विवेकशील साझा पार्टीले कारबाही गरेका तत्कालीन संयोजक मिलन पाण्डेलगायत नेताहरूले वैकल्पिक राजनीतिक शक्ति निर्माण अभियानलाई पुन: अगाडि बढाउने भएका छन्।
विवेकशील साझालाई वैकल्पिक राजनीतिक शक्ति बनाउन नसकिएको निष्कर्षसहित उनीहरूले नयाँ राजनीतिक शक्ति निर्माणको गृहकार्य गर्दैछन्।
विवेकशील साझाले आइतबार केन्द्रीय समिति बैठक गर्दै पार्टी अध्यक्ष रवीन्द्र मिश्रले दिएको राजीनामा स्वीकृत गरेर समीक्षा बाँस्कोटालाई नयाँ अध्यक्ष बनाएको छ।
संयोजकमा सञ्जिववल्लभ भट्टराई चयन भएका छन्। गत वैशाखमा भएको स्थानीय चुनावको परिणाम अपेक्षाकृत नआएपछि अध्यक्षबाट मिश्रले राजीनामा दिएका थिए।
मिश्रले राजीनामा दिँदा पाण्डेसहित नेताहरूमाथि गरेको कारबाही फुकुवा गर्न केन्द्रीय समितिलाई आग्रह गरेका थिए। तर आइतबारको केन्द्रीय समितिमा पाण्डेहरूमाथि गरिएको कारबाही फुकुवा गर्ने विषय नै उठेन।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने, नयाँ अध्यक्ष र संयोजक चयन गर्ने विषयमात्रै छलफल भएका थिए। पार्टीले अंगिकार गर्ने विचार, सिद्धान्तबारे पनि ‘पछि छलफल गर्ने’ भन्दै थाती राखिएको थियो।
यद्यपी विवेकशील साझाले नयाँ अध्यक्ष र संयोजकलाई बधाई दिँदा ‘विचारभन्दा माथि देश’ लेखेको छैन, ‘विवेकशील साझा नयाँ नेतृत्व, साझा संकल्प’ लेखिएको छ।
मिश्र अध्यक्ष हुँदा ‘विचारभन्दा माथि देश’ सिद्धान्त विवेकशील साझाले अंगिकार गरेको थियो। यो विचारमा तत्कालीन संयोजक पाण्डेलगायत उनी पक्षका नेता सहमत थिएनन्। त्यसै कारणले पाण्डेसहित २६ केन्द्रीय सदस्यलाई मिश्र पक्षले कारबाही गरेको थियो।
विवेकशील साझाकी अध्यक्ष बाँस्कोटाले आफू अहिलेको संविधानसँग सहमत भएको बताएकी छन्। ‘म अहिलेको संविधानसँग पूर्णत: सहमत छु। अहिले हामीले व्यवस्थाभन्दा पनि जनतालाई सेवा प्रवाहको एजेन्डालाई उठाउनु पर्छ,’ उनले सोमबार सेतोपाटीसँग भनिन्।
बाँस्कोटाका अनुसार मिश्रले राजसंस्थाबारे अध्यक्षबाट राजीनामा दिएपछि कुरा उठाउन थालेका हुन्।
‘रवीन्द्रजीले राजसंस्थाबारे जे मुद्दा उठाउनुभएको थियो। त्यो अध्यक्षबाट राजीनामा दिएपछि उठाउनु भएको हो। विवेकशील साझाको तत्कालीन केन्द्रीय समितिले उहाँको ‘विचार भन्दामाथि देश’ भन्ने दस्तावेज (पहिलो संस्करण भनौं न) त्यो पारित गरेको हो। पछि त उहाँले त्यसको दोस्रो संस्करण पनि ल्याउनु भएको छ। राजाको विचार रवीन्द्रजीले बोकेको व्यक्तिगत विचार हो, पार्टीको विचार होइन,’ उनले भनिन्।
विवेकशील साझामा तीन समूह थियो- मिश्र, मिलन र निर्देश सिलवाल पक्ष। मिश्र र निर्देश पक्ष मिलेर अहिले विवेकशील साझा अगाडि बढाउँदै छन्। निर्देश पहिले पाण्डेहरूसँगै थिए। अहिले निर्देश पक्षका सञ्जीववल्लभलाई संयोजक बनाइएको छ।
विवेकशील साझाभित्र पार्टीले लने विचारमा फरक मत देखिएका तत्कालीन अध्यक्ष मिश्र र संयोजक पाण्डे अब पार्टी नेतृत्व तहबाट छुटेका छन्। मिश्र र पाण्डे आगामी चुनावमा काठमाडौंबाट उम्मेदवार हुँदैछन्। सम्भवत: उनीहरूले स्वतन्त्र उम्मेदवारी दिनेछन्।
विवेकशील साझाले नयाँ अध्यक्ष र संयोजक चयन गरिसकेपछि पाण्डेलगायत उनी पक्षका नेता थप सक्रिय भएका छन्। उनीहरूले वैकल्पिक राजनीतिलाई नयाँ ढंगले अगाडि बढाउन खोजेका छन्।
पाण्डेले मंगलबार बिहान डम्बर खतिवडासहित नेताहरूसँग छलफल गरेको तस्बिर सार्वजनिक गर्दै ‘वैकल्पिक राजनीतिको सफलता र असफलताका अनुभवहरूको आदानप्रदान’ लेखेका छन्। उक्त तस्बिरमा केशव दाहाललगायत नेता पनि छन्।
भट्टराईले हालै नेपाल समाजवादी पार्टी गठन गरेपछि खतिवडा उक्त पार्टीमा गएनन्। उनले भट्टराईको पार्टी मंसिरसम्म मात्रै अस्तित्वमा रहने दाबी गरिरहेका छन्।
