काठमाडौंको बत्तिसपुतलीमा बुधबार बिहान नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो।
पार्टीबाट उम्मेदवार भई गत वैशाखको स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई नेता शेखर कोइरालाले चियापानमा बोलाएका हुन्।
कोइरालाको निम्तोमा जिल्ला समन्वय समितिका ३४ प्रमुख, २३ उपप्रमुख, १४१ मेयर, ११० उपमेयर, १८८ अध्यक्ष र १९० उपाध्यक्ष बत्तिसपुतलीस्थित अनुपम फुडल्याडको आँगनमा जुटेका थिए।
कोइरालाले राखेको भेलामा सभापति शेरबहादुर देउवानिकट पदाधिकारीहरू र केन्द्रीय सदस्यहरू पनि पुगेका थिए।
पूर्वउपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्रीद्वय महालक्ष्मी उपाध्याय डिना, केन्द्रीय सदस्यद्वय रामहरि खतिवडा, अमृत अर्याल, नैनसिंह महर, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायत नेता कोइरालाले राखेको चियापानमा पुगेका हुन्।
नेता शेखरसहित उपसभापति धनराज गुरूङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरू रामशरण महत, बलबहादुर केसी, चन्द्र भण्डारी, कमला पन्त, प्रकाश स्नेही, गण्डकी कांग्रेस सभापति शुक्रराज शर्मा, लुम्बिनी सभापति अमरसिंह पुन, नेता गुरू घिमिरे, भूपेन्द्रजंग शाही, जगदीश्वरनरसिंह केसी, राजेन्द्र बजगाईंलगायत पनि चियापानमा सहभागी थिए।
जनप्रतिनिधि र केन्द्रीय सदस्यहरू उपस्थित कार्यक्रममा कोइरालाले सम्बोधन भने गरेनन्। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले काठमाडौंमा रहेका देशैभरका जनप्रतिनिधिलाई चियापान गरिएको जानकारी दिए।
जनप्रतिनिधि र केन्द्रीय नेताहरू उपस्थित उक्त चियापान आगामी प्रतिनिधि सभा र प्रदेश सभा चुनाव केन्द्रित थियो। नेता तथा कार्यकर्ताहरू गठबन्धनबाट चुनाव लड्दा कसले कहाँ टिकट लिनेजस्ता कुरा गरिरहेका थिए।
उनीहरूले गत स्थानीय चुनावको मतलाई मुख्य आधार बनाएर सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको विषय टुंग्याउनुपर्ने बताएका थिए। कांग्रेसले गत साउन २० मा सत्ता गठबन्धनका ५ दलसँग आगामी चुनावमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेको थियो।
जनप्रतिनिधिहरू र केन्द्रीय नेताहरू जेरी-पुरी र चिया खाएर निस्किएका थिए।
हेर्नुस् तस्बिरहरू: