झापाको दमक नगरपालिकाका मेयर राम थापा केही दिनयता एउटा प्रश्नसँग निरन्तर जुधिरहेका छन्, ‘आउँदो चुनावमा कसलाई सहयोग गर्नुहुन्छ, एमालेलाई कि सत्ता गठबन्धनलाई?’
‘अचेल मलाई धेरै जनाले यही प्रश्न गर्नुहुन्छ,’ सेतोपाटीले पनि उही प्रश्न अघि सारेपछि थापाले भने ‘व्यक्तिगत कुरा गर्नुहुन्छ भने म त (सत्ता) गठबन्धनसँगै मिलेर अघि जान पाए हुन्थ्यो भन्नेमा छु। पार्टीले निर्णय गरिनसकेका कारण अहिले खुलेर बोल्ने अवस्थामा छैन।’
आफूलाई दमक नगरपालिकाको मेयर पदमा विजयी तुल्याउन सघाएका दलहरूसँगै मिलेर चुनावमा जान पाए सहज हुने उनको भनाइ छ।
दमकको मेयर बन्न उनलाई सघाएका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीलगायत दलहरूले आगामी मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेका छन्।
थापाको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने अहिलेसम्म एमालेसँग तालमेल गर्ने कि सत्ता गठबन्धनसँग भन्नेमा अनिर्णित छ।
दमक प्रतिनिधि सभाका लागि झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा पर्छ। यो एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो।
ओली यही क्षेत्रबाट उम्मेदवार हुने तयारीमा छन्। ओलीसँग प्रतिस्पर्धा गर्न सत्ता गठबन्धनबाट कांग्रेस नेताहरू विश्वदीप लिङदेन, खगेन्द्र अधिकारी, महिन्द्रा सुब्बा, सुरेश सुब्बा दाबेदार छन्।
विश्वदीप तिनै नेता हुन् जसले २०६४ को संविधान सभा निर्वाचनमा ओलीलाई हराएका थिए। विश्वदीप त्यसबेला तत्कालीन नेकपा माओवादीमा थिए। अहिले कांग्रेसमा रहेका उनी महामन्त्री विश्वप्रकाश शर्मा निकट मानिन्छन्।
माओवादी नेताहरू रञ्जित तामाङ, गगन पुरी, सुरेन्द्र बस्नेतलगायत पनि ओलीसँग प्रतिस्पर्धा गर्न इच्छुक देखिएका छन्।
यसअघिको प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धन हुँदा पनि राप्रपाको सहयोग लिएका ओली यतिबेला एक्लिएका छन्। उनी राप्रपालाई आफ्नो पक्षमा मनाउने प्रयासमा छन्।
ओलीको यो प्रयास सफल भयो भने मेयर थापा र स्थानीय चुनावमा पहिलो पटक विजेता बनेको दमक क्षेत्रको राप्रपा पंक्ति ‘अनिच्छापूर्वक’ एमालेलाई सघाउने अवस्थामा पुग्नेछन्।
राप्रपा प्रदेश १ का अध्यक्षसमेत रहेका मेयर थापाका अनुसार ‘राप्रपाको स्थानीय पंक्ति पनि सत्ता गठबन्धनसित मिलेर चुनावमा जाने’ पक्षमा छ।
‘साथीहरूको इच्छा पनि म त्यस्तै (सत्ता गठबन्नको पक्षमा) बुझ्छु,’ थापा भन्छन्, ‘पार्टी बैठकबाट निर्णय नआएसम्म ठ्याक्कै यही हो भन्न सकिन्न।’
एमाले-राप्रपा चुनावी तालमेलको सम्भावना बढ्नुमा ओलीको स्वार्थले मात्रै काम गरेको छैन। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि जित ग्यारेन्टीको खोजीमा छन्।
उनले गठबन्धनसँग कुरा नमिल्ने अनुमान गरेका छन्। यसर्थ उनी पनि एमालेको साथ पाउने प्रयासमा छन्। दुई अध्यक्षको स्वार्थ मिलेकै कारण एमाले–राप्रपा तालमेल बन्ने सम्भावना बढी छ।
लिङ्देनले २०७४ को निर्वाचनमा झापा-३ मा वाम गठबन्धनको साथ पाएर कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई हराएका थिए। फेरि पनि सत्ता गठबन्धनबाट सिटौला नै उम्मेदवार बन्ने निश्चित भएकाले पनि राप्रपाले अन्ततः एमालेसँगै तालमेल गर्ने सम्भावना बलियो छ।
राप्रपाका नेताहरू भने तालमेलका सबै सम्भावनाबारे खुला रहेको बताउँछन्।
‘हामी सबैसित तालमेलका लागि खुला छौं,’ अध्यक्ष लिङ्देनले सेतोपाटीसँग भने, ‘हेर्दै जाऔं, के हुन्छ।’
राप्रपाले निर्वाचन क्षेत्र हेरेर फरक-फरक तालमेल गर्न सक्ने सम्भावना रहेको उनले बताए।
‘कुरा मिलेन भने हामी एक्लै भए पनि चुनावमा जानेछौं,’ लिङ्देनले भने, ‘पार्टी निर्णय जे हुन्छ, त्यो कार्यान्वयनमा सबै लाग्नेछौं।’
