नेपाली कांग्रेसका नेता प्रदीप पौडेललाई आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन तयारीस्वरूप पार्टीले ‘जनताको साथमा नेपाली कांग्रेस’ अभियानका लागि केन्द्रीय प्रतिनिधिका रूपमा कास्कीमा खटाएको छ।
उनी भदौ १० देखि प्राय: कास्कीमै छन्। कांग्रेसको चुनावकेन्द्रित यो अभियान भदौ २४ गतेसम्म चल्नेछ। पौडेल गत मंसिरमा भएको कांग्रेस महाधिवेशनमा सभापति शेरबहादुर देउवाको टिमसँग रहेर महामन्त्रीमा उठे पनि पराजित भए। उनी नेता कृष्णप्रसाद सिटौलानिकट छन्।
आफ्नो टिमबाट उठेर महामन्त्रीमा पराजित भएका पौडेललाई सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए। पौडेलले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवासँग भेटघाट गरी पार्टी र सरकारबारे विभिन्न कुराहरू गर्ने गरेका छन्।
कांग्रेसको आन्तरिक राजनीति, देउवा नेतृत्वको गठबन्धन सरकारका कामकारबाही र मंसिर ४ को चुनावमा केन्द्रित रहेर सेतोपाटीका प्रशन्न पोखरेलले पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश:
तपाईं चुनावी अभियानका लागि कास्कीमा प्रतिनिधि खटिनुभएको छ, कार्यकर्ता के भन्छन्?
पार्टीले ‘जनताको साथमा नेपाली कांग्रेस’ अभियान सञ्चालन गर्ने निर्णयअनुसार मलाई कास्की जिल्ला प्रतिनिधिका रूपमा जिम्मेवारी दिएको छ।
जिल्ला जाने, वस्तुस्थिति बुझ्ने, संगठन निर्माणलगायत विषय बुझ्नेजस्ता काम भइरहेका छन्। पार्टीका उम्मेदवारलाई विजयी बनाउने गरी अभियानको सञ्चालन भइरहेका छन्।
हामीले सत्ता गठबन्धनसँग मिलेर चुनावमा जाने भनेका छौं। पार्टीबाट उम्मेदवारी दिन नपाएका ठाउँमा गठबन्धनका उम्मेदवार हुन्छन्। उहाँहरूलाई पनि सहयोग गर्ने हो।
हामीले पार्टीका तल्ला तहसम्म गठबन्धन गरेर किन चुनावमा जानुपर्यो भन्ने राम्रोसँग बुझाउन सकेका छैनौंजस्तो लाग्छ।
हामीले गठबन्धन गरेनौं भने अरूले गठबन्धन गर्छन् भन्ने बुझ्नुपर्छ। २०७४ मा एमाले र माओवादीले वाम गठबन्धन गर्दा हामीले प्रत्यक्षतर्फ २३ सिट मात्रै जित्यो।
कांग्रेसले यसपालि पाँच दलीय गठबन्धन गरेर पार्टीलाई बहुमतनजिक पुर्याउने कोशिस गरेको हो भन्ने माथिदेखि तलसम्म पार्टीका सबै निकायमा रहेका साथीहरूले बुझ्नुपर्छ।
यसपालि गठबन्धन गरेर चुनावमा जाने र पार्टीको सिट धेरै बढाउन कोशिस गर्ने हो। मंसिरपछि बन्ने सरकारले लोकप्रिय काम गर्ने र त्यही कामका आधारमा अर्को चुनावमा कांग्रेस एक्लै लड्ने हो।
कांग्रेस अहिले पनि सरकारमा छ। हाम्रै सभापतिको नेतृत्वमा सरकार छ। पहिले पनि कांग्रेस पटक-पटक सरकारमा थियो। विगतमा के-के काम गर्न सकेनौं जनतामाझ भन्नुपर्छ र अब गल्तीहरू छन् भने सुधार गर्दै जाने प्रतिवद्धता पार्टीको हुनुपर्छ।
हाम्रो नेतृत्वमा बन्ने सरकारले के-के काम गर्छ भनेर फेहरिस्त जनताका सामु राख्नुपर्छ। साथै गठबन्धनका पक्षमा मत निर्माण गर्न जरूरी छ।
केही सिट बढाउन र गणितका लागि मात्रै यो गठबन्धन होइन भन्ने जनतालाई बुझाउनु पर्यो। हामीले के-के काम गर्न यो गठबन्धन आवश्यक छ भन्ने कुरा प्रष्ट रूपमा जनतासामु राखौं ताकी जनता र उम्मेदवार हुन नपाएको पार्टीकै साथीहरूले पनि चित्त बुझाउन सक्ने ठाउँ होस्।
पार्टीले जनताका मुद्दा उठाइरहेको छ भन्ने आभाष साथीहरूलाई दिलाउनुपर्छ। मैले टिकट नपाए पनि के भो र पार्टीले जनताका मुद्दा बोकेको छ भन्ने कम्तीमा आभाष हुनुपर्छ।
तपाईं कहाँबाट चुनाव लड्ने हो?
