त्रिवि सेवा आयोगले लिने प्राध्यापक र सहप्राध्यापक पदको अन्तर्वार्ता अन्तिम समयमा रोकेको छ।
सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सेवा आयोग कार्यालयमा तालाबन्दी गरिदिएपछि अन्तर्वार्ता हुन सकेन।
सेवा आयोगले २०७७/०७८ मा आन्तरिक प्रतियोगिताबाट विभिन्न पदहरूमा पदपूर्ति गर्न विज्ञापन गरेकामध्ये व्यवस्थापन र समाजशास्त्र, हिन्दी र मैथली विषयको अन्तर्वार्ता आइतबारदेखि सुरू गर्ने तालिका थियो।
बिहान ८ बजेदेखि अपरान्ह ३ बजेसम्म व्यवस्थापनतर्फ सहप्राध्यापकको अन्तर्वार्ता लिने भने पनि नेविसंघको विरोधले रोकिएको छ। आइतबार १५ जना सहप्राध्यापकको अन्तर्वार्ता लिने आयोगको तालिका थियो।
यस्तै साउन १६ मा व्यवस्थापन तर्फकै बाँकी १५ जनाको अन्तर्वार्ता लिने र साउन १७ मा समाजशास्त्रतर्फ तीन प्राध्यापक तथा तीन सहप्राध्यापकको अन्तर्वार्ता लिने कार्यतालिका प्रकाशित थियो।
साउन १७ मा मैथलीतर्फ एक प्राध्यापक र ४ सहप्राध्यापकको अन्तर्वार्ता लिने तालिका भए पनि यो अन्तर्वार्ता गर्न आयोगले नसक्ने देखिएको छ।
साथै हिन्दीतर्फ एक प्राध्यापक र चार सहप्राध्यापकको अन्तर्वार्ताका लागि साउन १७ गते तोकिएको थियो।
अन्तर्वार्ताका लागि सहप्राध्यापकहरू आइतबार कीर्तिपुरस्थित सेवा आयोग कार्यालय पुगे पनि नेविसंघको अवरोधले अन्तर्वार्ता हुन सकेन।
सेवा आयोगका सदस्य हेमराज ढकालले विद्यार्थीहरूले आन्दोलन गरेकोले अन्तर्वार्ता गर्न नसकिएको बताए।
‘सेवा आयोग कार्यालयमा विद्यार्थीले ताला लगाए। आज दिउँसो पनि कार्यालय बाहिर भाषण गरे,’ उनले सेतोपाटीसँग भने, ‘यस्तो अवस्थामा अन्तर्वार्ता गर्न सकिएन।’ साउन १७ भित्र अन्तर्वार्ता सक्ने आयोगको तयारी थियो।
उनले सेवा आयोगले बल प्रयोग गरेर अन्तर्वार्ता नगर्ने बताए।
‘समस्या समाधान गरेर मात्रै अन्तर्वार्ता गर्ने हो, शैक्षिक संस्थामा बल प्रयोग गर्ने कुरा भएन,’ उनले भने, ‘ताला लगाउने विद्यार्थीको कुरा बुझ्न पनि पर्नेछ।’
सेवा आयोगका अध्यक्ष प्रा.डा. लालुप्रसाद पौडेलको समयावधि सकिन लागेको छ। साउन १८ देखि उनको कार्यकाल सकिँदैछ। आफ्नो कार्यकाल सकिनुअघि उनले प्राध्यापक, सहप्राध्यापकहरूको अन्तर्वार्ता सक्न खोजेका थिए।
‘विद्यार्थीले किन ताला लगाएका हुन् हामीलाई थाहा छैन,’ उनले भने, ‘अध्यक्ष पौडेलकै पालामा विज्ञापन गरिएकोले उहाँ हुँदा नै यो काम सकौं भनेर अन्तर्वार्ता गर्न खोजिएको हो। तर सकिएन। अब नयाँ अध्यक्ष आएपछि अन्तर्वार्ता लिँदा ढिलो होला।’
सेवा आयोगले पारदर्शी हिसावबाटै अन्तर्वार्ता लिने पनि उनले बताए।
सेवा आयोगमा तालाबन्दी गरेका नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले भने सेवा आयोगको निष्पक्षतामा प्रश्न उठेकोले विरोध गरिएको बताए।
‘सेवा आयोग अध्यक्षले कार्यकाल सकिने दिन पनि अन्तर्वार्ता राखेर आयोगकै बदनाम गर्न खोजे,’ उनले भने, ‘अन्तर्वार्ताका नाममा नेकपा एमालेका कार्यकर्तालाई जागिर खुवाउन खोजिएको छ, यसमा हाम्रो विरोध छ।’
त्रिवि सेवा आयोगका अध्यक्ष कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै बिदामा बस्नुपर्ने दाबी उनले गरे।
यसैबीच नेकपा एमालेको भ्रातृ संगठन, अनेरास्ववियुले आइतबार त्रिवि सेवा आयोग कार्यालयमा प्रदर्शन गरेको छ। अनेरास्ववियु त्रिवि इन्चार्ज मदन विष्टले प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्ता सुरू गर्न दवाव दिन प्रदर्शन गरिएको जानकारी दिए।
‘त्रिवि सेवा आयोगमा नेविसंघले लगाएको ताला खोलेर अन्तर्वार्ताको वातावरण बनाउनुपर्दछ,’ उनले भने।
यी प्राध्यापक, उपप्राध्यापकको थियो अन्तर्वार्ता: