पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई नेपाल समाजवादी पार्टीको नेतृत्व गरेर अघि बढ्ने बाटो खुलेको छ।
समावेशी लोकतान्त्रिक पार्टीको नाम, विधान, झन्डा र छाप निर्वाचन आयोगले अद्यावधिक गरिदिएपछि बिहीबार नेपाल समाजवादी पार्टी दर्ताको निर्णय भएको थियो।
भट्टराईनिकट पूर्वविद्यार्थी नेता नुवाकोटका दीपक लामिछानेको नाममा समावेशी लोकतान्त्रिक पार्टी गत फागुनमा निर्वाचन आयोगमा दर्ता भएको थियो।
लामिछाने नेतृत्वमा दर्ता भएकै पार्टीको चुनाव चिन्ह यथावत् राख्दै नाम, झन्डा र छाप भने अद्यावधिक गरेर नेपाल समाजवादी पार्टी बनाइएको हो।
पार्टीको झन्डामा माथिल्लो भाग रातो र तल हरियो रङ हुने तथा बीचमा आँखा रहनेछ।
यो पार्टीको नाम अद्यावधिक गर्नुअघि बिहीबार भट्टराईले लामिछाने लगायतसँग छलफल गरेका थिए। त्यसलगत्तै आयोगले अद्यावधिक पार्टी, नेपाल समाजवादी पार्टी दर्ता गरेको भन्ने सार्वजनिक बाबुरामनिकट नेता विश्वदीप पाण्डेले गरेका थिए।
नयाँ गठन हुने पार्टीमा कति जना अध्यक्ष रहने र केन्द्रीय सदस्यहरू को-को हुने भन्ने तय भइसकेको छैन। भट्टराई कस्तो ‘मोडल’ अपनाउने भन्नेमा छलफलमै छन्। आयोगमा कम्तीमा २१ जना केन्द्रीय सदस्यको नाम बुझाउनुपर्ने हुन्छ।
भट्टराईनिकट एक नेताका अनुसार नेपाल समाजवादी पार्टी समावेशी बनाउने तयारी छ। हिमाल, पहाड र तराईबाट प्रतिनिधित्व गर्ने तयारी छ।
यस्तै कलष्टरअनुसार अध्यक्ष राख्ने कुराकानी पनि भएको छ। तर यो प्रणाली विगतमा असफल भएकोले एकल नेतृत्व रहने गरी जानुपर्नेमा केही नेता छन्।
‘नयाँ शक्ति बनाउँदा कलष्टरका आधारमा अध्यक्ष बनाउन खोजिएको थियो। राजपाले पनि अध्यक्ष मण्डल बनाएको हो, नेकपा र जसपामा पनि दुई अध्यक्ष राखेको हो। तर यो सफल भएन,’ बाबुरामनिकट एक नेताले भने, ‘कलष्टरका आधारमा तीन अध्यक्ष बनाएर जानुपर्ने र एकल अध्यक्ष सिष्टममा जानुपर्ने बहस जारी छ।’
केही नेताहरूले सामूहिक नेतृत्वभन्दा पनि अध्यक्ष र महासचिवलगायत बनाएर जान भट्टराईलाई सुझाव दिएका छन्। ‘निर्णय प्रक्रियामा अध्यक्ष बोल्ड हुनुपर्छ भन्ने छ। कस्तो मोडालिटी तय गर्ने टुंगिसकेको छैन,’ उनले भने।
बाबुरामनिकट अर्का एक नेताका अनुसार संघीय परिषद् अध्यक्ष र केन्द्रीय परिषद अध्यक्ष बनाएर जान भट्टराई इच्छुक देखिन्छन्।
छलफलका क्रममा भट्टराईले संघीय परिषद अध्यक्षलाई बलियो बनाई थप दुई अध्यक्ष राख्ने मोडल ठिक हुने तर्क गरेको ती नेता दाबी गर्छन्। यसो हुँदा गंगानारायण श्रेष्ठ र महिन्द्र राय यादव केन्द्रीय परिषद अध्यक्ष रहन सक्ने उनले बताए।