म तनहुँ क्षेत्र नम्बर २ मा लामो समयदेखि केन्द्रित छु। त्यहाँका जनताका समस्या समाधान गर्न मैले सकेजति पहल गरिराखेको छु। निरन्तर उक्त क्षेत्रका गाउँ-गाउँमा पुगेर जनताका कुरा सुनेको छु। म त्यहाँका जनताका सुख, दु:खमा भिजिसकेको लामो समय भइसकेको छ।
म यही क्षेत्रबाट आगामी मंसिर ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार हुन चाहन्छु। मलाई विश्वास छ, पार्टीले पनि मलाई टिकट दिन्छ।
त्यो क्षेत्रमा नेता शंकर भण्डारीले पनि दाबी गर्नु भएको छ नि!
हो, उहाँले दाबी गरिराख्नुभएको छ। २०७४ को चुनावमा उहाँ यो क्षेत्रमा उम्मेदवार हुनुहुन्थ्यो। तर यो क्षेत्र कांग्रेसका लागि सहज क्षेत्र होइन। हामीले जितिराखेको क्षेत्र होइन।
शंकरले नछाडे तपाईं अन्यत्र जाने वा समानुपातिक बस्ने हो कि?
म समानुपातिकतर्फ बस्दिनँ। तनहुँ-२ को विकास निर्माण लगायतमा मैले काम गरिराखेको छु। त्यो कारणले पनि अझै काम गर्न प्रत्यक्षतर्फ नै उम्मेदवार हुन चाहन्छु। त्यहाँको समाज र मतदातालाई नजिकबाट चिन्दछु, त्यसैले यही क्षेत्रमा चुनाव लड्ने भनेर तयारी गरेको हुँ। म यही क्षेत्रमा उठ्न पाउँछु भन्नेमा विश्वस्त छु।
तनहुँ-२ छाडेर अन्यत्र उठ्ने त्यति स्वभाविक हुन्न कि भन्ने लाग्छ। नयाँ ठाउँमा जाँदा त्यहाँका जनता र मतदातासँग भिज्न समय पनि लाग्छ। हामी पार्टीका इमान्दार कार्यकर्ता हौं। पार्टीले कुनै क्षेत्रमा चुनाव लड् भन्यो भने लड्नुपर्ने हुन्छ। तर पार्टीले पनि जित्ने आधारहरू तयार पार्नु पर्ने होला!
तपाईं २०७४ मा प्रदेशमा ५ भोटले पराजित हुनुभयो। यसपालि गण्डकी मुख्यमन्त्री हुन प्रदेशमै उठ्नुपर्यो भन्ने दबाब आयो भने के गर्नुहुन्छ?
