शुक्रबार काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउन्ड पार्किङस्थल खाली गरायो।
नगर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजु पाण्डे र ट्राफिक प्रहरीका प्रहरी उपरीक्षक (एसपी) अवदेश विष्टसहितको टोली राहदानी विभाग पुगेको थियो।
महानगरले सूचना जारी गर्दा पनि विभागले सेवाग्राहीका लागि पार्किङस्थल खुला नगरेपछि नगर प्रहरीसहितको टोलीले महानिरीक्षकसँग कुराकानी गरेर अन्डरग्राउन्ड तत्काल खाली गरेको थियो।
विभागको पार्किङ क्षेत्र खुला नहुँदा सेवाग्राहीका सवारीसाधन बाटोमै या नजिकैको विश्व निकेतन विद्यालयको प्रांगण छेउमा पार्किङ गरिन्थ्यो। बागमती मार्गबाट त्रिपुरेश्वर जाने बाटो साघुँरो छ। त्यसमाथि विभाग सञ्चालन आएयता सेवाग्राहीको घुइँचो नै लाग्छ।
एसपीद्वय पाण्डे र विष्ट निरीक्षण क्रममा विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवलाई भेट्न पुगेका थिए। भेटमा पाण्डेले अन्डरग्राउन्ड पार्किङ क्षेत्र के प्रयोजनका लागि प्रयोग भइरहेको छ भनेर सोधे।
उक्त सवालको जवाफ दिने क्रममा महानिर्देशक यादवले त्यहाँ सेवाग्राही ओत लागेर बस्ने ठाउँ बनाइएको बताए।
'हामीकहाँ दैनिक २२-२५ सय जना आवेदन दिन आउनुहुन्छ, त्यति नै संख्यामा पासपोर्ट लिन आउनुहुन्छ,' यादवले भने, 'हामीले अन्य कुनै पनि प्रयोजनका लागि प्रयोग गरेका छैनौं। त्यो ठाउँमा उहाँहरूलाई घाम र पानीबाट बचेर बस्न मात्र दिइएको छ।'
त्यसै क्रममा उनले सेवाग्राहीको संख्या पनि हेर्न अनुरोध गरे।
एसपी पाण्डेले अन्डरग्राउन्ड केका लागि प्रयोग भइरहेको छ, पहिला त्यो निरीक्षण गर्ने र त्यसपछि कुरा गर्ने बताए।
'पार्किङ प्रयोजन भनेपछि त्यसैका लागि मात्र प्रयोग हुनुपर्यो,' पाण्डेले भने, 'चाहे त्यो जोसुकैको होस्। अन्य प्रयोग भएको रहेछ भने हटाउनुपर्नेछ।'
त्यसपछि सबैजना निरीक्षणका लागि तीन तलामाथिबाट झरेर अन्डरग्राउन्ड क्षेत्र पुगे। त्यहाँ कुनै पनि संरचना निर्माण भएको थिएन। प्रतिक्षालयका लागि फलामका कुर्सीहरू राखिएका थिए।
त्यसपछि एसपी पाण्डेले ती कुर्सीहरू हटाएर खाली गरिदिन यादवलाई आग्रह गरे। उनीहरूले खाली नगरे नगर प्रहरी आफैंले हटाउने चेतावनी समेत दिए।
'तपाईंले नै खाली गर्न लगाउनुहुन्छ कि हामी नै गरौं,' पाण्डेले भने।
खाली गराउन कर्मचारी बोलाउने वा महानगरलाई नै खाली गराउन लगाउने विषयमा महानिर्देशक यादव केही बोलेनन्। बरू महानगरसँग यसअघि बसेको बैठकबारे कुरा गरे।
'केही समयअघि पनि हामी बैठक बसेका थियौं,' उनले निरीक्षणमा पुगेको महानगर टोलीसँग भने, 'अस्ति बिहीबार पनि बैठक बस्ने कुरा भएको थियो तर तपाईंहरूले कारणबस् बस्न मान्नु भएन।'
महानगरसँग पार्किङ क्षेत्रकै विषयमा छलफल भइरहँदा यसरी निरीक्षणमा आउनुपर्ने कारण नभएको यादवले जिकिर गरे।
