कूमार्फत् सत्ता हत्याएका म्यानमारका सैनिक शासकले देशमा ६ महिना संकटकाल थपेका छन्।
समाचार संस्था एएफपीले म्यानमारको सरकारी समाचार पत्रलाई उद्धृद गर्दै सैनिक शासक मिन आङ ह्लाइङले थप छ महिना संकटकाल लगाउन गरेको प्रस्तावलाई पारित गरिएको जनाएको छ।
जुन्ता सरकारको राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा परिषद्लको एक मतले ह्लाइङको प्रस्तावलाई पारित गरेको हो।
सन् २०२१ को फेब्रुअरीमा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सत्ता हत्याएका ह्लाइङले देशमा संकटकाल घोषणा गरेका थिए। सुरूमा एक वर्षका लागि भनिएको संकटकाल थप्दै लगेर २०२३ को अगस्टसम्म पुर्याइएको थियो। अहिले फेरि संकटकाल थपिएको हो।
सोही वर्ष भएको चुनावमा धाँधली भएको भन्दै सेनाले आफूले निष्पक्ष चुनाव गराउने भनेको थियो।
सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहित चुनावमा बहुमत ल्याएको उनको दलका धेरै नेताहरूलाई हिरासतमा लिएको थियो। सुकीलाई गैरकानुनी रूपमा वाकिटकी राखेकोजस्ता विभिन्न आरोपमा उनलाई थुप्रै वर्ष जेल सजाय सुनाइएको छ।
केही दिनअघि मात्रै जुन्ता सरकारले प्रजातन्त्रवादी चार जना नेताहरूलाई फासी दिएको थियो।
सैनिक शासकले अहिले चुनाव गर्न पनि सम्भव नभएको बताएका छन्। चुनाव हुनलाई देशमा स्थायित्व र शान्ति हुनुपर्ने उनको भनाइ छ।
अहिलेको चुनावी प्रणालीमा परिवर्तन गर्ने प्रस्ताव पनि उनले राखेको समाचारमा उल्लेख गरिएको छ।