महिन्द्रलाई अध्यक्षमा समेट्दा जसपाका अध्यक्ष उपेन्द्र यादवसँग मधेशमा असन्तुष्ट रहेका नेता तथा कार्यकर्ता पार्टीमा समेट्न सजिलो हुने नेताहरू बताउँछन्।
‘जसपाभित्र एकल निर्णय गरेको, सामूहिक नेतृत्व उपेन्द्रजीले अस्वीकार गरेको गुनासा छन्। रेणु यादव, हेमराज राईहरू असन्तुष्ट छन्,’ ती नेताले भने, ‘असन्तुष्टलाई हाम्रो पार्टीमा समेट्नुपर्छ, महिन्द्रजी पनि अध्यक्ष हुँदा मधेशका असन्तुष्ट नेता/कार्यकर्ता नयाँ पार्टीमा अटाउने ठाउँ बन्छ।’
उनले अध्यक्ष तोक्ने, केन्द्रीय समिति विस्तारको काम भने आइतबारदेखि अघि बढ्ने बताए।
‘पाइला समाजवादी केन्द्रतर्फ’
भट्टराईले नेपाल समाजवादी पार्टी गठन गर्दै यसलाई समाजवादी केन्द्रसम्म पुर्याउन चाहेका छन्।
आफूहरूसहित भट्टराईले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, वामदेव गौतमले नेतृत्व गरेको नेकपा एकता राष्ट्रिय अभियानलगायतलाई समाजवादी केन्द्रमा अटाउन चाहेका छन्।
‘नेपाल समाजवादी पार्टी अब हुने चुनावमा जाने एउटा मोर्चाजस्तो हो, हामी जाने त समाजवादी केन्द्रमै हो,’ भट्टराईनिकट ती नेताले भने, ‘समाजवादी केन्द्रमा पनि सामूहिक नेतृत्वको सम्भावना नै देखिन्छ। तर चुनावअघि समाजवादी केन्द्र बन्न गाह्रो छ, यो चुनावपछिको विषय हो।’
मंसिरमा संघीय/प्रदेश सभा चुनाव हुने सम्भावना रहेकोले दलविहीन नहुन भट्टराईले अहिले पार्टी गठन गर्नतर्फ लागेका हुन्।
‘नेपाल समाजवादी पार्टी गठन गरेर हामी कोही न कोहीसँग त चुनावी गठबन्धन गर्छौं,’ ती नेताले भने, ‘चुनावपछिको चरण समाजवादी केन्द्र बन्ने तर्फको हुन्छ।’
‘बाबुरामको आँखा मोह’
माओवादी परित्याग गरेपछि बाबुरामले नयाँ शक्ति पार्टी खोलेका थिए।
२०७४ को चुनावमा गोरखा क्षेत्र नम्बर २ मा भट्टराईले आँखा चिन्हबाट लडेर वामगठबन्धनबाट उम्मेदवार रहेका माओवादीका नारायणकाजी श्रेष्ठलाई हराएका थिए।
त्यो चुनावमा नयाँ शक्ति र कांग्रेसबीच तालमेल भएको थियो।
नयाँ शक्तिलाई भट्टराईले उपेन्द्र नेतृत्वको संघीय समाजवादी फोरमसँग मिलाएर समाजवादी पार्टी बनाएका थिए। समाजवादी पार्टी पनि राजपासँग मिलेर जसपा बनेको थियो।
जसपाबाट महन्थ ठाकुरहरू बाहिरिएर लोसपा गठन गरेका छन्।
जसपाकै संघीय परिषद अध्यक्ष रहेका भट्टराईलाई पनि हालै उपेन्द्र पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक गरी पदबाट हटाएका थिए।
जसपाभित्र अध्यक्ष यादवसँग भट्टराईको कुरा मिल्न छाडेपछि आँखा चुनाव चिन्ह सुरक्षित राख्न भट्टराईनिकट युवाले समावेशी लोकतान्त्रिक पार्टी दर्ता गरेका थिए, जुन पार्टी र खुलेको एकल आँखा चिन्ह घुमिफिरि अहिले भट्टराईको हातमा आइपुगेको छ।
यो पनि: राजनीतिक जीवनको उत्तरार्द्धमा अर्को संकटमा बाबुराम