पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई थप एक साता पक्राउ नगर्न अदालतले आदेश दिएको छ।
द डन समाचार पत्रका अनुसार बिहीबार इस्लामावादस्थित प्रतिआतंकवाद अदालतले खानको मुद्दामा आगामी सेप्टेम्बर १ मा अर्को सुनुवाइ गर्ने र त्यतिञ्जेलसम्म उनलाई पक्राउ नगर्न आदेश दिएको हो।
आज अदालतमा उपस्थित हुनुभन्दा अघि नै खानले आफूलाई पक्राउ नगर्न आदेश माग्दै निवेदन दिएका थिए।
किन इमरानलाई पक्राउ गर्न खोजिँदैछ?
खानविरूद्ध गत शनिबार राजधानी इस्लामावादको एउटा प्रहरी चौकीमा उजुरी पर्यो। उक्त उजुरीमा इमरानले आफ्नो भाषणमा उच्च प्रहरी अधिकारी र न्यायाधीशलाई धम्क्याएर उनीहरूको कार्यसम्पादन प्रभावित पारेको उल्लेख गरिएको छ।
खानविरूद्ध अहिले पाकिस्तानभरि यस्ता उजुरीहरू थुप्रै परेका छन्। तर शनिबारको उजुरीमा उनीमाथि प्रतिआतंकवाद कानुनमा कारबाही गर्न माग गरिएको छ। यो उजुरीमा प्रहरीले प्रक्रिया अघि बढाएको छ।
उनको पार्टीका केही नेता र सहयोगी यसअघि नै पक्राउ परिसकेका छन्। पक्राउ परेका आफ्ना सहकर्मीहरूलाई भएको व्यवहारप्रति इमरानले आक्रोश पोखेका थिए।
शनिबार इस्लामावादमा भएको र्यालीमा सम्बोधन गर्दै उनले भनेका थिए- प्रहरी तथा न्यायिक अधिकारी सुन्नोस्। तपाईंहरूविरूद्ध हामी उजुरी दिनेछौं, यसै छोड्नेवाला छैनौं। हाम्रो कारबाहीको सामनाका लागि तयार हुनोस्।
खानको भाषणको दृश्य शनिबार बेलुका सार्वजनिक भएको थियो। आइतबार इस्लामावादको प्रहरीले ट्वीटरमा लेखेको छ, ‘धम्क्याउने जो कसैलाई पनि कानुनअनुसार कारबाही अघि बढाइनेछ।’
गत अप्रिलमा संसदमा विश्वासको मत जुटाउन नसकेपछि इमरान खान सत्ताको ‘क्रिज’बाट ‘पेभिलियन’ फर्किएका थिए। सत्ताबाट बाहिरिँदासमेत उनी पाकिस्तानको राजनीतिको केन्द्रमै छन्। त्यसपछि, पाकिस्तान तहरीक- ए- इन्साफ (पिटिआई) का अध्यक्षका हैसियतमा उनले व्यापक जनसम्पर्क स्थापित गर्ने प्रयत्न गरिरहेका छन्।
त्यसैले र्याली तथा सभामार्फत् उनी राज्य संयन्त्र र सत्तारूढ दलप्रति आक्रामक बनिरहेका छन्। विदेशी शक्तिको आडमा आफूलाई हटाएको र हालको सरकार विदेशीले नै बनाएको आरोप उनले लगाउने गरेका छन्। आफूलाई सरकारबाट हटाउने विदेशी शक्ति अमेरिका रहेको इशारा इमरानले गर्छन्, तर त्यसको आधार र प्रमाण पेश गर्न सक्दैनन्।
अमेरिकी शक्तिकै आडमा राज्य संयन्त्र तटस्थ नबसेको उनको आरोप छ। सरकार र राज्यसंयन्त्रप्रति आक्रोश ओकल्दै खान भन्छन्, ‘यी सब भ्रष्ट र चोर हुन्।’
राज्यसंयन्त्रले आफ्नो पार्टीका कार्यकर्तामाथि दमन गरिरहेको उनको आरोप छ। निष्पक्ष हुनुपर्ने निर्वाचन आयोग पनि आफ्नो दल पिटिआईप्रति पूर्वाग्रही रहेको उनको आरोप छ।
पूर्वप्रधानमन्त्रीको हैसियतमा जिम्मेवार बन्नुपर्नेमा खानले राज्य र तिनका संयन्त्रप्रति घृणाको अभिव्यक्ति फैलाइरहेको भन्दै उनीमाथि कारबाहीको तयारी भएको हो। उनका अभिव्यक्तिलाई सार्वजनिक सञ्चारमाध्यमा प्रसारण गर्न रोक लगाइएको छ।
