चुनाव नजिकिएसँगै नेपाली कांग्रेसभित्र टिकटलाई लिएर रस्साकस्सी सुरू भएको छ।
लोकप्रिय व्यक्तिलाई चुनावमा उठाउनु पर्ने आवाज जहिले पनि सुनिने कांग्रेसभित्र यसपालि भने ५० वर्ष मुनिकालाई टिकट दिन दबाब छ।
कांग्रेसले उम्मेदवारी दिने सिटमध्ये ५० प्रतिशत युवालाई दिइनुपर्ने माग उठेको छ। कांग्रेसभित्र प्राय: शीर्ष नेता ७० वर्ष हाराहारीका छन्।
मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा युवालाई उम्मेदवार बनाउन माग उठेको हो।
कांग्रेसले सत्ता गठबन्धनका ५ दलसँग मिलेर चुनावमा जाने निर्णय गरेको छ। यसो हुँदा कांग्रेसले १६५ प्रतिनिधि सभा क्षेत्रमध्ये बढीमा एक सय निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन सक्छ।
प्रदेशमा प्रत्यक्षतर्फ ३३० क्षेत्र छ। यी क्षेत्रमा कांग्रेसबाट उम्मेदवारी दिँदा युवालाई ५० प्रतिशत सिट दिन माग छ।
युवालाई चुनावमा उठाउन नेविसंघ अध्यक्ष दुजाङ शेर्पा नै अभियान गर्दैछन्। उनले शनिबार एक सार्वजनिक कार्यक्रमबाटै भने- हामी झुक्दैनौं, टिकट वितरणमा युवालाई हिस्सा दिनुपर्छ।
आयोन नामक संस्थाले गरेको कार्यक्रममा शेर्पाले युवाहरूले सहभागितामात्र नभएर प्रतिनिधित्व खोजिरहेको बताएका थिए।
‘हामी युवाले चाहेको भनेको प्रतिनिधित्व हो, पार्टनरसिप हो,’ दुजाङले भने, ‘अब हामीलाई सहभागिता मात्रै भएर पुग्दैन, पार्टनरसिप चाहिन्छ।’
उनले अब हुने चुनावमा प्रदेश र प्रतिनिधि सभातर्फ ४० वर्ष उमेरमुनिकालाई ५० प्रतिशत टिकट दिइनुपर्ने बताए।
‘अब ४० वर्ष मुनिकालाई ५० प्रतिशत हिस्सेदारी दिनुपर्छ, यो नेताहरूलाई चेतावनी पनि हो,’ शेर्पाले भने, ‘हामी झुक्दैनौं, यो चुनावमा ५० प्रतिशत पार्टनरसिप चाहिन्छ-चाहिन्छ-चाहिन्छ।’
उनले कांग्रेसमा मात्र नभएर अन्य दलमा रहेका युवाहरूले पनि टिकटमा हस्तक्षेपकारी भूमिका खेल्दै हिस्सा खोज्नुपर्ने बताएका छन्।
शेर्पाका कुरा सुनेपछि उक्त कार्यक्रममा बोलेका उद्योग मन्त्रीसमेत रहेका कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले युवाहरूलाई भूमिका दिनुपर्ने बताए। ‘युवाहरूको समय आएको छ। युवालाई भूमिका पनि चाहिएको छ,’ बडूले भने।
स्थानीय चुनावमा युवाहरू स्वतन्त्र उम्मेदवार हुँदा जितेको भन्दै कांग्रेसभित्र युवालाई चुनावमा अघि बढाउन दबाब छ।
कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले टिकट वितरणमा ५० प्रतिशत हिस्सा युवालाई दिइनुपर्ने बताए।
‘५० वर्ष उमेर मुनिकालाई ५० प्रतिशत टिकट अनिवार्य रूपमा दिनुपर्छ भन्ने युवाहरूको माग छ,’ तरूण दलका पूर्वमहामन्त्री समेत रहेका शाहीले भने, ‘पार्टीमा युवा आकर्षण बढाउन र युवाहरूको आशा, विश्वास र भरोसा बढाउन पनि ५० प्रतिशत टिकट युवालाई दिनुपर्छ।’
शाहीले ५० प्रतिशत टिकट माग गर्नुपर्नाका केही कारण पनि दिए।
उनका अनुसार पार्टीमा युवाको सहभागिता बढाउनु पर्नेछ। साथै परिवर्तनको सन्देश दिनुपर्ने, युवा मतदाताको आकर्षण बढाउनु पर्ने, राजनीतिमा देखिएका चुनौती सामना गर्न र युवा शक्ति देश निर्माणमा लगाउन टिकटमार्फत् सक्रिय बनाउन सकिन्छ।
‘युवालाई पार्टीभित्र भूमिका दिँदा पार्टी बलियो र गतिशील हुन्छ। निर्वाचनमा कांग्रेस एक्लैले बहुमत प्राप्त गर्न पनि सक्छ,’ उनले भने।
कांग्रेसभित्र युवालाई भूमिका दिनुपर्नेमा केन्द्रीय सदस्य नैनसिंह महर पनि छन्। उनले प्राय: केन्द्रीय समिति बैठकमै युवालाई पार्टीले भूमिका दिन नसकेकोमा आलोचना गर्ने गरेका छन्।
उनले युवालाई पार्टीले टिकट दिनुपर्ने बताएका छन्।
‘राजनीतिमा युवाको उपस्थिति आवश्यक छ। कांग्रेसले मात्र होइन सबै दलले अबको चुनावमा ७० प्रतिशतभन्दा बढी युवालाई उम्मेदवार बनाउनुपर्छ,’ उनले भने, ‘गत वैशाखको स्थानीय चुनावमा २१ देखि ४० वर्ष उमेर समूहका ४१.१४ प्रतिशत युवा निर्वाचित भए। यो सुखद पक्ष हो। अबको चुनावमा पनि युवाको सम्मानजनक उपस्थिति हुनुपर्छ।’
उनले भिजनसहित युवालाई देशले खोजिरहेको बताए।