गएको मंगलबार पौने ९ बजे खाना खाएर म जिल्ला प्रहरी कार्यालयमा एउटा रिपोर्टिङका लागि सँगै जाने सल्लाह भयो।
बिहान १० बजेअघि प्रहरी अधिकारीसँग कार्यालयमा भेट हुन मुश्किल पर्छ। समय कटाउन म नजिकै रहेको जिल्ला प्रशासन कार्यालयतर्फ लागेँ। नौ बजेर २० मिनेटमा जिल्ला प्रशासन कार्यालय पुग्दा गेट खुलिसकेको थिएन।
गेट अगाडि चर्को घाममा सेवाग्राहीको खचाखच भिड लागिसकेको थियो। गेट खुलेपछि भित्र पस्ने आशामा बिहान सवा आठ बजेदेखि नै सेवाग्राहीहरू लाइन लागेका रहेछन्। यति सबेरै लाइन लागेर पनि उनीहरू आजै काम सकिनेमा आश्वस्त देखिदैनथेँ।
जिल्ला प्रशासन कार्यालयमा कर्मचारीले गर्ने अलमल र बिचौलिया अर्थात दलालको दबदबाबारे अधिकांश सेवाग्राही जानकार थिए। त्यही भिडमा केही दलालहरू पनि सलबलाउँदै थिए।
दलालहरूलाई सेवाग्राहीहरूसँग कुरा गर्न भ्याई नभ्याई थियो। जिल्ला प्रशासन कार्यालयका कर्मचारीले राष्ट्रिय परिचयत्र बनाउन झन्डै डेढ महिनापछि पालो पर्ने गरी टोकन दिन्छन्।
नागरिकता प्रमाणपत्रको प्रतिलिपि हप्ता–दुई हप्तासम्म पनि बन्दैन। कर्मचारीले कुनै न कुनै कुनै बहानमा अलमल्याउँछन्। दलालहरू सेवाग्राहीलाई पैसा दिने भए आजै काम हुन्छ भनेर मख्ख पार्छन्। आज पनि उनीहरू यसै गर्दै थिए। केही सेवाग्राहीहरू दलालले भनेअनुसार दिन तयार भई कागजपत्र जिम्मा लगाउँदै थिए त कोही पैसा घटाउन जिकिर गर्दै थिए।
म र मसँगै गएका एक साथीले सेवाग्राही बनेर ५० वर्ष उमेर कटेका एक दलालसँग सहयोगका लागि कुरा गर्यौँ। उनले हामीलाई गेटनजिकै दक्षिणतर्फ केही पर लगे।
हामीले तीन जनाको राष्ट्रिय परिचयपत्र बनाउनु पर्ने छ, आजै बन्ने गरी सहयोग गर्नु पर्यो भन्यौँ। उनले अर्का एक जनालाई बेलाए। ती पनि दलाल नै थिए तर अचम्म के थियो भने उनले निजामती कर्मचारीको पोसाक लगाएका थिए।
कर्मचारी वेशका ती दलालले प्लास्टिको एउटा फाइलभित्र अरू केही व्यक्तिका कागजपत्र बोकेका थिए। तीनले आफ्नो नाम लक्ष्मी साह बताए।
हामीलाई विश्वासमा लिन फाइलका काजगपत्र देखाउँदै उनले भने, ‘विश्वास लाग्दैन भने हेर्नुस्, धेरैको काम भइसकेको छ। दिउँसोसम्म सबैको काम भइहाल्छ।’
उनले आफूले लिने रकमको दरभाउ सुनाए– धनुषाबाट बनाउने हो भने तीन हजार, महोत्तरीको रामगोपालपुरबाट भए २५ सय लाग्छ।
उनले सोधे, ‘के गर्नुहुन्छ ? यहीँबाट बनाउने कि रामगोपालपुर जाने? छिटो गरौँ।’
उनले केही पैसा तुरुन्तै दिनु पर्ने र बाँकी चाहिँ काम भएपछि दिँदा हुने जानकारी गराउँदै आफ्नो फोन नम्बर पनि दिए।
दस बज्दासम्ममा बिचौलियाले धेरै सेवाग्राहीसँग यसै गरी खुलमखुला कुरा गर्दै काम जिम्मा लिइसकेका थिए।
एक दललाले हामीलाई परिचयपत्रको अनलाइन फारम भराउन कार्यालयको छेवैको एउटा फोटो स्टुडियोमा लगे। कार्यालयमा निःशुल्क पाइने फारम भर्न पाँच मिनेट जति लाग्छ।
