अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा शक्तिशाली विस्फोट भएको छ। विस्फोटमा परी कम्तिमा चार जनाको ज्यान जानुका साथै दर्जन बढी घाइते भएको बिबिसीले जनाएको छ।
बुधबार साँझको प्रार्थनाका क्रममा विस्फोट भएको हो।
तालिबान प्रहरी प्रवक्ता खालिद जाद्रानलाई उद्धृत गर्दै स्थानीय मिडियाले विस्फोट सहरको उत्तर-पश्चिम क्षेत्रमा भएको बताएका छन्।
यस्तै एक तालिबान गुप्तचर अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार विस्फोटमा अहिलेसम्म कम्तिमा ३५ जना घाइते भएका छन् वा मारिएका छन्। यो संख्या बढ्ने अनुमान गरिएको छ।
प्रत्यक्षदर्शीका अनुसार विस्फोट यति शक्तिशाली थियो कि नजिकैका भवनका झ्यालका सिसासमेत फुटेका थिए ।
इस्लामिक धर्मगुरू अमिर मोहम्मद काबुलीको तस्बिर सामाजिक सञ्जालमा फैलिएको छ र विस्फोटमा उनको मृत्यु भएको दाबी गरिएको छ। यद्यपि घटनाको पुष्टि हुन नसकेको एएफपीले जनाएको छ।
घटनाको जिम्मा अहिलेसम्म कसैले लिएको छैन।