बेलायतमा कन्जरभेटिभ पार्टीको नेता बन्ने दौडमा रहेका ऋषि सुनक र लिज ट्रसबीचको प्रत्यक्ष टेलिभिजन बहसमा प्रस्तोता बेहोस भएपछि स्थगित भएको छ।
‘द सन’ र ‘टक टिभी’ ले आयोजना गरेको बहसका दौरान प्रस्तोता केट मेक्यान बेहोस भएको बिबिसीले जनाएको छ।
दुई प्रतिस्पर्धीबीचको बहस स्थगित भएपछि टेलिभिजनले दर्शकसँग माफी मागेको छ।
‘हामी हाम्रो दर्शकसँग माफी माग्छौं,’ टेलिभिजनले भनेको छ।
मेक्यान अहिले ठिक रहे पनि चिकित्सकको सल्लाहअनुसार केही समय आराम गर्ने टेलिभिजनको भनाइ छ। मेक्यानको स्वास्थ्य ठीक रहेको जानकारी पाउँदा आफूहरू खुसी रहेको र फेरि उनीसँगै बहसमा उपस्थित हुने सुनक र ट्रसको भनाइ छ।
कार्यक्रममा दुई जना प्रस्तोता राख्ने भनिए पनि ‘द सन’का राजनीतिक मामिला सम्पादक कोरोना संक्रणका कारण उपस्थित हुन सकेनन्। कार्यक्रम स्थगित हुनुअघि उनीहरू कर प्रणालीमा सुधार र बढ्दो महंगी नियन्त्रणबारे योजना सुनाइरहेका थिए। युक्रेनलाई सहयोग गर्ने योजनाबारे बहस हुँदै गर्दा कार्यक्रम स्थगित भएको थियो। बिबिसीसँगको बहसमा एकअर्काप्रति खरो उत्रिएका उनीहरू ‘टक टिभी’ सँगको बहसमा निकै नरम थिए।
राष्ट्रिय बीमा कार्यक्रमबारे पूर्वअर्थमन्त्री सुनकको नीतिले बेलायतको अर्थतन्त्रलाई धरासयी बनाउने ट्रसले बहसमा बताएकी थिइन्। सुनकले भने आफ्नो योजना कोरोनाले कमजोर बनाएको अर्थतन्त्रलाई बलियो बनाउन सहयोगी हुने बताए।
धेरै आर्जन गर्ने कम्पनीहरूबाट धेरै कर असुल गर्दै सर्वसाधारणलाई सहुलियत दिने आफ्नो नीति जायज रहेको सुनकको दाबी थियो।
टक टिभीको बहसमा उनीहरू व्यक्तिगत तहमा उत्रिएनन्। सुनक र ट्रसबीच नीतिगत विषयमा बढी छलफल भएको थियो। कन्जरभेटिभ पार्टीका कार्यकर्ताले यी दुईमध्ये एकलाई पार्टीको नेता छान्नेछन्। कन्जरभेटिभ पार्टीको नेता चुनिने व्यक्ति बेलयातको नयाँ प्रधानमन्त्री बन्ने छन्। कन्जरभेटिभका पार्टीका कार्यकर्तामाझ हालैको गरिएको सर्वेक्षणमा ट्रसको लोकप्रियता बढी देखिएको छ। कन्जरभेटिभ पार्टीको नेता सेप्टेम्बर ५ मा घोषणा हुने छ।