स्टुडियोमा बसेका व्यक्तिले फारम भर्न तीन सय रुपैयाँ लाग्ने बताए। धेरै सेवाग्राहीलाई कार्यालयमा फारम निःशुल्क पाइन्छ भन्ने नै थाहा रहेनछ, तीन सय रुपैयाँ तिरेर भराउँदै गरेका भेटिए।
हामी फारम महँगो भयो भनेर निस्कियौँ। अरू केही फोटो स्टुडियोमा जाँदा पनि अवस्था उस्तै थियो, तीन सय तिर्दै फारम भर्दै। दलालहरू सबै ठाउँमा सक्रिय थिए।
एक व्यक्ति एउटा चिया पसलमा बसेर कम्प्युटरमा फारम भर्दै थिए। उनले आफ्नो नाम अनमोल मण्डल बताए। हामीले उनीसँग कुरा गर्यौँ। गाउँबाट धेरै सेवाग्राही ल्याइदिन्छौँ भन्यौँ। उनले दलालमार्फत काम गराउन लाग्ने पैसाको दरभाउ सुनाए।
उनले राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा तीन हजार, रामगोपालपुरमा २५ सय, नागरिकताको प्रतिलिपि निकाल्न दुई हजार र नयाँ नागरिकता तुरन्तै बनाउन एक हजार रुपैयाँ लाग्ने बताए।
धनुषा जिल्ला प्रशासन कार्यालय वरिपरि रहेका दर्जनौँ फोटोकपी पसल, फोटो स्टुडियो र लेखापढी कार्यालयमा खुलमखुला यस्तो दलाली धन्दा चलेको छ।
दलालको सहयोग नलिँदा राष्ट्रिय परिचयपत्र बन्ने पालो कम्तीमा ४५ दिनपछि आउँछ। दलालमार्फत गए बढीमा दिनभरिमा पाइँदो रहेछ। जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा सरकारी कर्मचारी नै सेवाग्राहीसँग लेनदेन गर्दा रहेछन्।
एक वृद्धाको नागरिकताको प्रतिलिपि निकाल्न क्यान्टिनमा हामीले चिनेका एक कर्मचारी पैसा लिँदै गरेका देखिए। हामी नजिकैबाट भिडियो खिच्दै थियौँ। हाम्रो गतिविधिको भेउ पाएर उनी फुत्त बाहिर निस्के।
सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्रको फारम बाँड्ने काममा सशस्त्र प्रहरीका एक जवान थिए। म बिहान ठिक १० बजे लाइनमा बसेँ। उनी फारम दिन अलमल गर्थे। शायद उनी सेवाग्राहीलाई हैरान पारेर तीन सय रुपैयाँ तिर्ने ठाउँमा जान बाध्य पार्थे।
राष्ट्रिय परिचयपत्र बनाउन लाइन बसेका धनुषाधाम नगरपालिकाका एक सेवाग्राही विजय साहले जिल्ला प्रशासन कार्यालयमा यसरी दलाली मौलाएको तीन वर्ष भएको बताए।
उनका अनुसार तीन वर्षअघिका र अहिलेका प्रमुख जिल्ला अधिकारीको कार्यशैलीमा आकाश–जमिनको फरक छ। उनका अनुसार पहिले सबैको काम हुन्थ्यो, आजकाल दलालले लगेको मात्रै एक दिनमा हुन्छ, अरूले दुई महिनासम्मको पालो कुर्नु पर्छ।
सेवाग्राहीहरूको साझा गुनासो सुनिन्छ– कर्मचारीहरू झर्केर बोल्छन्, नसुनेको जस्तो गर्छन्, आफ्नै धुनमा अलमलिन्छन्।
कार्यालयका एक कर्मचारीका अनुसार घुस लेनदेनमा काम हुने गरेको भनेर सेवाग्राही, सञ्चारकर्मी र केही कर्मचारीले प्रमुख जिल्ला अधिकारीलाई धेरै पटक जानकारी गराएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी पनि यसबारे जानकार छन्।
हामी दुई साथी चाहिँ दलाललाई पर्खनुस्, हामी विचार गर्छौं भन्दै अलमल्याउँदै केही घण्टा जिल्ला प्रशासन कार्यालय परिसरको गतिविधि नियाल्यौँ।