दमकका मेयर थापा भने सत्ता गठबन्धनसँग तालमेल हुने अपेक्षामा छन्। ‘हेरौं न, अझै समय छ,’ उनले भने ‘अहिले धेरै अनुमान नगरौं।’
सत्ता गठबन्धनका दलहरूका लागि मात्रै होइन झापा-५ मा ओली विजयी हुन राप्रपाको साथ अनिवार्यजस्तै देखिन्छ। खास गरी गत स्थानीय निर्वाचनको नतिजाले यस्तो देखाएको छ।
बढेको मतदाता संख्या, स्थानीय निर्वाचनमा भएको तालमेल र त्यसले प्रभावमा पारेको मतसंख्यामा धेरै तलमाथि नभए स्थानीय चुनावको नतिजाले एउटा चित्र देखाउँछ।
झापा ५ मा ओलीको गृहनगर दमक, गौरादह नगरपालिका, कमल गाउँपालिका र गौरीगन्ज गाउँपालिका गरी चार स्थानीय तह पर्छन्।
यी चारमध्ये यसपटक एमालेले गौरादह नगरमा मात्रै प्रमुख पद जितेको छ। बाँकी तीनमा ‘ओलीविरोधी मोर्चा’ ले सफलता हासिल गरेको छ।
ओलीको क्षेत्रका चार वटै स्थानीय तहमा कांग्रेस, माओवादी, राप्रपा, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रमुखका उम्मेदवारहरू र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका उम्मेदवारले पाएको कुल मत एमालेभन्दा धेरै बढी थियो।
प्रदेश १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च पनि सत्ता गठबन्धनमै सामेल छ।
स्थानीय, प्रदेश र संघको गठबन्धनले निरन्तरता पाए ओलीको चुनावी यात्रा निकै असहज हुन सक्नेछ।
झापा ५ मा एमालेका सबै स्थानीय तहका प्रमुखले पाएको जम्मा मत ४२ हजार ७९८ छ। एमाले इतरका दलका प्रमुखहरूले पाएको मत ५५ हजार ७८८ छ।
यो क्षेत्रका वडाध्यक्ष उम्मेदवारहरूले पाएको मतमा भने एमाले बलियो देखिन्छ। यहाँका सबै वडामा एमाले अध्यक्षहरूले पाएको कुल मत ४५ हजार ४९५ छ। कांग्रेसका वडाध्यक्षहरूले २४ हजार ९७९ र माओवादीकाले १२ हजार ४४४ पाएका छन्।
गठबन्धनको अर्को दल एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारहरूले पाएको मत १ हजार ९९१ छ। प्रदेशमा सत्ता गठबन्धनमै रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले १ हजार ७५४ मत पाएको छ।
राप्रपाका वडाध्यक्ष उम्मेदवारहरूले ८ हजार ७७४ मत पाएका थिए। सिके राउतको दल जनमत पार्टीले ६७६ र स्वतन्त्र उम्मेदवारहरूले २ हजार ३१७ मत पाएका थिए।
वडाध्यक्षहरूको मतलाई आधार मान्ने हो भने सत्ता गठबन्धनका दलहरूलाई ओली हराउन राप्रपाको साथ चाहिनेछ। कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूसँग जम्मा ३९ हजार ४१४ मत मात्रै छ।
यो गठबन्धनमा राप्रपा थपिने हो भने मात्रै एमालेको भन्दा बढी मत हुन्छ। यस अवस्थामा एमालेको विपक्षमा ४९ हजार ९४२ मत हुन्छ।
गठबन्धनले जित हात पार्न कम्तीमा राप्रपालाई एमालेको साथमा लाग्न नदिने उपाय खोज्नुपर्नेछ। त्यसो हुँदा पनि एमाले हराउन पुग्दो मत गठबन्धनसँग हुने छैन।
गठबन्धनमा सामेल जसपाले उम्मेदवारी नदिएका कारण उसको मतको हिसाब यसमा परेको छैन।
राप्रपा र सत्ता गठबन्धनको सहयात्रा कठिन देखिन्छ। यही सम्भावनाका कारण एमाले आशावादी देखिएको छ।
‘अध्यक्षज्यू (ओली) सँग चुनाव लड्न गठबन्धनमा कोही मान्छे नै देखिन्न,’ एमाले नेता होम थापा भन्छन्, ‘एमालेलाई यहाँ कुनै कठिनाइ छैन।’
२०७४ मा वामगठबन्धन हुँदा झापा ३ राप्रपालाई दिएर ओलीले आफ्नो क्षेत्र सुरक्षित गरेका थिए। ओली ५७ हजार १३९ मत प्राप्त गरी विजयी भए। कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मात्र पाए।
ओलीले पाएको मत एमाले, माओवादी र राप्रपाको सगोलको थियो। यसपटक त्यो सगोलको मत ओलीलाई नजाने गठबन्धनका दलहरूको आशा छ।
‘ओलीले विगतमा गरेका सबै काम जनताले देखे–भोगेका छन्,’ कांग्रेस नेता ढुण्डीराज भण्डारी भन्छन्, ‘त्यसैले यसपटक पुरानो नतिजा दोहोरिने छैन।’