एसपी पाण्डेले भने अन्डरग्राउन्डमा प्रतिक्षालय बनाउनु पनि अमानवीय भएको बताए।
'यस्तो अन्डरग्राउन्डमा घामपानीबाट बच्न भनेर प्रतिक्षालय राख्नु कत्तिको उचित छ,' उनले भने, 'मानवताको पनि त कुरा हुन्छ। न झ्याल छ, न भेन्टिलेटर। म हुन्थेँ भने त यस्तो अमानवीय काम गर्दिनँ थिएँ।'
महानिर्देशक यादवले उक्त क्षेत्र सेवाग्राहीलाई मध्यनजर गर्दै प्रतिक्षालयका रूपमा विकास गरे पनि कर्मचारीहरूले पार्किङका निम्ति प्रयोग गरिरहेको बताए।
एसपी पाण्डेले एउटा सरकारी निकायले अर्को सरकारी निकायलाई सहयोग गर्नपर्ने बताउँदै भने, 'एउटा सरकारी निकायले अर्कोलाई सहयोग गरेर झनै नमूना बन्नुपर्छ। सरकारले त टेर्दैन भनेर जनताले खोट लगाउने ठाउँ त हुनुभएन नि।'
त्यसपछि नगर प्रहरी टोलीले अन्डरग्राउन्डमा राखेका सबै कुर्सीहरू हटायो र निकालेर बाहिर राखिदियो। सोही क्रममा काठमाडौं महानगरपालिका-११ का वडाध्यक्ष हिरालाल तण्डुकार अवलोकनका लागि विभाग पुगेका थिए।
'हामी अवैध संरचना हटाउन आजैदेखि उत्रिएका छौं,' उनले भने, 'यो ११ वडाको पहिलो सुरूआती भयो। अब अरू ठाउँमा पनि होलान्, खोजेर गर्नेछौं।'
पार्किङका लागि प्रयोग गर्ने भनेर सुविधा लिने तर विपरीत काम गर्ने सबैलाई कारबाही गरिने तण्डुकारले बताए।
महानगरको टोली पुगेको केही घन्टापछि विभागले आगामी आइतबारबाट सेवाग्राहीका लागि पार्किङ खुला गर्ने जानकारी विज्ञप्तिमार्फत् दिएको छ। विभागले पार्किङ खुला गरेसँगै सेवाग्राहीलाई केही आग्रह पनि गरेको छ।
लाइभ इनरोलमेन्ट सेन्टर कायम भएका सेवाग्राही मात्र आवेदनका लागि आउन, फारममा तोकिएको मिति र समयमा मात्र आउन, तयार भएको राहदानी लिन आउनेहरू साविकमा झैं गेट नम्बर-२ बाट प्रवेश गर्न, आवश्यक अवस्थामाबाहेक आवेदक मात्र आउन विभागले आग्रह गरेको छ।
महानगरपालिकाले सोमबार नयाँबानेश्वरको भवनमा बनेको अनधिकृत संरचना भत्काएर कारबाही सुरू गरेको थियो। उक्त दिन बानेश्वर कम्प्लेक्समा डोजर लगाई कारबाही प्रक्रिया अगाडि बढाइएको थियो।
यस्तै बुधबार काठमाडौं मल, खिचापोखरीस्थित आरबी कम्प्लेक्स, बिरा कम्प्लेक्सलगायत ठूला व्यापारिक भवनसँगै बनाइएका संरचना डोजर लगाएर भत्काइएको थियो।
बुधबारै न्युरोडस्थित नबिल बैंक भवनको बेसमेन्टमा बनाइएका संरचना हटाउन, दरबारमार्गको 'लन्डन पब' र 'मत्सुरी टोकियो क्याफे' का संरचना पनि खाली गर्न निर्देशन दिइएको थियो।
बिहीबार नयाँबानेश्वरको अल्फाबिटा कम्प्लेक्सका अनधिकृत संरचना भत्काइएको थियो।
पछिल्लो समय काठमाडौंको बढ्दो ट्राफिक चापसँगै सवारी पार्क गर्ने ठाउँ अभाव हुन थालेपछि त्यसलाई समाधान गर्न महानगरले घरको नक्सा पास गर्दा भूमिगत पार्किङ देखाएका तर व्यवहारमा पसल चलाइरहेकालाई कारबाही गर्न थालेको हो।