नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य मानुषी यमी भट्टराई काठमाडौं-७ बाट चुनाव लड्ने तयारी गर्दैछिन्।
बाबुराम भट्टराई र हिसिला यमीकी छोरी मानुषीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं-७ बाट उम्मेदवारी दिन लागेकी हुन्।
यो क्षेत्रमा पहिले मानुषीकी आमा हिसिलाले निर्वाचन जितेकी थिइन्। तर २०७४ को चुनावमा भने यो क्षेत्र नेकपा एमालेका रामवीर मानन्धरले १८ हजार एक सय २ मत ल्याएर जितेका थिए।
विद्यार्थी नेता हुँदै पार्टी राजनीतिमा आएकी मानुषीले पछिल्लो समय राजनीतिक भेटवार्तालाई सक्रियतापूर्वक अघि बढाएकी छन्। उनी नयाँ शक्ति पार्टीमा केन्द्रीय परिषद सदस्य थिइन्। जनता समाजवादी पार्टी छाडेर अहिले मानुषी नेपाल समाजवादी पार्टीमा क्रियाशील छन्। उनका बुवा बाबुराम उक्त पार्टीका अध्यक्ष छन्।
उनले काठमाडौं क्षेत्र नम्बर-७ लाई केन्द्रमा राखेर स्थानीयहरूसँग कुराकानी पनि जारी राखेकी छन् भने उक्त क्षेत्रमा उम्मेदवारी दिन सत्ता गठबन्धनसँग पनि कुराकानी चलिरहेको छ।
मानुषीले सेतोपाटीसँग कुराकानी गर्दै यसपालिको चुनावमा आफू काठमाडौं-७ मा उठ्ने तयारीमा रहेको बताइन्।
‘मैले केही समय अघिदेखि नै काठमाडौं-७ मा चुनाव लड्ने तयारी गरेको हो,’ उनले भनिन्, ‘यस बीचमा हामी सत्ता गठबन्धनको हिस्सेदार पनि भयौं। स्थानीयहरूसँग भेटघाट पहिलेदेखि नै जारी राखेका छौं।’
नेकपा (माओवादी केन्द्र) ले बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीलाई हँसिया हतौडा चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरिसकेको छ। मानुषीले पनि आफू हँसिया हतौडा चिन्हबाटै चुनाव लड्ने बताइन्।
‘काठमाडौं-७ म जन्मे-हुर्केको ठाउँ पनि हो, यहीबाट चुनाव लड्छु,’ उनले भनिन्, ‘युवाहरू पनि अब संसदमा पुग्नुपर्छ भनेर मैले आवाज उठाइरहेको छु।’
मानुषीले काठमाडौं- ७ का विभिन्न टोलका स्थानीय बासिन्दासँग भेटघाट गर्ने र सुझाव लिँदै आएकी छन्।
विभिन्न पार्टीबाट युवालाई टिकट दिने वातावरण बनाउन दबाब सिर्जना गर्नेलगायत काम गर्नुपर्ने पनि उनी बताउँछिन्।
‘युवाहरूलाई टिकट दिइएन र संसदमा जानबाट रोकियो भने पार्टीहरूको विकल्प खोज्ने माहौल सिर्जना भइरहेको छ, त्यसमा पार्टी र मुख्य रूपमा सत्ता गठबन्धनले मनन गर्नुपर्छ भन्ने हो,’ उनले भनिन्।
आफू आवद्ध पार्टी नेपाल समाजवादी अहिलेको सत्ता गठबन्धनकै अंग भएको उनले बताइन्।
‘यो गठबन्धनमा नहुँदै मैले चुनाव लड्ने तयारी गरिरहेकै हो,’ उनले भनिन्, ‘पछिल्लो घटनाक्रमले हामीलाई सत्ता गठबन्धनमै ल्यायो।’
राजनीतिमा नयाँ पुस्ता र युवालाई ठाउँ दिन र प्रेरित गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरू तयार हुनुपर्ने मानुषी बताउँछिन्।
‘नयाँ एजेन्डासहितका नयाँ अनुहारलाई राजनीतिमा प्रवेश गराउने कि नगराउने भन्ने कुरामा सत्ता गठबन्धनका शीर्ष नेताले ध्यान र ख्याल पुर्याउनुपर्छ,’ उनले भनिन्, ‘मैले उम्मेदवारी दिनेबारे सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग ‘वान टु वान’ कुरा भइसकेको छैन। तर पार्टीभित्र विशेष गरी युवा साथीहरूसँग कुराकानी भइरहेको छ।’
उनका बुवा बाबुराम यसअघि २०७४ मा गोरखा-२ बाट विजयी भएका थिए। केहीले बाबुरामले गोरखा -२ मा छोरी मानुषीलाई छाड्ने चर्चासमेत गरेका छन्।
यसमा सत्यता नभएको मानुषी बताउँछिन्।
‘गोरखा -२ मा बा (बाबुराम भट्टराई) नै उठ्नुहुन्छ, म त्यहाँ उठ्ने होइन। काठमाडौं -७ मै उठ्छु,’ उनले भनिन्, ‘पहिले जसले जितेको छ त्यहाँ उही पार्टीले राख्ने खालका कुरा गठबन्धनमा भएका छन्। त्यसअनुसार गोरखा-२ मा उहाँ (बाबुराम) नै उठ्ने हो।’