प्रदेश सभा क्षेत्रमा उठ्दा म अघिल्लो पटक चुनावमा ५ मतले पराजित भएँ। मलाई त्यसबेला प्रदेशमा गएर काम गर्ने हुटहुटी थियो। त्यसबेला मेरा समकालीन साथीहरूले प्रतिनिधि सभामै टिकट पाउँदा मैले प्रदेशमा पाएको थिएँ।
अब म प्रदेशमा उठ्दिनँ। समय घर्किसक्यो। यसबीचमा म पार्टी महामन्त्रीमा उम्मेदवार भई पराजित पनि भएँ। साथीहरूले तिमी केन्द्रीय राजनीतिमै सक्रिय रहनुपर्छ भन्नुभएको छ। म पनि राष्ट्रिय राजनीतिमै रहन प्रतिनिधि सभातर्फ उठ्न खोज्दैछु। मैले केन्द्रीय संसदमै भूमिका निभाउनु पर्दछ भन्ने लाग्छ।
मुख्यमन्त्री हुन, प्रदेश सांसद हुन किन नेताहरू मन गरिरहेका छैनन्, कारण के हो?
पहिलो पटक बनेका प्रदेश सरकारहरूले जनअपेक्षाअनुसार काम गर्न सकेनन्। त्यो बेला केन्द्रमा पनि नेकपाको र मधेश प्रदेशबाहेक अन्यत्र पनि त्यो बेला नेकपा (एमाले-माओवादी) कै सरकार थियो।
प्रदेश सरकारले अपेक्षाअनुसार काम गर्न नसकेपछि प्रदेश र संघीयताकै औचित्यमाथि प्रश्न उठ्ने काम भयो। विकास निर्माण र सुशासनका क्षेत्रमा प्रदेश सरकारका कामकारबाहीहरू पनि कमजोर देखिएका थिए।
प्रदेश सरकारको कामकारबाहीले जनतामा नराम्रो सन्देश गयो। प्रदेश सरकारले अनियमितताहरू रोक्न सकेनन्, राज्यमाथि भार बढ्यो भन्ने गुनासा सुनिन थाल्यो। यसो हुनुमा त्यसबेलाको नेतृत्व दोषी हो भन्छु।
केन्द्र सरकारले पनि त्यसबेला प्रदेश सरकारलाई यी त हाम्रा मातहत हुन् भन्नेजस्ता व्यवहारहरू देखायो। केन्द्र सरकारको नेतृत्व नै संघीयता विरोधी हो कि जस्तो भयो। केन्द्र सरकारले प्रदेशका सरकारलाई मार्गनिर्देशन र आवश्यक सहयोग गरेन।
कानून निर्माण गर्न, योजनाहरू व्यवस्थित बनाएर विकास र समृद्धिको बाटोतर्फ अग्रसर हुनका लागि प्रदेशहरूले काम गर्नुपर्ने थियो। तर जनताका अपेक्षाअनुसार काम भएनन्।
संघीयताप्रति प्रतिवद्ध दलहरूले पनि प्रदेश सरकारका कामकारबाही थप प्रभावकारी बनाउनका लागि सहयोग गर्न जरूरी छ। नेतृत्वले संघीयता र प्रदेश आवश्यक छ भन्ने सोच राख्नुपर्छ। प्रदेशले गर्ने काम पारदर्शी र फजुल खर्च रोक्ने खालको हुनुपर्छ। साथै मन्त्रिमण्डल सानो बनाउनु पर्नेमा सरकार टिकाउन ठूलो मन्त्रिपरिषद बनाउने प्रवृत्ति देखा परेको छ।
शक्तिकेन्द्र स्थापित हुने गरी बजेट निर्माण हुन थालेका छन्- प्रदेशमा। तर जनताका समस्याहरू समाधान हुन सकेका छैनन्। आफूअनुकूल योजना बनाइएका छन्। कर वृद्धि गर्ने, राज्यका खर्च वृद्धि गर्नेजस्ता प्रवृत्ति प्रदेश सरकारले पनि दोहोर्याएका छन्।
केन्द्र सरकारको पनि कुरा गरौं। पाँच दलीय सत्ता गठबन्धनले बनाएको शेरबहादुर देउवा नेतृत्वको सरकारले कस्तो काम गरिरहेको छ?
