।
नयाँ आर्थिक वर्ष सुरू भएको दुई साता बित्न लाग्दासम्म पनि दमकमा नयाँ बजेट पारित हुन नसक्नुका पछि एमालेको अवरोध मुख्य कारण भएको छ। संविधानले कल्पना नै नगरेको नगरपालिकामा विपक्षीको संसदीय दल गठन गरेर दलका लागि कार्यालय मागेको एमालेले दलका नेताका लागि गाडी सुविधासमेत माग गरेको थियो।
नगर प्रमुख राम थापाले संविधान र कानुनले कल्पना नै नगरेको संरचना र सुविधा नदिने भनेपछि एमालेले नगरसभा अवरुद्ध गर्दै आएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा पहिलो पटक नगर प्रमुख र उपप्रमुख दुवै पदमा गैरएमाले निर्वाचित भएका छन्। त्यही रिस एमालेले नगर सभा अवरोध गरेर पोखिरहेको आरोप गठबन्धन दलहरुले लगाएका छन्।
‘भोलि(बुधबार) का लागि चौथो पटक नगरसभा बोलाइएको छ’, दमक नगरकी उपप्रमुख रेगिना भट्टराईले सेतोपाटीसँग भनिन्, ‘अहिलेसम्म तीन पटकको नगरसभामा बजेट पारित हुनै सकेन। खासगरी एमालेका साथीहरूले बहुमतको दम्भ देखाएर हरेक सभामा अड्को थाप्नुभयो।’
साउन ७ को कार्यपालिका बैठकमा एमाले पक्षका जनप्रतिनिधिले सकारात्मक कुरा गरेको जानकारी दिँदै उनले बजेट पारित हुने आशा प्रकट गरेकी छन्।
मेयरमा राप्रपाका थापा र उपमेयरमा कांग्रेसकी भट्टराई निर्वाचित नगरमा बहुमत ४५ जना एमालेका छन्। त्यही बहुमतको आडमा एमालेले नगरसभामा प्रतिपक्षी मान्यतासहितको सुविधा मागेको र बजेट नीति तथा कार्यक्रम पारित गर्न नै अवरोध गरिरहेको अन्य दलहरूको आरोप छ।
गएको असार १० गते एमालेकै बहुमत रहेको कार्यपालिकाबाट पारित भएर नगर सभामा पेश भएको बजेट अहिलेसम्म नयाँ-नयाँ बखेडा झिकेर एमालेले पास गर्न नदिएको गठबन्धनबाट निर्वाचित एक वडाध्यक्षले बताए।
‘सुरूमा नगरको प्रवक्ता र सबै विभागको नेतृत्व दाबी गरेको एमालेले अहिले संविधानविपरीत प्रतिपक्षी दलको मान्यता माग गरिरहेको छ’, ती वडाध्यक्षले भने ‘गाडी सुविधा माग्ने काम पनि भएको छ। त्यो नहुँदा उसले अवरोध जारी राखेको छ।’
एमालेले नगर सभाको संसदीय दल गठन गरेको भन्दै पूर्वउपमेयर तथा कार्यपालिका सदस्य लोकबहादुर धिमाललाई दलको नेता चयन गरेको छ। मेयर थापाले एमालेले दलको नेता बनाएको भन्दै गाडी र कार्यालय माग गरेको सार्वजनिक रूपमै पुष्टि गरिसकेका छन्।
एमाले नेता धिमालले भने नगर सभामा आफूहरूको बहुमत रहे पनि मेयर र उपमेयरले पेलेर अगाडि बढ्न खोजेको आरोप लगाए। गाडी सुविधा नमागेको दाबी गर्दै उनले कार्यपालिका सदस्यका लागि कार्यकक्ष भने मागेको स्वीकार गरेका छन्।
‘हामीले गाडी सुविधा मागेका होइनौं’, धिमालले भने, ‘नगरपालिकाको गाडीको अवस्था के छ भनेर सोधखोज मात्र गरेको हो।’
एमालेले भने आफ्नो दलको विधानमा पालिका संसदीय दलको व्यवस्था भएको जिकिर गर्दै दमकमा सोही अनुसार गरिएको बताएको छ।
‘एमालेको विधानमै पालिका दलको व्यवस्था छ’, पूर्व नगरप्रमुखसमेत रहेका एमाले केन्द्रीय सदस्य रोमनाथ ओलीले भने, ‘विगतमा पनि दमक नगरपालिकामा पालिका दलको अभ्यास भएको छ।’
दमकमा ५८ जनप्रतिनिधि निर्वाचित छन्। जसमा ४५ जना एमालेका छन् भने बाँकी १३ जना गठबन्धनका छन्। तीमध्ये एमालेका विश्वनाथ बराल जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका छन्।
बजेट तथा नीति कार्यक्रम पारित गर्न भनेर आयोजित ११औँ नगर सभाको दोस्रो र तेस्रो बैठकमा एमालेका जनप्रतिनिधिले आफ्ना माग राखेर होहल्ला गरेपछि स्थगित भएको थियो। त्यसपछि ३ साउनमा अर्को बैठक बोलाइएको थियो। तर, त्यो बैठकमा एमाले प्रतिनिधिहरु उपस्थित नै नभएपछि बैठक रोकिएको थियो। नगरसभाको अर्को बैठक बुधबारका लागि डाकिएको छ।