न्यायाधीश अलि जावेदलाई पनि नछोड्ने चेतावनी दिएकाले उनीविरूद्ध जाहेरी परेको छ। उनीविरूद्ध प्रतिआतंकवाद कानुनअनुसार मुद्दा चलाउने सरकारी तयारी छ। २५ वर्ष पुरानो यो कानुनमा आतंकवादमा दोषी ठहर भए आजीवन काराबासदेखि मृत्युदण्डसम्मको सजाय छ।
इमरानको अभिव्यक्ति तथा गतिविधि आतंकवादसँग सम्बन्धित नरहेकाले उनीमाथि प्रतिआतंकवाद कानुनअनुसार सजाय हुन नसक्ने तर्क उनका वकिल गर्छन्। प्रतिआतंकवाद कानुनअनुसार सजायको माग गर्दै मुद्दा दर्ता गर्न गए दरपीठ हुने उनका वकिल फैसल फरिर चौधरीको दाबी छ।
राजनीतिक सभामा सरकारविरूद्ध आक्रोश ओकल्दैमा जाहेरी दिन नमिल्ने पाकिस्तानका संविधानविद् अबुजर सलमान नियाजी बताउँछन्।
‘राजनीतिक सभामा कसैले कोहीप्रति कारबाही गरिनेछ भन्दैमा त्यो गतिविधि आतंकवादसँग जोडिँदैन। पाकिस्तानको दण्ड संहिताले पनि यसलाई आपराधिक धम्की मान्दैन,’ उनले भने।
सत्ता विरूद्धको राजनीतिक भाषणलाई निषेधका निम्ति यस्ता कानुनको सहायता लिएको दृष्टान्त पाकिस्तानमा रहेको हम्युन राइट्स वाचका एसिया निर्देशक जोन सिफ्टन बताउँछन्।
इमरानले सरकार छोड्नु पर्दा उनका समर्थकमा ठूलो असन्तुष्टि देखिएको थियो। उनको बर्हिगमनले अस्थिरतालाई आमन्त्रण गरेको तर्क व्यापक सुनिन्थ्यो। खानविरूद्ध मुद्दा चलाएर जेल हाल्ने तयारी भएपछि पाकिस्तानमा अहिले इमरान समर्थकहरूले कडा विरोध जनाइरहेका छन्। उनीहरू निकै आक्रोशित पनि छन्।
'सरकारले ज्यादती गर्दैछ। खानको गिरफ्तार भयो भने मुलुकनै ठप्प हुन्छ,' उनका समर्थक जुल्फिकर अब्बास बुखारीले भने।
आफू सत्तामा भएका बेला प्रतिष्पर्धी राजनीतिज्ञलाई सक्न हरसम्भव प्रयास गर्नु पाकिस्तानी राजनीतिको विशेषता नै हो। पाकिस्तानी राजनीतिमा सेना र अदालतलाई सदावहार संस्थापन मानिन्छ। चार वर्षअघि इमरान पनि सेनालाई रिझाएर, उसैको सहयोगमा प्रधानमन्त्रीको कुर्सीमा पुगेको चर्चा थियो।
सन् २०१७ मा पाकिस्तानको सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री नवाज सरिफ सत्तामा बस्न योग्य नरहेको भन्दै विवादास्पद फैसला गरेको थियो। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका उनी आपराधिक मुद्दा लाग्न सक्ने डरले शरण माग्दै बेलायत पुगेका थिए। सत्ताबाहिर हुँदा प्रतिशोधको शिकार हुने डरले देश छोड्ने पाकिस्तानी नेताहरूको सूची लामै छ।
इमरानले पनि आफू सत्तामा हुँदाखेरि विपक्षीहरूलाई प्रतिशोधपूर्ण व्यवहार गरेका थिए।
इमरानका समर्थकहरूले भने उनी पक्राउ पर्ने कुरालाई आफ्नो ‘रेड लाइन’ बनाएका छन्। सरकारले त्यो ‘रेड लाइन’ तोडेर इमरानलाई पक्राउ गरेमा पाकिस्तानभरि विद्रोह हुने उनीहरूको चेतावनी छ।
इमरानको उदय
पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान इमरान खानले केही वर्ष पहिले एक अन्तर्वार्ता भनेका थिए- तिम्रा सपनाका लागि सम्झौता गर तर तिम्रा सपनासँग कहिल्यै सम्झौता नगर।