यो सरकार विशेष परिस्थितिमा बनेको थियो भन्ने बुझ्नुपर्छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेपछिको परिस्थितिमा संविधान बचाउन र देशलाई अगाडि बढाउन यो सरकार बनेको थियो।
यो सरकारले दीर्घकालीन महत्वका ठूला योजनासहितका काम गर्ने अपेक्षा गरिएको थिएन, छैन पनि। संविधानअनुसार देश अगाडि बढाउने काम यो सरकारले गर्यो। यतिमात्र होइन, कोरोनाविरूद्ध जनतालाई समयमै खोप दिने काम देउवा नेतृत्वको सरकारबाट भएको छ, यो राम्रो हो।
यद्यपी जनताका जनजीविकाका विषय र सुशासन कायम राख्ने कुरामा यो सरकारले जति काम गर्नुपर्ने हो गर्न सकेन। अनियमितता हुन नदिने र अन्याय हुन नदिने कुरामा अपेक्षाअनुसार काम हुन सकेन होला तैपनि हामीले यो सरकारलाई राम्रा काम गर्न भनिरहेका छौं। यो सरकारले गर्ने काम गठबन्धनको भविष्यसँग पनि जोडिएको छ। चुनावपछि पनि गठबन्धन आवश्यक छ भन्ने औचित्य पुष्टि गर्न पनि यो सरकारले जनअपेक्षा बुझेर काम गर्नुपर्छ।
कोरोनाविरूद्ध जनतालाई खोप, दीर्घ रोगीलाई मासिक भत्ता, समयमै आवधिक निर्वाचनजस्ता कुरामा भने देउवा नेतृत्वको यो सरकार सफल भएको छ। सुशासनका क्षेत्रमा केही त्रुटि देखिएका छन् यो सुधार गर्नुपर्ने पाटो छ।
सभापति देउवाले यसपालि पनि विधानअनुसार पार्टी चलाउन सक्नुभएन भन्ने छ नि!
विगतका त्रुटि सच्याउने प्रतिवद्धतासहित महाधिवेशनबाट पार्टीमा नयाँ नेतृत्व आएको हो। तर महाधिवेशनपछि पनि त्रुटि उस्तै छन्, सच्चिएनन्।
कतिपय सन्दर्भमा पार्टी विधानको पालना हुन सकेको छैन। सभापतिले छ महिनाभित्र गर्नुपर्ने मनोनयन अहिलेसम्म भएका छैनन्, केही मनोनयन भए तर आंशिक छन् पूर्ण भएन।
पार्टीको आन्तरिक जीवन र भ्रातृसंस्थामा देखिएका अन्यौलता हटाउनुपर्छ। न्यायोचित हुने गरी प्रभावकारी हस्तक्षेप आवश्यक छ। सभापति र सिंगो पदाधिकारीहरू विगतजस्तै अलमलिएको जस्तो लाग्छ। कतिपय अवस्थामा पदाधिकारी र पार्टीका अन्य निकायबीच समन्वय हुन सकेको छैन। परिणाममा प्रभावकारिता नदेखिनुमा पदाधिकारी बढी दोषी छन्।
केन्द्रीय समिति तथा कार्यसम्पादनबाट पटक-पटक निर्णय भए पनि भ्रातृ संस्थालाई गतिशील बनाउन सकिएको छैन। पदाधिकारी तथा कार्यसम्पादन समिति बैठकहरू हुन्छन् तर निर्णयहरू कार्यान्वयन हुन सकिरहेका छैनन्। निर्णय अधुरै हुन्छन्। पार्टीको आन्तरिक समस्या समाधान गर्न सके मात्रै हामीले आगामी चुनावमा थप उपलब्धी हासिल गर्न सक्नेछौं।
पार्टीमा सबैलाई जिम्मेवारी र भ्रातृ तथा शुभेच्छुक संघसंस्थालाई पूर्णता दिएर निर्वाचन केन्द्रित अभियानमा होमिनुपर्छ। सबैलाई जिम्मेवारी दिएर उत्साहित रूपमा निर्वाचनमा होमिनुपर्छ भन्ने मलाई लाग्छ।
आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यमा हामी कसरी पुग्नेजस्ता विषयमा पार्टीले प्रष्ट खाका र धारणा सार्वजनिक गरेर जानुपर्छ। यसतर्फ पदाधिकारीहरूको ध्यान जान जरूरी छ। निर्वाचनमा समाज तरंगित हुने र मतदाता आकर्षित हुने दृष्टिकोणसहित कांग्रेस प्रस्तुत हुन आवश्यक छ। यसो गर्न सकेनौं भने हामी बहुमत नजिक पुग्न सक्दैनौं।
सत्ता गठबन्धनसँग तालमेलले मात्रै हाम्रा उम्मेदवारले जित्दैनन्। यसका लागि हामीसँग देशलाई कहाँ पुर्याउने हो प्रष्ट दृष्टिकोण भएको ‘डकुमेन्ट’ हुनुपर्छ।
गठबन्धनको कुरा निकाल्नुभयो। कांग्रेसले प्रतिनिधि सभामा १०० सिट दाबी गरेको छ, आधार के हो?
