करिब ३० वर्षअघि मोहना नदीले धार परिवर्तन गरेपछि धनगढी उपमहानगरपालिका–१९, बहुलियाको आधाजति बस्ती नदीमा परिणत भयो।
विस्थापित परिवार अन्तै पुगे।
बस्तीमा नदी पसेपछि राजु चौधरीको परिवारमा विपद् आइलाग्यो। घरमा ठूलो क्षति भएन तर कमाइखाने खेत बग्यो। खेतबिनाको घर, त्यो पनि नदीले बनाउन आँटेको, सहारा केही पनि भएन। ज्यान त पाल्नै पर्यो। राजुको परिवार बजारतिर सरेर ज्याला मजदुरीमा लाग्यो।
मोहना नदीले धार फेर्दा केही जमिन मोहना नदीपारि हुन पुग्यो।
त्यस ठाउँमा मोहना नदीपारि भारतीय भूमि पर्छ। नदीले धार फेरेपछि कैलारी गाउँपालिका र धनगढी उपमहानगरका केही बस्तीहरू नदीपारि परे।
बजारको मजदुरीले मात्रै पनि भएन। राजुको परिवार नदीको दुःख सम्झेर अन्तै बसाइँ सर्न चाहन्थ्यो तर विकल्प नभएपछि नदीले पिर्ने भए पनि बहुलिया छोड्न सकेनन्।
नदिपारी पुगेका बस्ती राज्यसँग छुटिए जस्ता भएका थिए। जिल्ला प्रशासन कार्यालय, गाउँ र नगरपालिका तथा वडामा आउने बाटो बन्द भयो। यता मोहना नदीवारि बस्तीका बासिन्दा नुनतेल र दैनिक आवश्यकताका सामान किन्न पारि भारतीय बजारमा जान्थे। पुल नभएपछि नदी जंघार तर्नुमा सधैँ जोखिम हुने नै भयो। गाउँलेहरू जोखिम उठाएरै पारि जान्थे। बर्खा लागेर नदी बढेपछि आवतजावत ठप्प हुन्थ्यो।
‘जोखिम मोलेर नदी वारपार गर्ने कतिले त बर्खायाममा ज्यान गुमाउँथे,’ राजुले सेतोपाटीसँग भने।
गाउँलेको दुःख, नदीको पिर, आफ्नो जीविका इत्यादि सम्झेर राजुले मोहनामा डुंगा चलाउने विचार गरे। साथी गंगालाल चौधरीलाई पनि सुनाए।
गंगालाल पनि राजुको कुरामा सहमत भए। दुवै मिलेर तीन जनासम्मलाई राख्न मिल्ने सानो डुंगा बनाए। काम सुरु भयो। एकोहोरो दुई रुपैयाँ भाडा लिएर बहुलिया घाटमा चलाउन थाले।
यो डुंगाले नदी वारपार गर्नु पर्ने गाउँलेहरूलाई सजिलो भयो। राजु र गंगालाल हरेक दिन बिहानदेखि साँझसम्म डुंगा चलान थाले।
‘मान्छे धेरै हुन्थे। काम गर्न भ्याई नभ्याई हुन थाल्यो। डुंगा सानो थियो। ठूलो चाहियो भन्न थाले,’ ती दिन सम्झँदै राजुले भने।
गाउँका अन्य व्यक्तिले पनि डुंगा चलाउन रुचि देखाए। राजु र गंगारामले नमान्ने कुरै थिए। करिब पाँच वर्षसम्ममा ११ जना आए।
‘दुई जना हामी र ११ जना नयाँ साथीहरू मिलेपछि हाम्रो टिम १३ जनाको भयो,’ राजुले भने, ‘त्यसपछि ठूलो डुंगा बनायौँ। पालो मिलाएर काम गर्यौं।’
नदी वारपार गर्नेको संख्या घट्ने सम्भावना थिएन, डुंगाको सुविधा भएपछि झन् बढ्यो। उत्साहित भएका डुंगा चालकहरू मिलेर हिउँदका लागि काठेपुल बनाए।
बर्खा लागेर नदी बढ्न थालेपछि काठेपुल निकाल्थे। हिँउदमा फेरि लगाउँथे। यसरी हिउँदमा काठे पुल र बर्खामा डुंगा भयो।
डुंगा चढेको त तिर्नु परिगयो। उनीहरू काठपुलमा पनि शुल्क लिन्थे। राजु र गंगारामको सुरुवातले बाह्रै महिना नदी तर्ने प्रबन्ध भयो।
हिउँदमा त पुल रुङेर पैसा उठाउँदा हुन्थ्यो। बर्खामा डुंगा चलाउनु जोखिमपूर्ण थियो। कमाइ ठूलो थिएन तर पनि टिमका सबैको दैनिक गर्जो टरेको थियो।
राजुले भने, ‘कहिले कमाइ हुन्थ्यो, कहिले हुन्थेन तर घरखर्च चलाउन सजिलो भएको थियो।’
तेह्र जनाको टिम सधैँ चलेन। धेरै साथीलाई आम्दानीमा चित्त बुझेन। कमाइभन्दा बढी हैरान भयो भनेर केही वर्षमै धेरै साथीहरू अरू काममा लागे।
राजु, गंगालाल र खेमराजले नदी छाडेनन्।
‘नदी तर्ने धेरै मानिसका लागि हामी नै पुलजस्ता भएका थियौँ। धेरै साथीले छोडे पनि तीन जानले चटक्कै छोड्ने आँट गरेनौँ। हामी त अहिलेसम्म यसमै छौँ,’ खेमराजले भने।
