कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर हुन् सुशीला शाही। गत वैशाखमा भएको स्थानीय चुनावबाट उनी मेयर निर्वाचित भएकी हुन्। यसपालि सुदूरपश्चिम प्रदेशभरि नै मेयर जित्ने सुशीला दोस्रो महिला हुन्।
मेयरका रूपमा काम थाल्दा सुशीलालाई आफ्नो नगरपालिका १९ करोड ऋणमा भएको थाहा भयो। आफ्नो कार्यकालमा नगरपालिकाको ऋण तिरेर विकास निर्माणलाई तीव्रता दिने मनमनै प्रण गरिन्।
पदभार ग्रहण गरेकै दिनबाट बजेट, नीति तथा कार्यक्रम बनाउन लाग्नुपर्ने भयो। जम्मा २५ दिनमा नीति तथा कार्यक्रम र बजेट बनाउन हम्मेहम्मे भयो।
‘सोचेजस्तो बजेट ल्याउन सकिएन, बजेट ल्याउन समय एकदमै कम थियो,’ उनले सेतोपाटीसँग भनिन्।
चालु आर्थिक वर्ष २०७९/८० का लागि लम्कीचुहा नगरपालिकाले १ अर्ब ३८ करोड ४४ लाख २५ हजार बराबरको बजेट ल्याएको छ।
‘निवार्चनमा बोलेका कुरा पूरा गर्न सजिलो त हुने रहेनछ तर चन्दा उठाएरै भए पनि गर्छौं। काम गर्ने मान्छे सरकारमा छौं, केही राम्रो सुरूवात भने पक्कै हुनेछ,’ उनले भनिन्।
राजनीति उनले चुनेको काम हो। जनताको सेवा गर्नु र उनीहरूलाई खुसी राख्नु आफ्नो सपना भएको उनी बताउँछिन्। त्यसैले उनलाई लाग्छ यहाँ टिक्न राम्रो काम गर्नुपर्छ।
‘समाजका लागि केही न केही राम्रो गर्छु र त्यसको नेतृत्व गर्ने भनेर राजनीतिमा लागेकी हुँ। मैले आफ्नो कार्यकालमा जनतालाई खुसी राख्न सकें भने मेरो सपना पूरा हुनेछ, म सफल पनि हुनेछु,’ उनले भनिन्, ‘अढाई महिनामा हामीले केही सुरूआत गर्न सकेका छौं।‘
मेयर शाहीले आफ्नो कार्यकाल सुरू हुनेबित्तिकै कोल्ड स्टोर बनाउन डिपीआर गर्ने काम भइरहेको बताइन्। कोल्ड स्टोर बन्यो भने यहाँका कृषकलाई धेरै फाइदा हुने उनको बुझाइ छ।
त्यस्तै सिटी हल, कर्णाली पुलदेखि लम्कीकै बजारसम्म चार लेनको पक्की सडक निर्माण, राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि पनि डीपीआर गर्ने काम अघि बढिसकेको उनले बताइन्।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै राखिएको कृषि विषय पढाइ हुने विद्यालय सञ्चालनमा ल्याउन पनि उनलाई मन छ। यस्तै प्रत्येक वडामा खानेपानी विस्तार गर्ने गरी ८२ करोड बजेट छुट्याएर काम भइरहेको उनी बताउँछिन्।
उनको नजरमा परेका योजना अरू पनि छन्। जस्तो नयाँ अस्पताल सञ्चालनका लागि भवन निर्माण गर्ने, पाँच वटा समुदायिक स्कुलको भवन बनाउने काम पनि गर्नुछ।
ठेकेदारका कारण अलपत्र परेका पुल निर्माण गराउन लाग्ने, हरेक बस्तीमा नालासहितका पिच सडक पुर्याउने उनको नजरमा परेका योजना हुन्। कामहरू पाँच वर्ष भित्रै गरिसक्ने लक्ष्य भए पनि केही कामहरू त्योभन्दा अगाडि नै पूरा हुने उनको दाबी छ।
सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारका रूपमा रहेको नगरपालिकालाई पर्यटकीय रूपमा थप विकास गर्ने उनको लक्ष्य छ।
पछिल्लो समय लम्की क्षेत्र आसपासमा अपराधिक क्रियाकलाप हुने गरेको पाइएकाले शान्ति सुरक्षा थप मजबुद् गर्न प्रहरी प्रशासनसँग सहकार्य गर्ने काम भइरहेको उनले बताइन्।
‘सुरक्षाकर्मीका लागि त्यहाँ संरचना अभाव छ, संरचना बनाउन हामी सहयोग गर्नेछौं, चिसापानी बजारदेखि लम्की बजारसम्म सिसिटिभी क्यामेरा राख्ने काम भइरहेको छ,’ उनले भनिन्।
बनाएका योजना पूरा गर्न कठिनाइ भइरहेको उनी बताउँछिन्। कर्मचारीको असहयोगले पनि काममा ढिलाइ हुने गरेको उनको बुझाइ छ।
‘मेयर र उपमेयरबीच समन्वय गरेर जाने हो, सेल्फ डिसिजन बढी लिनु पर्ने छ, भ्रष्टाचार रोक्न आफैं लाग्नुपर्ने रहेछ’, उनले भनिन्।
पाँच वर्षमा नगरपालिका भित्रका महिलाको स्थिति उकास्न उनले योजना बनाइरहेकी छन्।
‘हाम्रो समाजले महिला भनेर पछाडि धकेल्ने गर्छ। म महिलालाई शसक्त भएर अगाडि बढेको देख्न चाहन्छु,’ उनले भनिन् ।
संघीयतापछि दुई पटक भएको स्थानीय तह चुनावमा सुदूरपश्चिममा मेयर बनेका जम्मा तीन जना महिलामध्ये उनी एक हुन्।
२०७४ सालको निर्वाचनमा डोटीको दिपायल सिलगढी नगरपालिकाको मेयरमा मञ्जु मलासी निर्वाचित भएकी थिइन्।
२०७९ सालको निर्वाचनमा अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा अम्बिका चलाउने र कैलालीको लम्कीचुहा नगरपालिकामा उनी मेयरमा निर्वाचित भएकी हुन्।
शाहीलाई २०७४ सालको पहिलो स्थानीय तहको चुनावमै मेयरमा उठ्ने चाहना थियो। त्यसबेला पार्टीले उनलाई चुनाव लड्न टिकट दिने निर्णय त गर्यो तर मेयरमा नभइ उपमेयरमा।
उनले आफूलाई मेयरमा उठ्न मन भएको बताएकी थिइन्। महिलालाई उपमेयरमै ठिक हुने भन्ने जवाफ पाएपछि उनी उपमेयरमा नलड्ने निर्णयमा पुगिन्। पार्टीले उनलाई असन्तुष्ट नराख्न प्रदेश सभाका लागि समानुपातिकबाट सासंद बनाउने कुरा पनि गरेको थियो।
उनलाई यो कुरा पनि चित्त बुझेन।
उनले आफू प्रदेशमा लडे पनि प्रत्यक्षबाट चुनाव लड्ने इच्छा राखिन्।
‘२०७४ को चुनावमा उपमेयरमा टिकट दिने कुरा भयो, जनमत मेरो राम्रो छ, म जित्छु भने किन उपमेयरमा लड्ने बरू पाँच वर्ष पर्खन्छु भन्ने लाग्यो,’ उनले भनिन्, ‘चुनाव त प्रत्यक्षमै लड्ने भनेर प्रदेशतिर पनि गइनँ।’
राजनीतिक दलले राम्रो पदका लागि चुनाव लड्न महिलालाई विश्वास नगर्ने प्रवृत्तिले स्थानीय तहका प्रमुख, प्रदेश र प्रतिनिधि सभाका प्रत्यक्ष सिटमा महिलाको सहभागितामा औँला गन्न सकिने अवस्थामा रहेको उनको भनाइ छ।
‘जुनसुकै पार्टीले महिलालाई उपमै बस, प्रमुखमा किन लड्ने, जित्न सक्दैनौं भन्ने कुरा गरिन्छ,’ उनले भनिन्।
महिलाले प्रमुख पदमा चुनाव लड्न पार्टीभित्रै अनेक विद्रोह गर्नुपरेको उनले बताइन्। समाजसँग लडेर राजनीतिमा पुगेपछि त्यहाँ पनि अर्को लडाईं लड्नुपर्ने धेरै महिलाको बाध्यता हुन्छ।