सन् १९९२ मा पाकिस्तानले विश्वकप क्रिकेटको उपाधि उचाल्दा उनी कप्तान थिए।
६५ वर्षीय इमरान आज पाकिस्तानको राजनीतिक कप्तानी सम्हाल्ने आफ्नो अर्को सपना पूरा भएको छ।।
यसपालिको आमचुनावबाट उनको पार्टी पाकिस्तान तेहरीक-ए-इन्साफ (पिटिआई) सबैभन्दा ठूलो दल बनेको छ।
सन् १९९६ मा इमरानले नयाँ पार्टी खोले- पाकिस्तान तेहरीक-ए-इन्साफ अर्थात् न्यायका लागि आन्दोलन। पार्टी खोलेसँगै इमरानले आफ्नो खानपान र लवाइखवाइ पनि बदले। धेरैजसो समय इंग्ल्याण्डमै बस्ने इमरानले पार्टी खोलेपछि नै हो पश्चिमा सम्भ्रान्तले लगाउने लुगा फुकालेर सेतो सुरुवाल र कमिज लगाउन थालेको। सेतो सुरूवाल र कमिज आमपाकिस्तानीको लुगा हो।
सुरूदेखि नै उनले राजनीतिमा भ्रष्टाचार र वंशवादको मुद्दा उठाए। यो उनको रणनैतिक छनौट थियो। उनले उठाएको वंशवाद बेनजिर भुट्टो र भ्रष्टाचारको मुद्दा व्यापारी हुँदै राजनीतिमा आएका नवाज सरिफविरूद्ध लक्षित थियो।
१९६७ मा जुल्फिकर अली भुट्टोले स्थापना गरेको पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) ले सन् १९७० को चुनावपछि सत्ता सम्हाल्यो। जुल्फिकर प्रधानमन्त्री बने।
पिपिपीले अर्को चुनाव सन् १९८८ मा जित्यो। भुट्टोकी छोरी बेनजिर प्रधानमन्त्री भइन्।
१९९३ को चुनाव पनि पिपिपीले जित्यो। बेनजिर फेरि प्रधानमन्त्री बनिन्।
सन् २००८ को चुनावबाट पिपिपीका युसुफ राजा गिलानी प्रधानमन्त्री बने। बेनजिरका श्रीमान् असिफ अलि जर्दारी राष्ट्रपति भए।
यसपालि पिपिपीबाट बेनजिरका छोरा बिलवाल भुट्टो जर्दारी प्रधानमन्त्रीका उम्मेद्वार थिए।
स्थापनाकाल देखि नै पाकिस्तानको सत्ता सम्हाल्दै आएको मुस्लिम लिग ८० को दशकमा विभाजित भयो। नवाज सरिफले आफ्नो नेतृत्वमा पाकिस्तान मुस्लिम लिग(नवाज) बनाए।
उनको पार्टीले पहिलो पटक सन् १९८८ को चुनाव लड्यो। यो पार्टीले तीन पटक सत्ता सम्हाल्यो। तीनै चोटी नवाज सरिफ प्रधानमन्त्री बने।
पछिल्लो पटक स्पष्ट बहुमत ल्याएर सन् २०१३ मा प्रधानमन्त्री बनेका सरिफलाई गत वर्ष अदालतले भ्रष्टाचारमा दोषी ठहर्याउँदै प्रधानमन्त्री हुन अयोग्य घोषणा गर्यो। गत महिना उनलाई १० वर्षका लागि जेल हालियो।
पिपिपीको वंशवाद र सरिफ शासनकालको भ्रष्टाचारबाट दिक्क पाकिस्तानीमाझ इमरानले आफूलाई उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरे।
इमरानलाई पाकिस्तान मतदाताले पहिलो पटक नै अनुमोदन गरेका भने होइनन्। २२ वर्षसम्म उनले धेरै पसिना बगाएका छन्। सन् २००२ मा चुनाव लड्दा इमरानबाहेक उनको पार्टीका सबै उम्मेदवार पराजित भए। २००८ को चुनाव उनले बहिष्कार गरे।
सन् २०१३ को चुनावमा उनको पार्टीले केन्द्रीय संसदमा ३२ सिट पायो भने उत्तर पश्चिमी खाइबर पाख्तुन्ख्वा प्रान्तमा सरकार बनायो।