तीन जनामात्रै भएपछि खटाइ बढ्यो। आम्दानी पनि बढ्यो। तीनै जनालाई काम धमाधम भयो। बिहानको खाना खाने समय मिलाउन समेत मुश्किल पर्थ्यो।
यसरी मोहना नदीमा डुंगा खियाउँदै राजु, गंगालाल र खेमराजले ३० वर्ष बिताएका छन्।
‘तीन दशक मोहना नदीमा यसरी नै हाम्रो जीवन बित्यो। अझै कहिलेसम्म यस्तै हुन्छ, थाहा छैन,’ राजुले भने।
अहिले फेरि उनीहरूको टिम बढेर छ जनाको भएको छ। तीन–तीन जनाको पालो मिलाएर काम गर्छन्।
हालैको एक दिन बिहान आठ बजेतिर हामी पुग्दा राजु, गंगालाल र खेमराज पारि लग्गाभग्गाका स्कुले बालबालिकालाई वारि ल्याउन डुंगा ठिक पार्दै थिए।
पारि नदी किनारमा केही स्कुले बालबालिका डुंगा कुरेका देखिन्न्थे। त्यही वेला अचानक नदीमा पानीको बहाव बढ्यो। डुङ्गा चलाउन प्रयास गरे पनि पार लागेन।
करिब डेढ घण्टा पर्खेर स्कुले बालबालिका घर फर्के।
बिस्तारै पानीको बहाव घट्न थाल्यो। यतिन्जेलमा पारिपारि दुवैतिर डुंगा पर्खिेने निकै जना भए। काम सुरु भयो। पारिको बस्तीका बासिन्दाहरू राज्यसँग काम लिन वारि वडा कार्यालयमा आउँछन्। कुटानी, पिसानी र अन्य कामका लागि पनि आउँछन्।
वारिका बासिन्दाहरू सस्तोका लागि भातीय बजार चन्दनचौकी जान डुंगा चढ्छन्।
केही भारतीयहरू सानोतिनो व्यापारका लागि मोहनामा डुंगा चढेर नेपालतिर आउँछन्। ढुंगाले साइकल र मोटरसाइकल पनि तार्छ।
डुंगा चलाउनमा जोखिम पनि छ। डुंगा डुब्ने र चिप्लिएर लड्ने घटना भएका छन्।
मोहना नदीसँग यसरी भिड्दै राजु र गंगालाल बुढ्यौलीतिर पुगे तर नदीको चाला उस्तै छ। पुल बन्ने हल्ला चल्छ तर बनेको छैन। राजुले घाटमा झुलुङे पुल बन्ने भयो भन्ने सुनेको धेरै वर्ष भयो।
अब राजु र गंगालाल डुंगाको काम छाड्न चाहन्छन् तर नदी वारपार गर्ने यति धेरै मानिस के गर्लान् भन्ने कुरा दिमागमा ठोक्किन आउँछ।
गंगालाल भन्छन्, ‘डुंगा चलाउँदा चलाउँदा बुढो भइयो। अब त सरकारले पुल बनाइदिए आराम मिल्थ्यो कि!’
अहिलेको बर्खायाममा पनि राजुको टिम दिनभरि मोहनामा डुंगा खियाउनमा व्यस्त छ। वारिपारिका बासिन्दाको बाध्यता उस्तै छ।राजुहरू कहिलेकाहीँ बाध्यतामा परेर बाढीमै पनि डुंगा चलाउँछन्। बिरामी परेका मान्छेलाई नतारी नहुने अवस्था आइलाग्छ।
‘यो काम पनि पेलेन (हवाईजहाज) चलाउनु जस्तै हो। पानीमा पसेपछि पारि पुग्नै पर्छ,’ गंगाल भन्छन्, ‘हाम्रो अनुभव छ। बाढीमै पनि पार लगाउँछौँ। मानिसहरू हाम्रो विश्वास गर्छन्।’
डुंगा चढेको भाडा कम्तीमा १० रुपैयाँ छ। योभन्दा बढी सय रुपैँयासम्म पनि लिन्छन्। आफ्नो गाउँका मान्छेसँग भाडा लिँदैनन्। छ जनालाई दैनिक चारसय रुपैयाँसम्म भाग लाग्ने गरेको राजुले बताए।
ठूलो बाढीमा कमाइ ठप्प हुन्छ। यस्तोमा स्कुले बालबालिका र बिरामी बढी मर्कामा पर्छन्। उनीहरू हिउँदमा काठे पुल पनि हाल्दैछन् तर स्थानीय सरकारले कर लिन थालेको छ।
राजुका अनुसार पहिले कर लाग्दैनथ्यो। अहिले कर तिर्नु पर्छ। एक वर्षमा दस हजार रुपैयाँ बुझाएको उनले बताए।
डुंगा खियाउनुमा पानीको जोखिममात्रै छैन। थकान पनि उत्तिकै हुन्छ। राजु भन्छन्, ‘दिनभरि डुंगामा वारपार गर्दा धेरै थकाइ लाग्छ। बेलुका घरमा खाना खानेबित्तिकै झ्याम्म निद्रा लाग्छ।’
राजु, गंगाराम र खेमराजको बुढ्यौली देखेर त सरकारले पुल किन बनाउँदो हो र! स्कुले बालबालिका, बिरामी र स्थानीय बासिन्दाको हैरानी देखे धन्य हुन्थ्यो।