एसियाकै सबभन्दा धनी व्यक्तिको सूचीमा परेका भारतीय अर्बपति गौतम अडानीले भारतको लोकप्रिय टेलिभिजन च्यानल 'एनडिटिभी' (न्यू दिल्ली टेलिभिजन लिमिटेड) को बहुमत सेयर किन्न लागेका छन्।
भारतीय पत्रकारितामा यो घटनाले ठूलो अर्थ राख्छ। नरेन्द्र मोदीको उदयपछि भारतका अधिकांश ठूला मिडिया सरकार समर्थक हुँदै गएका छन्। मिडियाको यही रवैयालाई त्यहाँ 'गोदी मिडिया' भनेर व्यंग्य गरिन्छ। यस्तोमा एनडिटिभीले भने आफ्नो साख र पत्रकारिताको धर्म बचाउँदै आएको छ। अन्य मिडियाले विरलै गर्ने सरकारको आलोचना एनडिटिभीले गर्छ। अल्पसंख्यकहरूको आवाज पनि एनडिटिभीले बोल्छ।
भारतीय अर्बपति गौतम अडानीले सेयर किनेपछि एनडिटिभीको सम्पादकीय धार फेरिनसक्छ। गौतम अडानीलाई भारतीय प्रधानमन्त्री मोदी र सत्तारूढ भारतीय जनता पार्टीसँग निकट सम्बन्ध रहेको व्यवसायीका रूपमा चिनिन्छ।
अडानीको एएमजी मिडिया नेटवर्क्सले मंगलबार विज्ञप्ति जारी गर्दै अडानी ग्रुपले एनडिटिभीको २९.१८ प्रतिशत सेयर किन्ने जानकारी दिएको हो। उसले यो सेयर आरआरपिआर होल्डिङ्समार्फत किन्न लागेको हो।
अहिले एनडिटिभीमा आरआरपिआरको २९.१८ प्रतिशत सेयर छ। आरआरपिआर कम्पनी नै अडानीले किनेपछि उसको स्वामित्वमा रहेको एनडिटिभीको सेयर पनि स्वत: अडानीको हातमा जान्छ।
अडानी समूहले एनडिटिभीको थप २६ प्रतिशत सेयर किन्न खुला प्रस्ताव गर्ने पनि बताएको छ। यति भएपछि अडानी समूहले एनडिटिभीको बहुमत सेयर आफ्नो पक्षमा पार्नेछ।
एनडिटिभीले भने यसबारे आफूलाई कुनै जानकारी नभएको बताएको छ। अडानीले कुनै छलफल नगरेको र सहमति पनि नलिएको उसको भनाइ छ।
एनडिटिभी सन् १९८८ मा भारतका दुई जना पत्रकार राधिका रोय र प्रणय रोयले स्थापना गरेका हुन्। यसमा राधिका र प्रणयको अहिले पनि व्यक्तिगत र कम्पनीको गरी ६१.६४ प्रतिशत सेयर छ। एनडिटिभीअन्तर्गत अंग्रेजी र हिन्दी भाषाका दुइटा च्यानल छन् भने अर्को बिजनेस च्यानल पनि छ। एनडिटिभी डटकम वेबसाइट पनि उसले चलाउँछ।
भारतका अरू सबै टेलिभिजन च्यानल व्यापार र प्रधानमन्त्री मोदीको भक्तिगानमा व्यस्त हुँदा पनि पत्रकारिताको धर्म नछाडेको एनडिटिभी मोदी सरकारका नीति र कार्यक्रममाथि आलोचनात्मक रिपोर्टिङ गर्ने एक्लो च्यानल हो। मोदीका समर्थकहरूले बेलाबेला यो च्यानललाई निशाना बनाउने गरेका छन्।
सन् २०१४ मा मोदी सत्तामा आएपछि मुद्रा निर्मलीकरण, कर छलीका विभिन्न मुद्दा एनडिटिभीमाथि लगाइएका छन्। ती मुद्दामा अन्तिम फैसला हुन बाँकी छ। कहिलेकाहीँ एनडिटिभीले प्रतिपक्षी कंग्रेस आईलाई सहयोग गरेको आरोप पनि लाग्ने गरेको छ।
एनडिटिभीको सम्पादकीय नीतिविरूद्ध केही भारतीय जनता पार्टीका नेताहरूले उसका छलफल कार्यक्रमहरूमा सहभागी हुन अस्वीकार गर्दै आएका छन्। प्रधानमन्त्री भएदेखि अहिलेसम्म एउटा पनि पत्रकार सम्मेलन नगरेका मोदी विरलै मात्र मिडियालाई अन्तर्वार्ता दिन्छन्। उनले अहिलेसम्म एनडिटिभीमा अन्तर्वार्ता दिएको देखिएको छैन।
अडानीसँग १३५ अर्ब डलरको सम्पत्ति छ। ब्लुमबर्गका अनुसार उनी अहिले एसियाकै सबभन्दा धनी व्यक्ति हुन्।