२०७४ मा एमालेले जितेको काठमाडौं-७ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्ने कोसिस मानुषीले गरिरहेकी छन्। २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा यो क्षेत्रमा हिसिलाले जितेकी थिइन्।
युवालाई उम्मेदवार बनाउने र राजनीतिमा ठाउँ दिने कुरा आफ्नो पार्टीको मात्रै जिम्मेवारी नभई यो सिंगो गठबन्धनको पनि जिम्मेवारी हुन आउने उनी बताउँछिन्।
‘सबै पार्टीभित्र रहेका युवा साथीहरू अलि जुर्मुराउनु पर्यो। अलि पहलकदमी आफ्नो हातमा लिनुपर्यो भनेर कुराकानी भइरहेका छन्,’ उनले भनिन्।
काठमाडौं- ७ मा यस्तो छ स्थानीय चुनावको मत:
गत वैशाख ३० मा भएको स्थानीय चुनावमा काठमाडौं क्षेत्र नम्बर ७ मा नेपाली कांग्रेस अगाडि देखिन्छ।
यस क्षेत्रका वडाहरूको मत जोड्दा कांग्रेसले १४ हजार १ सय ६७ मत पाएको छ।
यहाँ नेकपा एमालेले १२ हजार २ सय २ मत ल्याएको छ।
साथै नेकपा एकीकृत समाजवादीले ३ हजार ८ सय ३९ मत ल्याएको छ भने राप्रपाले २ हजार २७ र माओवादी केन्द्रले ५ सय ७६ मत ल्याएको छ।
यो क्षेत्रमा काठमाडौं महानगरका वडा नम्बर १६, १७, १८ र २५ पर्छन् भने नागार्जुन नगरपालिकाको वडा नम्बर १, २ र ३ पनि यही क्षेत्रमा पर्छ। त्यस्तै तारकेश्वर नगरपालिकाको वडा नम्बर ३, ४ र ५ पनि यही क्षेत्रमा पर्छ।
छोरीलाई अघि बढाउँदै बाबुराम!
पछिल्लो समय बाबुरामले छोरी मानुषीलाई पार्टी राजनीतिमा अघि बढाउँदै लगेको देखिन्छ। आफू अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीमा उनले मानुषीलाई केन्द्रीय सदस्य बनाएका छन्। मानुषीले बागमती प्रदेशलाई केन्द्रमा राखेर पनि राजनीतिक गतिविधि बढाइरहेकी थिइन्।
भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार बाबुरामलाई भेटेका थिए। टोखास्थित निवासमा भएको भेटवार्तामा मानुषी पनि बाबुराम छेउमा थिइन्।
यसबारे सोधिएको प्रश्नमा मानुषीले बुवा बाबुराम बिरामी भएर सहयोग मागेकोले सँगै भेटवार्तामा बसेको बताइन्।
‘उहाँको घाँटी दुखेको थियो। बोल्न गाह्रो भइरहेको थियो। राजदूत आउँदै हुनुहुन्छ, बोल्न गाह्रो भयो, सहयोग चाहिन सक्छ भन्नुभएको थियो,’ उनले भनिन्, ‘बालाई भेट्न राजदूत घरमै आउनु भएको थियो। उहाँलाई बोल्न गाह्रो भएकोले म सहयोगीको रूपमा बसेकी हुँ।’
मानुषी २०६५ मा भएको स्वतन्त्र विद्यार्थी युनियन चुनावमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सचिव निर्वाचित भएकी थिइन्।
मानुषी माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ मा बुवा-आमासँगै भूमिगत थिइन्। मानुषी ३७ वर्षकी भइन्। उनले त्रिविबाट राजनीतिशास्त्र र इतिहासमा स्नातकोत्तर गरेकी छन्।
उनी केही समय पहिले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयमा राजनीति शास्त्रमा विद्यावारिधि गर्न गएकी पनि थिइन्।
बाबुरामको पार्टीका नेता को, कहाँबाट चुनाव लड्न चाहन्छन्?
नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादव सर्लाही क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीमा छन्।
पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ सिन्धुलीबाट चुनाव लड्ने तयारीमा छन्। यस्तै नवलपरासी-२ मा गोविन्द चौधरी चुनाव लड्न चाहन्छन्।
यस्तै रूपन्देही-२ मा विश्वदीप पाण्डे उठ्ने तयारीमा छन्।
बाबुरामनिकट एक नेताले दिएको जानकारीअनुसार गोरखा-२ र सर्लाही-२ मा क्रमश: बाबुराम र महिन्द्र उठ्नेबारे सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफलसमेत भइसकेको छ।
‘अन्य क्षेत्रमा कहाँ, को उठ्ने भन्नेबारे सत्ता गठबन्धनसँग पछि छलफल होला,’ ती नेताले भने, ‘संघ वा प्रदेशमा धेरै नेताहरू उठ्ने तयारीमा हुनुहुन्छ।’