अमेरिकाको प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे सरकारले सशक्त प्रतिवाद गर्न नसकेको भन्दै चिनियाँ नागरिकले सामाजिक सञ्जालमार्फत् सरकारको कडा आलोचना गरेका छन्।
वेइवो तथा वीच्याटमा चिनियाँका नागरिकहरूले सरकारविरूद्ध आक्रोश पोखेका हुन्। सरकारबाट आफूहरूले अपमान महशुस गरेको र ठगिएको कतिपयको टिप्पणी रहेको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
‘हाम्रो त इज्जत नै गयो। शक्ति नै छैन भने शक्ति भएको जस्तो किन गर्नु!’ वेइबोमा एक प्रयोगकर्ताले लेखेका छन्।
प्रतिवादमार्फत् इतिहास रचेको हेर्न घन्टौं प्रतीक्षा गरिरहेका नागरिकलाई सरकारले लज्जित बनाएको कतिपयले आक्रोश पोखेका छन्।
‘शक्तिशाली राष्ट्र हुनुको कस्तो विडम्बना!’ एक प्रयोगकर्ताले लेखेका छन्। कतिपयले चिनियाँ जनमुक्ति सेनालाई विश्वकपमा एकपटक मात्रै छनौट भएको चिनियाँ पुरूष फुटबल टोलीसँग तुलना गरेका छन्। पेलोसीले ताइवान छोडेपछि सैन्य अभ्यास देखाएकोमा आक्रोशित एक विच्याट प्रयोगकर्ताले लेखेका छन्,‘अब केही इन्धन बचाऔं, अचेल इन्धन धेरै महंगिएको छ। व्यर्थ खर्चिनुको काम छैन।’
कतिपयले सरकार घरेलु मामिलामा दादा र विदेश मामिलामा कायर देखिएको टिप्पणी गरेका छन्। एक वेइबो प्रयोगकर्ताले लेखेका छन्,‘घरेलु मामिलामा कडा, विदेश मामिलामा कायर। पूरै निराश छौं।’
चिनियाँ नागरिकले सामान्यत: सार्वजनिक रूपमा सरकारको आलोचना गर्दैनन्। तर ताइवान मामिलामा कठोर नदेखिएको भन्दै उनीहरूले सार्वजनिक रूपमै आक्रोश व्यक्त गरेका हुन।