बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अचानक युक्रेनको राजधानी कीभ पुगेका छन्। त्यहाँ उनले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग भेट गरेका छन्।
सोभियत संघबाट स्वतन्त्र भएको ३१ औं वर्ष मनाइरहेको युक्रेनले बेलायती प्रधानमन्त्री जोन्सनलाई तेस्रो पटक स्वागत गरेको हो।
युक्रेन पुगे लगत्तै प्रधानमन्त्री जोन्सनले युक्रेनमा भइरहेको गतिविधि बेलायतका लागि महत्वपूर्ण रहेको बताएका छन्। उनले युक्रेनले रूसविरूद्धको युद्ध जित्नेमा आफू ढुक्क रहेको बताए।
‘युक्रेनमा जे भइरहेको छ, त्यो हाम्रा लागि महत्त्वपूर्ण छ। त्यसैले म आज कीभ आएको हुँ,’ युक्रेनमा सञ्चारकर्मीमाझ उनले भने, ‘बेलायत आफ्नो मित्र युक्रेनको साथमा उभिनेछ। म विश्वस्त छु कि युक्रेनले यो युद्ध जित्नसक्छ र जित्नेछ।’
रूससँगको युद्धपछि बोरिस जोनसन तेस्रो पटक युक्रेनको राजधानी कीभ पुगेका हुन्।
किभ पुगेर उनले बेलायतले युक्रेनको सशस्त्र बललाई २,००० अत्याधुनिक ड्रोन उपलब्ध गराउनुका साथै युद्धपोतका लागि ५४ मिलियन पाउण्डको प्याकेज प्रदान गर्ने बताए।
बेलायती प्रधानमन्त्रीले युक्रेनका लागि बेलायतको अर्को ठूलो सहयोगको प्याकेज हस्तान्तर गर्ने भन्दै मानव रहित निगरानी र एन्टी-ट्याङ्क लोइटरिङ हतियार सहितको रूपरेखा प्रस्तुत गरेका थिए। यो प्याकेजले युक्रेनलाई लामो दूरीको निगरानी गर्नुका साथै रक्षात्मक लक्ष्यीकरण क्षमतामा सुधार गर्नेछ।
जुलाई ७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएको लामो समयपछि जोन्सन सार्वजनिक कार्यक्रममा देखापरेका हुन्।
राष्ट्रपति जेलेन्स्कीले युक्रेनको स्वतन्त्रतामा बेलायतको कडा समर्थनका लागि प्रधानमन्त्री बोरिस जोन्सनलाई अर्डर अफ लिबर्टीबाट सम्मान गरेका थिए।
यसैबीच युक्रेनले बुधबार आफ्नो ३१ औं स्वतन्त्रता दिवस मनाएको छ। सन् १९९१ मा युक्रेन सोभियत संघबाट स्वतन्त्र भएको घोषणा गरेको सम्झनामा अगष्ट २४ लाई युक्रेनले स्वतन्त्रता दिवसका रूपमा मनाउने गरेको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वतन्त्रता दिवस मनाउँदै गर्दा र युद्धको ६ महिनाको बिन्दुलाई मनाउँदै गर्दा रूसबाट थप आक्रमण हुनसक्ने भन्दै नागरिकहरूलाई घरबाहिर ठूलो सङ्ख्यामा ननिस्कन आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्रता दिवसका अवसरमा विशेष गरी रूसी क्षेप्यास्त्र आक्रमण गर्न सक्ने डरले कीभका अधिकारीहरूले बिहीबारसम्म राजधानीमा ठूलो जमघटमा प्रतिबन्ध लगाएका हुन् ।
यसै सन्दर्भमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले एक विज्ञप्ति जारी गर्दै नागरिकहरूलाई भनेका छन्, ‘रूसी उक्साहट र निर्मम आक्रमणको सम्भावना छ। कृपया सुरक्षा नियमहरू कडाईका साथ पालन गर्नुहोस् । कृपया कर्फ्यूको पालन गर्नुहोला। एयर साइरनमा ध्यान दिनुहोला। आधिकारिक घोषणामा ध्यान दिनुहोला । हामी सबैले मिलेर विजय हासिल गर्नुपर्छ।’
गत वर्ष युक्रेनी स्वतन्त्रताको ३० औं वर्षगाँठको उपलक्ष्यमा आयोजित सैन्य परेड हेर्न कीभमा भीड जम्मा भएको थियो। यस वर्ष, राजधानीको मध्यभागस्थित एक चोकमा थोरै संख्यामा मात्र बासिन्दाहरू भेला भएर स्वतन्त्रता दिवस मनाए, जहाँ नष्ट भएका रूसी ट्याङ्करहरू र तोपखानाहरू सप्ताहन्तमा प्रदर्शनमा राखिएको छ। उक्त स्थानमा प्रत्येक दिन बिहान ७ बजे राष्ट्रिय गान बजाइन्छ।