हामीले केन्द्रीय समितिबाटै आगामी चुनावमा गठबन्धन गरेर जाने निर्णय गरेका थियौं। गठबन्धन गर्ने भनेकै लेनदेन हो। हामीले केही लिने र सत्तारूढ दलका अरूलाई केही छाड्ने। तर गठबन्धन गरेकै कारण एकदमै कमजोर रहेका दललाई उम्मेदवारी छाड्न हुन्न।
विगतका चुनावका मत हेर्दा थौरै मत ल्याएका दललाई कांग्रेसले जिताउनका लागि शतप्रतिशत मत खन्याउन सक्दैन होला भन्ने लाग्छ। मैले भन्न खोजेको शतप्रतिशत भोट ट्रान्सफर हुँदैन भन्ने हो।
हरेक निर्वाचन क्षेत्रको वस्तुस्थिति बुझेर मात्रै कुन क्षेत्रमा कुन पार्टीले उम्मेदवारी दिने टुंगो हुनुपर्छ। त्यसका लागि गत वैशाखको स्थानीय चुनावको मत, २०७४ को प्रत्यक्षतर्फ र समानुपातिकतर्फ दलहरूले ल्याएका मत राम्रोसँग केलाउनुपर्छ। यहीँबाट थाहा हुन्छ, कुन क्षेत्रमा कुन दलको मत धेरै छ र को लोकप्रिय छ भन्ने! उम्मेदवारको लोकप्रियता र व्यक्तित्व हेरे उम्मेदवार तय गर्नुपर्छ, गठबन्धनमा रहेका दलहरूको भोट मात्रै जोडेर जितिन्न भन्ने अहिले नै याद गर्नुपर्छ।
हामीले आन्तरिक रूपमा गरेको अध्ययनअनुसार अधिकांश क्षेत्रमा कांग्रेस बलियो देखियो। १६५ प्रतिनिधि सभा क्षेत्रमध्ये हामी ९५ देखि १०० क्षेत्रमा बलियो छौं। यसमा हामीले २०७४ मा पाँच हजारभन्दा कम मतले कांग्रेसले हारेका क्षेत्र राखेका छौं। त्यो बेला वामगठबन्धन हुँदा एमाले र माओवादीका भोट एकअर्कालाई जाँदा उनीहरूले जितेका थिए, कांग्रेसले हारेको थियो। अहिले उनीहरू अलग भएकोले ती क्षेत्र हामी जित्छौं।
गठबन्धन गरे पनि स्थानीय चुनावमा काठमाडौं महानगरलगायत ठाउँमा कांग्रेस पराजित भयो, स्वतन्त्र उम्मेदवारले मेयर जिते। संसदीय चुनावमा कांग्रेसका लागि स्वतन्त्रहरू कत्तिको चुनौतीपूर्ण छन्?
