यतिखेर पोखराका मेयर धनराज आचार्य देशविदेशका सहरले गरिरहेको फोहोर व्यवस्थापनका आधुनिक नमूना हेर्न दौडिरहेका छन्। साउन अन्तिम साता धरान पुगेका मेयर धनराज अब भारतका राजधानी दिल्ली सहितका सहर जाँदैछन्।
त्यहाँका फोहोर व्यवस्थापनका नमूना हेरेर पोखराबारे निर्णय लिने बताएका छन्।
‘पोखराको फोहोर व्यवस्थापन अहिलेका लागि हाम्रो पहिलो प्राथमिकता हो,’ उनी भन्छन्, ‘नेपाल र अन्य देशका फोहोर व्यवस्थापनको मोडल हेरेर पोखराको फोहोर व्यवस्थापन आधुनिक ढंगले गरिन्छ।’
फोहोर व्यवस्थापनका मोडल हेर्न निस्कनुअघि पोखरा र काठमाडौंमा विभिन्न कम्पनी एवं संस्थाले फोहोर व्यवस्थापनका नमूना उनलाई देखाइसकेका छन्।
पोखराको फोहोर व्यवस्थापन गर्न १० वटा बढी कम्पनी एवं संस्थाले फोहोरबाट मोहर कमाउने उपाय सुझाएको महानगरले जनाएको छ।
ती कम्पनीहरूले कुहिने फोहोरबाट मल, ग्यास, बिजुली निकाल्ने र नकुहिने फोहोरमध्ये केही पुन: प्रयोगमा पठाउने केहीलाई टायल लगायतका वस्तु उत्पादन गर्न सकिने सुझाएका थिए।
मेयर आचार्य यी कुरामा विश्वस्त भए पनि कसरी छिटो टुंगाउनेमा आफ्नो अर्जुनदृष्टि रहेको बताउँछन्।
अहिले महानगरबाट उत्पादित फोहोर बाच्छेबडुवा ल्याण्डफिल साइटमा फालिँदै आएको छ। उक्त ठाउँबाट ल्याण्डफिल साइट हटाउन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले तीन वर्षदेखि दबाब दिँदै आएको छ।
विमानस्थलको रनवेको पश्चिमतर्फ रहेको ल्याण्डफिल साइटमा आउने चराले विमानस्थल सञ्चालनमा अवरोध पुर्याउने भन्दै उसले त्यहाँबाट हटाउन दबाब दिएको हो।
प्राविधिकहरू पनि ल्याण्डफिल साइटमा आउने चराले जहाजलाई अवरोध गर्ने बताउँछन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान अंग्रेजी नयाँ वर्षका अवसरमा पुस १७ गतेदेखि थाल्ने निर्णय गरिसकेको छ। त्यतिबेलासम्म ल्याण्डफिल साइट सार्ने मात्र होइन, त्यहाँ आउने चराको आनीबानी परिवर्तन हुन जरूरी रहेको विमानस्थल प्रमुख विनेश मुनकर्मीले बताए।
‘ल्याण्डफिल साइटमा खानेकुरा खोज्न आउने चरा विमानस्थलको एयर स्पेसमा उड्छ, यसले सुरक्षा खतरा निम्त्याएको छ,’ मुनकर्मी भन्छन्, ‘अहिलेको ल्याण्डफिल साइटमा चरा आउन छाड्ने गरी छिटो भन्दा छिटो ल्याण्डफिल साइट परिवर्तन गर्नुपर्छ।’
विमानस्थल सञ्चालनको घोषित मितिसम्म चराको बानी परिवर्तन हुन नसक्ने चराविद्हरू बताउँछन्।
पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेका अनुसार अहिले ल्याण्डफिल साइडमा विभिन्न प्रजातिका गिद्धदेखि आप्रवासी चरासमेत घुमिरहेका छन्। फोहोरसँगै फालिएका खानेकुरा र सिनो खान गएका चरा अन्यत्र स्थानान्तरण हुन ६ महिनादेखि १ वर्ष लाग्ने बताउँछन्।
‘अहिले पनि बाच्छेबडुवामा फोहोर फाल्न रोकिएको छैन, तत्काल रोकियो भने पनि त्यहींँ बानी परेका चरा ६ महिनादेखि १ वर्षसम्म अन्यत्र जाँदैन,’ उनले भने, ‘विमानस्थल चलाउन ल्याडफिल साइट सार्न महानगरले निकै ढिलाइ गर्यो।’