‘पाकिस्तानको मुख्य मुद्दा भ्रष्टाचार र सुशासन हो। मलाई विश्वास छ चुनावी अभियानमार्फत् मतदाताको ठूलो अनिर्णित समूह पिटिआईतिर आकर्षित हुनेछन्,’ चुनावअघि इमरानले बिबिसीसँग भनेका थिए।
उनले पार्टी अभियानलाई युवालक्षित बनाए।
इमरानका 'नयाँ पाकिस्तान' र 'भ्रष्टाचाररहित पाकिस्तान' को नारामा आकर्षित आजको युवा पुस्ताले उनले क्रिकेट खेलेको युट्युबमा मात्र हेरेका छन्।
पाकिस्तानको ७० प्रतिशत जनसंख्या ३० वर्षमूनिकाको छन्।
तिनै युवालाई आकर्षित गर्न उनी चुनावी र्यालीमा गितारिस्ट र डिजे पनि सँगै लैजान्थे।
चुनावमा उनले क्रिकेटका बिम्ब (मेटाफर) पनि प्रयोग गरे। विपक्षी पार्टीका नेताले चोर औंला उठाएर केही भने उनी त्यसलाई अम्पाएरको औंला भन्थे। कोही विपक्षी उनको पार्टीमा प्रवेश गरे टिभीले हेडलाइन बनाउँथे-अर्को विकेट झर्यो।
इमरानको पार्टीमा मानिसहरू थपिँदै गए।
उनीसँग जमिन्दार, सामन्तलगायत सबैखालका मानिस थिए। पिटिआईका धेरै उम्मेद्वार व्यक्तिगत भोट ब्यांक भएका व्यावसायिक राजनीतिज्ञ थिए। जो चुनाव जित्ने सबै तरिका जान्दथे।
सुरूमा उदारवादको वकालत गर्ने इमरान पछिल्लो समय विस्तारै कट्टरपन्थी सोचतर्फ मोडिएका थिए।
को हुन् इमरान?
१९५२मा लाहोरको उच्च मध्यम वर्गीय परिवारमा जन्मिएका इमरान सन् १९७१ मा पाकिस्तानको राष्ट्रिय टिममा डेब्यू गरे। अर्को वर्ष उनी अक्सफोर्ड पढ्न गए। अक्सफोर्ड विश्वविद्यालयबाट दर्शन,राजनीति र अर्थशास्त्रमा स्नातक गरे।
१९७७ को सिड्नी टेस्टमा उनले १२ विकेट लिएर सनसनी मच्चाए। अष्ट्रेलियाको केरी प्याकर्स वर्ल्ड क्रिकेट सिरिजबाट उनी अन्तर्राष्ट्रिय स्टार बने।
१९८२ मा उनले एक वर्षमा ६२ विकेट लिए। त्यही वर्ष उनी पाकिस्तानको कप्तान बने। उनी क्रिकेट इतिहासमै सबैभन्दा उत्कृष्ट केही अलराउन्डरमध्ये दरिए।
राष्ट्रिय टोलीबाट १७ वर्ष खेलेपछि सन् १९८८मा उनले क्रिकेटबाट संन्यास घोषणा गरे। राष्ट्रपतिले नै अनुरोध गरेपछि उनी फेरि क्रिकेट मैदानमा छिरे।
सन् १९९२ मा उनको कप्तानीमा पाकिस्तानले विश्वकप उचाल्यो। पाकिस्तानले अहिलेसम्म जितेको एकदिवसीय विश्वकप त्यही हो। त्यही वर्ष इमरानले क्रिकेट सधैँका लागि छोडे र समाजसेवामा लागे।
१९९४ मा उनले क्यान्सर अस्पताल बनाउन २ करोड ५० लाख डलर उठाए। लाहोरमा उनले आफ्नी आमाको नाममा खोलेको उक्त अस्पताल पाकिस्तानकै उत्कृष्ट क्यान्सर अस्पताल हो।
उनका विरोधीले उनको विवाह र सम्बन्धलाई देखाउँदै उनको चरित्र र आस्थामाथि प्रश्न उठाउँछन्।
जवानीमा उनी प्लेब्योइका रूपमा पनि चर्चामा थिए। सुन्दरी र मोडलहरूसँग उनको सम्बन्ध सधैँ अखबारमा हेडलाइन बन्थे।
सन् १९९५ मा उनले धनाढ्यकी छोरी जेमिमा गोल्डस्मिथसँग बिहे गरे। २००४ मा उनीहरूको सम्बन्धविच्छेद भयो। २०१५ मा उनले रेहम खानसँग दोस्रो विवाह गरे। त्यो एक वर्ष पनि टिकेन। यही वर्ष उनले बुसरा मनिकासँग तेस्रो विवाह गरेका छन्।
(अलजजिरा, न्युयोर्क टाइम्स, डनलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा।)