गत वैशाखमा भएको स्थानीय चुनावमा थौरै ठाउँ गुमाएर नेपाली कांग्रेसले धेरै ठाउँ जितेको छ। २०७४ मा भन्दा हामीले अहिले केही सिट बढायौं। स्थानीय चुनावमा केही ठाउँमा हामी चुक्यौं। यसबाट पाठ सिकेर मंसिरको चुनावको तयारी गर्नुपर्छ।
स्वतन्त्र उम्मेदवारहरू चुनावमा भाग लिन आउनु र जित्नुलाई लोकतन्त्रको सौन्दर्यका रूपमा मैले हेरेको छु। ती स्वतन्त्र उम्मेदवार साँच्चिकै स्वतन्त्र जस्ता छन्, उनीहरूका कार्यकर्ता छैनन्। पूर्ण स्वतन्त्रजस्तो! सचेत समुदायले सहरी क्षेत्रमा स्वतन्त्र उम्मेदवारलाई जिताएर जनताले आफूहरू मालिक हो भन्ने देखाउनुभयो।
यसबाट लामो इतिहास भएको र संगठन भएको कांग्रेसले भने केही शिक्षा लिनुपर्छ। उम्मेदवार छनौट लगायतमा त्रुटि छन् भने आगामी दिनमा सच्याएर जानुपर्छ। हामीले हाम्रा कुरा जनतालाई बुझाउन नसकेर पनि यस्तो परिणाम आएको हुनसक्छ। गल्ती सुधार गर्दै हामी अघि बढ्नुपर्छ। युवालाई भूमिका दिँदै आकर्षित गर्ने र प्रविधि मैत्री प्रचारका काममा पार्टी लाग्न पनि जरूरी छ।
उसो भए उम्मेदवार छनौट कसरी गर्ने त?
पार्टीभित्रका गुट र उपगुटलाई भाग दिनेभन्दा पनि मापदण्ड बनाएर उम्मेदवार छनौट गरौं। कुनै नेतासँग वा कुनै समूहसँग नजिक भएकालाई उम्मेदवार नबनाऔं। जनताहरूका सुख,दु:खमा जोडिएको, लोकप्रिय, पार्टीमा योगदान गरेकोलाई उम्मेदवार बनाउन सकिन्छ।
उम्मेदवार छान्दा न्यायोचित हिसाबले गरौं ताकी उम्मेदवार हुन इच्छुक आफ्नै पार्टीका साथीले पनि चित्त नदुखाओस्। ऊ पनि सँगसँगै उत्साहित भएर चुनावी कार्यक्रममा खट्न सकोस्, सहयोग गर्न सकोस्।
पार्टीबाट उम्मेदवार तय गर्दा विधि र प्रक्रिया छ त्यसैअनुसार अघि बढ्नुपर्छ। प्रक्रिया मिच्न हुन्न। इमान्दार छवि भएका र पार्टीमा सक्रियतापूर्वक काम गरिरहेकालाई उम्मेदवार बनाऔं। चुनावमा गठबन्धन गर्दा पार्टीका धेरै साथी अवसरबाट बञ्चित हुनुपर्ने अवस्था आउँछ। उनीहरूलाई पछि केही भूमिका दिइनेछ, न्यायोचित भूमिका प्राप्त हुन्छ भनेर विश्वस्त बनाउनुपर्छ। टिकट वितरण गर्दा पार्टीले यस्तो सन्देश दिनुपर्छ कि, टिकट नपाउने पनि खुसी भएर पाउनेसँगै चुनावमा होमियोस्।
गुट र निकटताको आधार तथा व्यक्तिगत सम्बन्धका आधारमा टिकट दिन हुन्न। पार्टीमा काम गर्ने र जनताका विश्वास जित्न सक्ने व्यक्तिलाई टिकट दिनुपर्छ।
टिकट वितरणमा युवा र पुरानालाई ५०-५० लागु गर्नुपर्छ भन्ने आवाज कांग्रेसभित्र उठेको रहेछ नि!
म यसमा फरक मत राख्छु। पार्टी अधिवेशनबाट नेतृत्वमा पुर्याएकालाई चुनावमा कसरी बाहिरै बस्नुस् भन्न सकिन्छ? जबकी टिकट दिने ठाउँमा तिनै नेताहरू छन्। आफूले आफैंलाई टिकट नदिएर अरूलाई देलान्?