मेयर धनराज तत्कालका लागि अस्थायी ल्याण्डफिल साइट बनाएर भए पनि फोहोर अन्यत्र फाल्ने योजना रहेको बताउँछन्।
चराको बानी पार्न खाना, सिनोलगायत अहिलेको ल्याण्डफिल साइटभन्दा टाढा फालेर चरालाई अन्यत्र आकर्षण गर्ने उनको योजना छ। तत्कालका लागि यसो गरिए पनि फोहोरको दीर्घकालीन व्यवस्थापन आधुनिक ढंगले गर्ने उनी बताउँछन्।
‘हाम्रो र नागरिक उड्डयन प्राधिकरणको मिसन एउटै हो, तोकिएकै मितिमा विमानस्थल सञ्चालन गराउँछौं,’ उनी भन्छन्, ‘कम्तीमा २ वर्षअघि नै ल्याण्डफिल साइट सार्नुपर्ने हो, त्यतिबेला सारिएन, भदौभित्र हामी सार्छौं।’
टिमुरपाटा उपयुक्त विकल्प
पोखराबाट अहिले दैनिक झण्डै २ सय टन फोहोर उत्पादन हुन्छ। महानगरबाट उत्पादित फोहोर विभिन्न ७ वटा कम्पनीले संकलन गरेर बाच्छेबडुवा ल्याण्डफिल साइट लगेर फाल्ने गरेको महानगरका सरसफाइ शाखा प्रमुख कल्पना बराल बताउँछिन्।
महानगरबाट उत्पादित फोहोर विभिन्न ६ वटा कम्पनीले उठाउँछन् भने एउटा कम्पनीले अस्पताल एवं स्वास्थ्य संस्थाहरूबाट उत्पादित फोहोर उठाउँछ। ल्याण्डफिल साइटमा महानगरले २ वटा जेसिभी स्काभेटर, एउटा ट्र्याक्टर, एउटा लोडर र ३ वटा टिपर सञ्चालन गरेको छ। महानगरका फोहोर उठाउन निजी कम्पनीले आफ्नै सवारी प्रयोग गरेका छन्।
सरसफाइ शाखा प्रमुख बरालका अनुसार पोखराको फोहोर संकलन गर्दा निजी कम्पनीहरूले नै वार्षिक ८ करोडसम्म सरसफाइ शुल्क उठाउँछन्। यसको २० प्रतिशत महानगरलाई बुझाउने र बाँकी रकम फोहोर व्यवस्थापन गर्न कम्पनीले राख्ने सम्झौता छ।
फोहोरमैला संकलन गरेर ल्याण्डफिल साइटमा फाल्ने जिम्मा पाएका ६ वटा कम्पनीको म्याद गत २०७५ सालमै सकिएको थियो।
तत्कालीन मेयर मानबहादुर जिसीले फोहोर व्यवस्थापनका नयाँ प्रक्रिया थालेनन्, पुरानै कम्पनीलाई म्याद थप्दै अहिलेसम्म ल्याए।
मेयर जिसीले पोखराको फोहोरमैला व्यवस्थापन गर्ने र ल्याण्डफिल साइटको खोजीमा पटक/पटक समिति गठन गरेका थिए।
त्यतिबेला गठित समितिले फोहोर फाल्न विभिन्न स्थानमा ल्याण्डफिल साइट बनाउनेबारे स्थलगत अध्यन गरेको इञ्जिनियर नेत्रप्रसाद तिमिल्सिनाले बताए।
त्यतिबेला ल्याण्डफिल साइटको खोजी गर्दा पानीको स्रोत हुन नहुने, बस्तीबाट टाढा, विमानस्थलको एयर स्पेसभित्र नपर्ने लगायतका मापदण्ड राखिएका थिए। सोही मापदण्डका आधारमा पोखरा–३३ स्थित टिमुरपाटा सबभन्दा उपयुक्त स्थानका रूपमा पहिचान गरेको इञ्जिनियर तिमिल्सना बताउँछन्।
टिमुरपाटामा ल्याण्डफिल साइट बनाउन पोखरा विमानस्थलका प्राविधिकसमेत स्थलगत अध्ययन गरेका थिए। उनीहरूले विमानस्थलको एयरस्पेसभन्दा टाढा भएकाले सोही ठाउँ उपयुक्त भएको निष्कर्ष निकालेका थिए।
सोही निष्कर्षका आधारमा महानगरको गत चैत १४ गते बसेको ५५ औं कार्यपालिका बैठकले पोखराको फोहोरमैला वडा नम्बर ३३ को टिमुरपाटामा व्यवस्थापन गर्ने निर्णय गर्दा कसैले विरोध गरेनन्। तत्कालीन मेयर मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकमा वडा नम्बर ३३ का तत्कालीन वडाध्यक्ष शिव आचार्यको प्रस्तावमा कार्यपालिकाले उक्त निर्णय गरेको थियो।
