शनिबार निधन भएका नेपाली कांग्रेसका नेता एवं प्रतनिधि सभा सदस्य प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन अहिले नेताहरू ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुगेका छन्।
अर्थमन्त्री जनार्दन शर्मा, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, शेखर कोइरालासहित कांग्रेसका नेताहरू मेडिसिटी पुगेका छन्। मेडिसिटी गिरिप्रति श्रद्धाञ्जली दिन पुगेकाहरूका लागि श्रद्धाञ्जली पुस्तिका पनि राखिएको छ।
कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा आज बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ।
त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।
प्रतिनिधि सभा सदस्यसमेत रहेका गिरि लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए।
समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए।
घाँटीको क्यान्सर भएपछि भारत गएर शल्यक्रिया गरेका गिरि गत साउन ९ गते मेडिसिटी अस्पताल भर्ना भएका थिए। उनलाई निमोनियाले च्याप्नुका साथै शरीरका धेरै अंगले काम गर्न छाडेका थियो।