नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिले नयाँ जिम्मेवारी पाएका छन्- मंसिरमा हुने चुनावका लागि सत्ता गठबन्धन दलबीच सिट बाँडफाँट गर्ने कार्यदलको संयोजक।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका ५ दल मिलेर जाने निर्णय गरेका छन्।
सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदललाई छिटो सिट बाँडफाँट गर्न भनिएको छ तर समयावधि तोकिएको छैन। सिटौला नेतृत्वको कार्यदलले भदौ पहिलो साताभित्र कुन दलले कति सिट पाउने मोटामोटी सहमति गर्ने बताएका छन्।
कार्यदलले टुंग्याउन नसकेका क्षेत्रका भने प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरूले नै सिट बाँडफाँटको टुंगो लगाउनेछन्।
सत्ता गठबन्धन र अरू नेताका लागि सिट सुनिश्चित गर्न मेहनत गरिरहेका सिटौला आफैँ भने झापा क्षेत्र नम्बर ३ मा सजिलोमा छैनन्। यो अप्ठ्यारो गठबन्धन दलभित्र उनको सिट असुरक्षित भएर हैन।
उनलाई यसपालि पनि चुनौती दिन मैदानमा उत्रिने छन्- राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन। र राष्ट्रिय राजनीतिमा देखिएको ध्रुवीकरणले सिटौलाविरूद्ध लिङ्देनलाई नेकपा एमालेले सघाउने परिस्थिति बन्दैछ।
लिङ्देनलाई हराएर सिटौलाले पाँच वर्ष अघिको बदला लिएलान् वा झापा क्षेत्र नम्बर ३ मा फेरि पाँच वर्ष अघिकै परिणाम दोहरिएला?
२०७४ को चुनावमा सिटौलाले ३१ हजार एक सय ५९ मत ल्याउँदा लिङ्देनले ४४ हजार छ सय १४ मतसहित बिजयी भएका थिए। त्यो बेला लिङदेनलाई एमाले र माओवादी केन्द्रको साथ थियो।
यसपालि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा गठबन्धनमा छन्। यो गठबन्धनबाट सिटौला साझा उम्मेदवार हुँदैछन्।
राप्रपा अध्यक्ष लिङ्देनलाई यसपालि एमालेले समर्थन गर्ने बलियो सम्भावना छ।
लिङ्देनलाई झापा क्षेत्र नम्बर ३ मा समर्थन गरेर झापाका अन्य क्षेत्रमा राप्रपाको भोट लिने रणनीतिमा एमाले छ।
झापा क्षेत्र नम्बर ५ मा आफ्नो जित सुनिश्चित गर्न एमाले अध्यक्ष केपी ओलीलाई पनि राप्रपाको मत आवश्यक पर्छ। त्यसकारण पनि एमालेले लिङ्देनलाई समर्थन गर्ने बलियो सम्भावना छ।
लिङ्देनलाई पनि चुनाव जित्न अरू कुनै दलसँग गठबन्धन गर्नैपर्ने हुन्छ। २०७४ सालको संसदीय निर्वाचन र यसपालिको स्थानीय निर्वाचनको परिणामले त्यही भन्छ।
झापा क्षेत्र नम्बर ३ मा गत स्थानीय चुनावमा कांग्रेसले २१ हजार सात सय ३५ मत ल्याएको थियो। दोस्रोमा एमालेले १७ हजार छ मत ल्याएको थियो। यहाँ लिङ्देनको दल राप्रपा भने तेस्रो शक्ति हो। राप्रपाले स्थानीय चुनावमा झन्डै एमालेकै जति मत ल्याएको छ, १६ हजार ९ सय २७ मत।
माओवादी केन्द्र, जसपा, लोसपालगायत दलले धेरै मत ल्याएका छैनन्। माओवादीले जम्मा चार हजार आठ सय ३५ मत ल्याएको थियो। जसपाले चार सय ७४ र लोसपाले दुई सय ८ मत मात्रै ल्याएका थिए। यहाँ नेकपा एकीकृत समाजवादीले जम्मा १२ मत ल्याएको देखिन्छ।
स्थानीय चुनावमा एमाले र राप्रपाले ल्याएको मत जोड्दा भने झापा ३ मा सिटौलालाई अप्ठेरो पर्ने देखिन्छ। एमाले र राप्रपाको मत जोड्दा ३३ हजार ९ सय ३३ पुग्छ। जबकी सत्ता गठबन्धनको मत जोड्दा २८ हजार हाराहारी देखिन्छ। यसरी सिटौला ५ हजार जति मत पछि देखिन्छन्। यो मत उनले व्यक्तिगत प्रभावको आधारमा तान्नुपर्ने हुन्छ।
सिटौला ०७४ को चुनाव हारेपछि धेरैजसो समय निर्वाचन क्षेत्रमै बिताइरहेका छन्। पार्टीका कुनै जिम्मेवारीमा हाल नरहेका उनी प्राय: झापातिरै हुन्छन्। उनी निकटले झापामा स्थानीय तह जितेका छन् भने कांग्रेसको प्रदेश नम्बर १ सभापतिसम्म जितेका छन्। कार्यकर्ता व्यवस्थापनमा सिटौला माहिर देखिन्छन्।
यसपालि पनि प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर ३ मा उठ्ने र जितेर आउने गरी तयारी गरिएको उनका स्वकीय सचिव किरण सिटौलाले बताए। ‘उहाँ धेरैजसो उतै (झापामै) बस्नुहुन्छ। जनताका सुख, दु:खमा साथ दिइरहनुभएको छ,’ उनले भने, ‘यसपालि जितेर आउने गरी तयारी छ।’
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देन झापा क्षेत्र नम्बर ३ मै प्रत्यक्षतर्फ चुनाव लड्ने बताए।
‘उहाँ झापा ३ बाटै चुनाव लड्ने हो,’ श्रेष्ठले भने, ‘एक्लै लड्ने कि अरू कुनै दलसँग गठबन्धन गर्ने अहिले नै कसैसँग संवाद भइसकेको छैन।’
पार्टी कार्यसम्पादन समिति बैठक छिट्टै गरिने र त्यसबाट गठबन्धनबारे निर्णय लिइने पनि उनले बताए। ‘तालमेल अस्वीकार गरिन्न,’ उनले भने, ‘कोसँग गठबन्धन गर्ने भन्ने कार्यसम्पादनमै छलफल र निर्णय हुन्छ।’