पार्टीमा मतदानबाटै नेतृत्वमा पुगेकाहरूलाई आमचुनावमा नउठ्नुस् भन्न पनि गाह्रो नै हुन्छ। नेता पार्टी जीवनबाट बाहिरिने भनेको अधिवेशनबाट हो। तर हामीले उम्मेदवार बनाउँदा अहिलेसम्म मौका नपाएको, युवाको प्रतिनिधित्व देखिनेलाई उठाउँदा बढी उपलब्धिमुलक हुने देखिन्छ।
कांग्रेसमा ५० प्रतिशत टिकट युवाले पाउनुपर्छ भन्ने मागलाई सम्बोधन युवालाई उम्मेदवार बनाए पछि हुन्छ।
नेताहरूसँग तपाईंका सम्बन्धबारे पनि कुरा गरौं। सभापति, महामन्त्रीद्वयसँग कुराकानी भइरहेका छन् कि छैनन्?
म सभापति शेरबहादुर देउवासँग बढी भेटघाट गर्ने कोशिस गरिरहेको छु। एकै टिममा रहेर हामी कांग्रेसको १४ औं महाधिवेशनमा गएका थियौं। उहाँ जित्नुभयो म महामन्त्रीमा पराजित भएँ।
पराजित भएलगत्तैदेखि नै म प्राय: जिल्लाहरू गइरहेको छु। साथीहरू भेटेको छु। जिल्लाहरूमा मैले सुनेका समस्याहरू हल गर्न सभापतिसमेत रहनुभएका प्रधानमन्त्रीलाई भेटेर मैले जानकारी गराउने गरेको छु।
सभापतिसँग भेट हुँदा प्राय: पार्टीका आन्तरिक जीवन, समसामयिक राजनीति र देशका विभिन्न ठाउँ जाँदा मलाई गरिएका गुनासाहरू मैले सभापतिलाई सुनाउने गरेको छु। सभापतिसँग सघन संवाद हुने गरेको छ।
मैले भेटिरहने अर्को नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि हो। उहाँ पछिल्लो समय सत्ता गठबन्धनबाट सिट बाँडफाँट कार्यदल संयोजक पनि हुनुहुन्छ। नेता सिटौलालाई मैले कार्यकर्ता संरक्षण गर्ने नेताका रूपमा बुझ्छु।
उहाँ नेता तथा कार्यकर्तालाई उत्साहित गरिरहनुहुन्छ। यो राम्रो पक्ष लाग्छ। यो उहाँको क्षमता पनि हो। पार्टीका पदीय भूमिकामा नरहे पनि उहाँ ऊर्जासाथ संगठनकै काममा हुनुहुन्छ। पार्टीका नेता तथा कार्यकर्तासँग घुलमिल हुने र आफूसँग जोडिन निरन्तर उत्साहपूर्ण रूपमा लागिरहनुहुन्छ।
उहाँको अर्को विशेषता भनेको समन्वय गर्न सक्ने क्षमता हो। पार्टीभित्र आन्तरिक द्वन्द्व समाधान वा बाहिर विभिन्न पार्टीहरूलाई समन्वय गर्ने काम प्राय उहाँकै काँधमा आइपुग्छ। उहाँले द्वन्द्वलाई मिलाउने काम गर्न सक्नुहुन्छ।
विभिन्न कालखण्डमा सँगै काम गरेका मेरा सहयात्रीहरू पार्टी पदाधिकारी भूमिकामा हुनुहुन्छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग राजनीतिक रूपमा विगतमा एकै ठाउँमा नभएको भए सायद यो सफलता हासिल हुँदैनथ्यो होला।
राजनीतिक महत्वकांक्षाका कारण सँगसँगै जान नसक्ने त प्रतिस्पर्धामा उत्रनु पर्नेजस्तो हुँदो रहेछ। तर हाम्रो व्यक्तिगत सम्बन्ध भने सुमधुर छ। हार्दिकतापूर्ण छ। एकअर्कालाई परेका बेला हामीले कुराकानी गर्छौं पनि।
पार्टीभित्रका सबै विषयमा परामर्श भने हुँदैन। सायद यो सम्भव पनि हुँदैन होला। म पनि पार्टीका बैठकमा आफ्ना कुरा प्रष्ट राख्छु। गगन-विश्वप्रकाशसँग महामन्त्री पदमा प्रतिस्पर्धामा उत्रिँदा म हारे पनि उहाँहरूले जित्दा मेरो पुस्ताले जित्यो भनेर म खुसी भएँ, सक्दो सहयोग गर्छु।