अवरोध गर्दै एमाले, कांग्रेस र नेसपा
अघिल्लो कार्यकालको उक्त निर्णय कार्यान्वयन गर्न अहिलेका मेयरले बजेट छुट्याएपछि भने टिमुरपाटामा ल्याण्डफिल साइट बनाउन नदिन एमाले र सत्ता गठबन्धनका स्थानीय कार्यकर्ता मिलेका छन्।
बजेटमा फोहोरको स्रोतमै वर्गीकरण गरी व्यवस्थापन गर्न स्वयंसेवक परिचालन गर्ने, प्रस्तावित ल्याण्डफिल साइटमा न्यूनतम फोहोर लैजान फोहोरलाई उद्यमसँग जोड्ने, ल्याण्डफिल साइटको विस्तृत अध्यन, जग्गा प्राप्ति, स्रोतमा फोहोर वर्गीकरण, पूर्वाधार निर्माण लगायतका लागि १० करोड विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख छ।
बजेट वक्तव्य आएपछि टिमुरपाटामा ल्याण्डफिल साइट बनाउन नदिने अभियानको सुरूआत नेपाल समाजवादी पार्टी गण्डकीका अध्यक्ष किरण थापा ‘आमोद’ले गरेका थिए।
बजेट जलाउने चेतावनी दिँदै आमोदले फेसबुकमा लेखेका छन्– ‘धनराज आचार्य कमरेड, तपाईंको निर्णय भरतपोखरीवासी जनताप्रति बेइमानी हो। कुनै पनि हालतमा भरतपोखरीमा ल्याण्डफिल साइट बन्न दिइने छैन। कार्यक्रम भरतपोखरीबाट हटाउन माग गर्दछु। तपाईंलाई भोट हाल्दा बुढी औलामा लगाएको मसी सुक्न नपाउँदै तपाईंको बजेट वक्तव्य जलाउनुपर्ने लज्जाजनक अवस्था आयो।’
‘महानगरको कार्यपालिका बैठकले चैतमै टिमुरपाटामा ल्याण्डफिल साइट बनाउने निर्णय गरेको थाहा पाइनँ,’ उनले भने, ‘अहिले बजेट आएपछि थाहा पाइयो, कुनै हालतमा त्यहाँ ल्याण्डफिल साइट बनाउन दिन्नौं।’
टिमुरपाटा क्षेत्र कृषि, पर्यटन र आवास क्षेत्रका रूपमा विकास हुनुपर्ने भन्दै उनले उक्त क्षेत्रमा पानीका मूल भएकाले पनि ल्याण्डफिल साइट हुन नहुने उनको तर्क छ।
महानगरले अध्ययन गरेर उपयुक्त ठहर गरे पनि टिमुरपाटामा ल्याण्डफिल साइट बनाउन नदिने र फोहोरसँग सम्बन्धित उद्योग सञ्चालन गर्न पनि नदिने उनले सेतोपाटीलाई बताए।
पोखरा– ३३ का पूर्ववडाध्यक्ष आचार्यले महानगरको कार्यपालिका बैठकले टिमुरपाटामा ल्याण्डफिल साइट बनाउने निर्णय नै नगरेको दाबी गरे। फोहोरजन्य पदार्थबाट उत्पादन हुने वस्तुका उद्योग लैजान आफूले भनेको उनले बताए।
‘हामीले पोखराका विभिन्न ७ ठाउँमा फोहोर जम्मा गरेर वर्गीकरण गर्ने र टिमुरपाटामा फोहोरजन्य पदार्थबाट विभिन्न सामग्री बनाउने उद्योग खोल्ने भनेका हौं,’ उनले भने, ‘कार्यपालिका बैठकले के निर्णय लेख्यो मलाई थाहा भएन।’
राजनीतिक दलका स्थानीय कार्यकर्ताले अवरोध गर्ने भन्दै मेयर आचार्यलाई ज्ञापन पत्रसमेत बुझाएका छन्।
ज्ञापनपत्र बुझ्दै मेयर आचार्यले ल्याण्डफिल साइटका लागि बजेटमा विनियोजन गरेको १० करोड रुपैयाँबाट अध्यन गर्ने बताएका छन्।
पोखराका जुनसुकै ठाउँमा अध्ययन गरिने बताएर अवरोधमा उत्रिएका दलका स्थानीय कार्यकर्तालाई थामथुम पारेका छन्।