आजकाल पोखराको फेवाफाँट गाढा हरियो देखिएको छ। अन्यत्रको धान मल नपाएर झोक्राएका बेला फेवाफाँटको धान लहलाउँदो भएको छ।
पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार सिमसार क्षेत्र भएकाले फेवाफाँट मलिलो छ। सिमसारमा पानीको अभाव हुँदैन। बिरुवाले आवश्यक सबै पदार्थ यथेष्ठ मात्रामा पाउँछन्।
फेवातालबाट मुहानतर्फ जाँदा देखिने हराभरा फाँटमा अमिल्दो दृश्य देखिन्छ।
त्यहाँ धान होइन, ढुंगा, गिटी, बालुवा फिजाइएको हुन्छ। लेकसाइडबाट पञ्चासे जान सिमसारको किनारै किनार बनाइएको मोटरबाटो जोडेर सिमसारमा ढुंगा, गिटी, बालुवा फिजाइको छ। नदी किनार र पहाड फोरेर सिमसारमा फिँजाइएका यस्ता निर्माण सामग्रीले कहीँ धानखेत अतिक्रमण गरेका छन् त कतै सिमसारका जलप्रवाह थुनिदिएका छन्।
स्थानीयवासीहरूका अनुसार सिमसार पुरेर व्यापारिक संरचना बनाउन रातारात काम भइरहेको छ।
पामे बजारनजिकै हर्पनखोला किनारमा सिमसार पुरेर प्लटिङ गरिएका घडेरी छन्। स्थानीयवासीका अनुसार प्लटिङ गर्दा बाटो बनाउनेदेखि बिजुलीका पोल राख्ने काम रातिराति भएको थियो।
हर्पनखोला किनारमा गरिएको प्लटिङमा ५.१ आनाका ६० वटा घडेरी तयार भएका छन्। जग्गा कारोबारीले एउटा घडेरीको मूल्य ६० लाख रुपैयाँ राखेका छन्। सामाजिक सञ्जालमा ‘बसोबासका लागि उपयुक्त, सम्पूर्ण मापदण्ड पूरा गरेको, प्राइम पर्यटकीय क्षेत्र बन्दै गरेको’ भन्ने आकर्षक विज्ञापन राखेका छन्।
अहिले लेकसाइडको व्यावसायिक चमक पामेतर्फ सर्दै गएको देखिन्छ। फेवाताल वरिपरि अतिक्रमण गर्दै पानीमाथि नै संरचना बनाएर सकिएपछि व्यवसाय पामेतर्फ अघि बढेको हो।
लेकसाइडबाट सेदी, खपौँदी र तालपारि अनदुमा समेत पानीमाथि संरचना बनाएर होटल र रेस्टुरेन्ट चलेका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार पामेतर्फ व्यवसाय चम्किँदै गएको देखेर पोखरा र काठमाडौंका व्यवसायीहरूबीच अहिले सिमसार क्षेत्रका जग्गा खरिद गर्ने होड चलेको छ।
‘सिमसार जति ठूलाठूला व्यापारीले किनिराखेका छन्,’ एक युवाले भने, ‘अब बिस्तारै पुर्छन् र संरचना बनाउँछन्। ठूला व्यापारीलाई सरकारले पनि केही गर्दैन।’
लेकसाइडमा पर्यटक हिँड्न बनाइएका ‘फूट ट्रेक’ समेत व्यवसायीले अतिक्रमण गरेर कुर्सी–टेबल राख्ने गरेका छन्। लेकसाइड बाहेक अन्यत्र त फेवाताल किनारमा हिँड्न पुग्ने जमिन पनि बाँकी छैन।
हेर्दाहेर्दै फेवातालको प्राकृतिक स्वरूप बिगारेको देखेर वन विज्ञान अध्ययन संस्थानअन्तर्गत वन क्याम्पस, पोखराका प्राध्यापक अर्जुन बास्तोला दुःखी छन्।
उनी भन्छन्, ‘फेवातालको अतिक्रमण लाजमर्दो छ, नेतृत्वमा बस्नेले कसरी हेरेका होलान्!’
सर्वोच्च अदालतले २०७४ वैशाख १६ गते परमादेश जारी गर्दै फेवातालको अतिक्रमण ६ महिनाभित्र हटाउन पोखरा महानगरलाई निर्देशन दिएको थियो।
आदेश आएको ५ वर्ष बितिसक्दा महानगरले अतिक्रमण हटाउने प्रयास गरेको छैन। उल्टै अतिक्रमणलाई टेवा दिएको छ।
२०७४ मा निर्वाचित भएका महानगरका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङ नेतृत्वमा गत चैतमा महानगरले तालको
किनाराको मापदण्ड करिब आधा घटाएर ६५ मिटरबाट ३५ मिटर बनाउने निर्णय ग¥यो।
उक्त निर्णयले अतिक्रमण गर्न उक्साएको संरक्षणकर्मी मनशान्त घिमिरेको भनाइ छ।
अहिले पनि सिमसार क्षेत्रमा भइरहेको अतिक्रमण हटाउन पोखरा महानगरले चासो नदिएको उनको गुनासो छ।
‘सिमसार क्षेत्रलाई कृषि क्षेत्र घोषणा गरे पनि हुन्छ नि,’ उनी भन्छन्, ‘यही गतिमा अतिक्रमण हुने हो भने केही वर्षमा फेवातालको अस्तित्व मेटिन्छ। यहाँको सिमसार पर्यावरणीय चक्र नष्ट हुन्छ।’
सिमसार विनाश हुँदा चरा र अन्य प्राणी मासिन्छन् र पर्यावरण सन्तुलनमा ठूलो असर पर्छ भन्ने कुरामा राज्यको ध्यान नपुगेको उनको आरोप छ।
सर्वोच्च अदालतले अतिक्रमण हटाउन र गलत तरिकाले व्यक्तिको नाममा दर्ता भएको फेवातालको १ हजार ६ सय रोपनीभन्दा बढी जमिनको दर्ता खारेज गरी तालको नाममा गर्न समेत परमादेश गरेको थियो।
यसतर्फ सरकारको ध्यान गएको छैन।
फेवातालको अध्ययन गर्न विश्वप्रकाश लामिछानेको नेतृत्वमा बनेको आयोगले र पुण्यप्रसाद पौडेल नेतृत्वको छानविन समितिले पनि १६ सय रोपनी भन्दा बढी जमिन ‘दूषित’ दर्ता गरेर व्यक्तिले हत्याएको उल्लेख गरेका छन्।
छानविनमा सार्वजनिक जमिनसमेत अतिक्रमण गरेर व्यवसाय चलाएको फेला परेको थियो। त्यस्तो अतिक्रमण हटाउन सिफारिस गरिएको भए पनि राज्यले वास्ता गरेको छैन।
पोखरा महानगरले सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएका संरचना हटाउन कुनै पहल गरेको छैन।
मेयर धनराज आचार्य आफू निर्वाचित भएर आएपछि सिमसार अतिक्रमण रोकेको दाबी गर्छन् तर पानीको वहाब नै छेक्ने गरी थुपारिएको ढुंगा, गिटी, बालुवा हटाउन सकेका छैनन्।
उनले पामेस्थित हर्पनखोला किनारमा गरिएको प्लटिङमा जग्गा खरिदबिक्री रोकेको बताए। जग्गा कारोबारीले भने पोखरा महानगरबाट अनुमति लिएर नै प्लटिङ गरेर बेचबिखन गरेको जिकिर गरेका छन्।
जग्गाधनी पानप्रसाद तिमिल्सिनाले भने, ‘हामीले महानगरबाट अनुमति लिएर मापदण्ड अनुसार नै प्लटिङ गरेका हौँ।’ उनका अनुसार ६० वटा घडेरीमा अब तीन वटा मात्र बिक्री हुन बाँकी छ।
फेवातालसहित पोखराका अन्य तालहरू संरक्षण गर्न विज्ञसँग सल्लाह–सुझाब लिएर काम थाल्ने मेयर आचार्यको भनाइ छ।
सिमसारका जग्गा अहिले बेचबिखन भए पनि पछि खारेज हुने उनले बताए।
‘हामीले रोकिराखेका छौँ, कसैले पनि नकिन्नुहोला,’ उनले भने, ‘किनबेच खारेज हुन्छ, बेलैमा सचेत हुनुहोला।’
मेयरले यसो भने पनि जग्गा संरक्षणका लागि देखिने गरी केही पनि काम भएको छैन।