सुशीलाको बाल्यकालदेखिकै सपना समाजका लागि केहि गर्छु भन्ने हो। उनको पारिवारिक पृष्ठभूमी पनि राजनितिसँग जोडिएको छ। उनका मामा तत्कालिन पञ्चायती व्यवस्थामा प्रधानपञ्च भएका थिए।
‘स्कुल पढ्दादेखि नै म कक्षामा क्यापटेन बन्थेँ, स्कुलका विभिन्न कमिटीमा संयोजक हुन्थें,’ उनले सुनाइन्।
कक्षा १० सम्म मातिपुर पढेकी उनले काठमाडौं गएर प्रविणता प्रमाणपत्र तह पढिन्। स्नातक र मास्टर्स भने सुदूरपश्चिम विश्व विद्यालय महेन्द्रनगरबाट गरिन्।
पढाई पुरा गरेपछि उनलाई जागिरका लागि अफर आए पनि उनको रूचि समाजसेवा तर्फ थियो। उनी सामाजिक संस्थामा जोडिन थालिन्। उनले लम्कीमा लेडिज जेसिजकी संस्थापक अध्यक्ष भएर काम गरिन्। त्यसपछि सोही संस्थाको राष्ट्रिय उपाध्यक्ष पनि भइन्। लायन्स क्लवलगायत सामाजिक संघसंस्थामा काम गर्दै गर्दा समाजमा नागरिक समस्या बुझ्ने अवसर प्राप्त भएको उनी बताउँछिन्।
‘संघसंस्थामा हुँदा मैले धेरै काम गरेँ, नागरिकका पीडा बुझ्ने र देख्ने अवसर पाएँ। केही हदसम्म उनीहरूका समस्या सम्बोधन गर्ने काम पनि गरेँ,’ उनले भनिन्।
उनलाई समाजका लागि काम गर्न नेतृत्व तहसम्म रहेर काम गरे सहज हुनेरहेछ भन्ने लाग्दै गयो। समाजसेवा गर्ने अर्को आधार उनले राजनीति सोचिन् र यसैमा होमिइन्।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा उनले २०६१ सालमै सदस्यता लिइसकेकी थिइन्।
२०७२ सालमा पार्टीको जिल्ला कार्य समितिको क्रियाशील सदस्यता लिएकी हुन्।
२०७९ को स्थानीय तह चुनावमा पनि उनलाई सुरूमा मेयरमा टिकट दिइएन। टिकट दिने जिम्मा पाएको पार्टीको प्रदेश कार्य समितिले नगरपालिकाको मेयरमा अर्का नेतालाई उम्मेद्वार बनाएको थियो।
देश चुनावी प्रचारमा होमिएका बेला सुशीला भने प्रमुखमा अब पनि किन नलड्ने भन्दै पार्टीमा संघर्ष गरिरहेकी थिइन्। उनले टिकटका लागि नेपाली कांग्रेसको केन्द्रीय समितिमा कुरा राख्ने निर्णयमा पुगिन्।
‘यो पटक मैले सिधै केन्द्रमा कुरा राखेँ, महिलालाई अगाडि ल्याउनुपर्छ भन्ने कुरा गरेपछि केन्द्रले सहयोग गर्यो र त्यहाँबाट टिकट पाएँ,’ उनले टिकट पाउन गरेको संघर्ष छोटकरीमा भनिन्।
केन्द्रबाटै सोझै मेयरमा लड्न टिकट ल्याएर आएपछि पार्टी भित्र दुई जनालाई टिकट दिइएको विषयमा सामान्य विवाद पनि भयो।
‘दलका नेताहरूले उम्मेद्वारी फिर्ता लिनुहोस् भने, अर्का उम्मेद्वारलाई नै चुनाव लड्न दिनुहोस् भन्ने दबाब पनि आयो,’ उनले भनिन्,‘मलाई जित्छु भन्ने सय प्रतिशत विश्वास थियो, त्यो विश्वासले मलाई चुनाव लड्न आवश्यक लाग्यो, मेरो आत्मबल पनि बलियो थियो, जति दबाब आए पनि म पछि हटिनँ।’
अन्ततः पार्टीले उनको उम्मेद्वारी सदर मान्यो। अर्का नेताले उम्मेद्वारी फिर्ता लिए।
सुशीलाले चुनावमा एमालेका महादेव बजगाईँलाई २२७८ मतान्तरले पछि पार्दै मेयर जितिन्।