खतिवडाले नयाँ शक्ति निर्माणदेखि नै भट्टराईलाई साथ दिँदै आएका थिए। नयाँ शक्तिलाई त्यसबेला वैकल्पिक शक्तिका रूपमा व्याख्या गरिन्थ्यो। विवेकशील साझा र नयाँ शक्तिमा काम गरेका नेताहरूले आफ्ना अनुभव सोमबार भक्तपुरमा एकअर्कालाई सुनाएका थिए।
उक्त छलफलमा सहभागी पाण्डेनिकट नेता हरिशप्रसाद भट्टका अनुसार वैकल्पिक राजनीतिक शक्ति निर्माणमा विगतका अनुभवबारे सामान्य छलफल गरिएको हो।
उनले मंसिरमा हुने चुनावपछि मात्रै नयाँ पार्टी गठन गरेर जान सकिने बताएका छन्। चुनावमा भने स्वतन्त्र ढंगबाट उम्मेदवारी दिने तयारी रहेको उनी बताउँछन्।
अहिले पाण्डेसहित नेता विवेकशील साझामा छन् कि छैनन् नै पत्तो छैन।
नौ महिनापछि गत असार १५ गते बखुन्डोलस्थित कार्यालयमा मिलन पुगेका थिए। मिश्रसँग पार्टीले लिने विचारबारे मत फरक परेपछि उनी कार्यालय जानै छाडेका थिए। उनलाई २०७८ पुस ६ मा बसेको कार्यसम्पादन समिति बैठकले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।
मिश्रले अध्यक्षबाट राजीनामा दिएको केही समयपछि पाण्डे दहीच्युरा खाने कार्यक्रममा पार्टी कार्यालय पुगेका थिए।
२०७८ फागुन १९ मा पाण्डे पक्षका २६ केन्द्रीय सदस्यको जिम्मेवारी खोसिएको थियो। उनीहरू पनि कार्यालय गएका छैनन्, पार्टीका बैठकमा सहभागी छैनन्।
भट्टले पनि आफूहरू कानूनी रूपमा विवेकशील साझामा भए पनि व्यवहारिक रूपमा नरहेको जस्तो देखिएको बताए।
‘हामी त्यो पार्टीमा छौं कि छैनौं नै थाहा भएन। कानूनी रूपमा निर्वाचन आयोगमा छ होला, मिलनजीको कारबाही पनि फिर्ता भएन,’ उनले भने, ‘मलगायत साथीहरूलाई पनि कारबाही गरिएको थियो। तर अहिले हस्ताक्षर पुगेन भनेर फोन पनि गर्दैछन्! यही स्वरूपको पार्टीलाई अब हामीले अगाडि लैजान सक्ने अवस्था कम छ।’
पाण्डेसहित उनी पक्षका नेताहरू मंसिरमा चुनाव लड्दैछन्।
पाण्डे काठमाडौं क्षेत्र नम्बर ९ मा चुनाव लड्दैछन्। उनी २०७४ मा पनि सोही क्षेत्रमा उम्मेदवार बनेका थिए। यस्तै बिराजभक्त श्रेष्ठ काठमाडौं ८ बाट, पुकार बम काठमाडौं १ बाट उम्मेदवारी दिने तयारीमा छन्।
अहिले पाण्डेसँग रहेका र विगतमा सँगै काम गरेकाहरूले स्वतन्त्र उम्मेदवारी दिने गरी उनीहरूले तयारी गरिरहेका छन्। सम्भावना भएका युवालाई सकेसम्म काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उठाउने र सहयोग गर्ने उनले बताए।
उनीहरूले सकेसम्म एकै चुनाव चिन्ह लिने बताएका छन्।
‘अहिले चुनावमै केन्द्रित हुन्छौं, नजिता जे-जस्तो आउला हामी चुनाव उठ्छौं। पार्टी बनाउने विगतका प्रयास लगभग असफल नै भयो,’ भट्टले भने, ‘चुनावपछि डम्बरजीहरू लगायत वैकल्पिक राजनीति भनेर सुरूदेखि लागेका साथीहरू संगठित हुने र पार्टी पुनर्गठनका काम सुरू हुन्छ।’
खतिवडाले आजै ट्विट गर्दै बाबुराम भट्टराई र उपेन्द्र यादवसँगको सहकार्यबाट अलग भएको बताएका छन्।
‘करिब ८ वर्षकाे सहकार्यका लागि बाबुराम भट्टराई र साथै करिब ३ वर्षकाे सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरूकाे टिमप्रति आभारी छु। आजबाट जसपा-नेसपा लफडाबाट पूर्णत: मुक्त छु। नेसपा-माओवादी एउटै चिन्ह हँसिया हतौडाबाट चुनाव लड्न निर्णयपछि अब म नेसपाकाे साधारण सदस्य पनि रहिनँ,’ उनले भनेका छन्।
बाबुराम माओवादीको चुनाव चिन्ह लिएर माओवादीमै फर्किन लागेपछि पाण्डेसहितले वैकल्पिक राजनीतिमा विगतमा जोडिएका नेताहरूसँग परामर्श गरिरहेका छन्।
‘पार्टी बनाउने कुरा जटिल रहेछ, यो विस्तारै अघि बढाउँला,’ भट्टले भने, ‘वैकल्पिक राजनीतिमा जोडिएका साथीहरू संगठित हुनुपर्छ भनेर लागेका छौं।’
सोमबारको परामर्शपछि उनीहरूले 'पार्टीविहीनहरूको फोटो खिचौं न' भन्दै फोटो लिएका थिए। उनीहरू पुन: छलफलमा जुट्ने तयारीमा छन्।