अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले सिर्जना गरेको चीन–अमेरिका तनाव सेलाउन नपाउँदै अमेरिकी सांसदहरूको नयाँ प्रतिनिधिमण्डल ताइवानको भ्रमणमा आएको छ।
पेलोसीको भ्रमणपछि चीनले ताइवान स्ट्रेटमा ठूलो सैन्य अभ्यास सुरु गरेको थियो यसको दुई साता नबित्दै अमेरिकी सांसदहरूको नयाँ प्रतिनिधिमण्डलले ताइवानको भ्रमणमा आएको हो।
म्यासाचुसेट्सका सिनेटर मार्कीको नेतृत्वमा अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल दुई दिने भ्रमणको लागि आइतवार राति ताइवान पुगेको हो। त्यहाँ उनीहरूले राष्ट्रपति साइ इङ्ग-वेनसहित उच्च ताइवानी नेतालाई भेट्ने कार्यक्रम रहेको छ।
प्रतिनिधिमण्डलले ताइवानका वरिष्ठ नेतासँग अमेरिका–ताइवान सम्बन्ध, क्षेत्रीय सुरक्षा, व्यापार र लगानी, विश्वव्यापी आपूर्ति शृङ्खला, जलवायु परिवर्तन र पारस्परिक हितका अन्य महत्वपूर्ण विषयमा छलफल गर्ने बताइएको छ।
ताइपेईमा रहेको अमेरिकी दूतावासका अनुसार अमेरिकी प्रतिनिधिमण्डलले आज बिहान ताइवानको राष्ट्रपति कार्यालयमा राष्ट्रपति साईसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
चीनको निरन्तर सैन्य चेतावनीबीच ताइवानले आइतबार नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको संयुक्त रूपमा संरक्षण गर्न र ताइवान स्ट्रेटमा सुरक्षाको रक्षा गर्न भारतलगायत सबै समान विचार भएका राष्ट्रहरूसँग घनिष्ठ समन्वय कायम राख्दै आफ्नो आत्मरक्षा क्षमतालाई निरन्तर बढाउने बताएको छ।
अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको अगस्टको सुरूमा ताइपेईको भ्रमण पछि टापु वरिपरि सैन्य अभ्यास गरेको थियो।