दैलेखको भगवतीमाई गाउँपालिका-५ का कर्णबहादुर कामीले र कविराम कामीले अपमानजनक नाम लेखिएका आफ्ना नागरिकता प्रमाणपत्र सच्याए। नाम सच्चिएपछि उनीहरू खुसी छन्।
यतिले मात्रै उनीहरूको काम सकिएको छैन। छोराछोरीका जन्मदर्ता र नामगरिकता सच्याउनु छ। श्रीमतीका पनि नागरिकता सच्याउनु छ। नागरिकताका आधारमा बनेका अन्य कागजात पनि सच्याउनु छ।
आफ्नो त सच्याइयो अब परिवारजनका जन्मदर्ता, नागरिकता र अन्य कागजात सच्याउन के के भुक्तमान आइलाग्ने हो!
कर्णबहादुरले यही भदौ ५ गते आइतबार दोस्रो पटक नागरिकताको प्रमाणपत्र पाए। आफ्नो नागरिकतामा भएको अपमानजनक नाम हटाएर सक्कली नामसहितको नागरिकता पाएपछि कर्णबहादुरको परिवारमा खुसी छाएको छ।
२०५६ सालमा पहिलो पटक नागरिकता लिँदा कर्णबहादुरको नाम ‘ठगे कामी’ लेखिएको थियो। नागरिकतामा भएको त्यही नामले गाउँसमाजमा उनका परिवारजनले अपमान खेप्नुप¥यो। उनले केही मौका पनि गुमाउनुर्यो।
‘नागरिकतामा लेखिएको नामका कारण दुःख त कति पाएँ, पाएँ कुरा गरी साध्य छैन,’ कर्णबहादुरले भने, ‘मैले मात्र होइन, छोराछोरीले पनि दुःख पाए, अझ पाउनेवाला थिए। अब सजिलो भयो।’
नागरिकतामा ‘ठगे’ नाम भएकै कारण कर्णबहादुरले हालै पनि एउटा राम्रो मौका गुमाउनु पर्यो। उनी गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडा सदस्य पदमा उम्मेदवारी दिने योजनामा थिए। टिकट पाउने पनि पक्का जस्तै थियो।
‘यो पटकको चुनावमा वडा सदस्यको टिकट जसरी पनि ल्याउने थिएँ, गाउँमा ठूलाबडासँग कुरा राख्दा तेरो नामै त त्यस्तो (नराम्रो) छ, काम कस्तो गर्लास् भनेर मजाकमा उडाइदिनुभयो,’ उनले दुखेसो पोखे, ‘त्यसपछि म आफैँ निराश भएर जाँगर मारेँ।’
कर्णबहादुर २०३५ सालमा जन्मेका हुन्। उनी साइँला छोरा हुन्। गाउँमा पनि कर्णबहादुर नै भनेर बोलाउँथे।
कुरा २३ वर्षअघिको हो, २०५६ सालमा नागरिकता बनाउने टोली सदरमुकामबाट गाउँ आयो। त्यो टोली गाउँ पुगेको कर्णबहादुरलाई थाह छैन। उनले टोली आएर नागरिकताका लागि नाम टिपेर जिल्लामा लगेको छ भन्ने मात्र सुनेका थिए।
त्यति वेला गाउँमा नागरिकता बनाउन उमेर पुगेकाहरूका नाम टिपाउने क्रममा उनको नाम पनि परेको रहेछ।
कर्णबहादुर स्कुलमा पढ्थे। स्कुलले बनाइदिएको प्रमाण लिएर गए। स्कुलले उनको नाम ‘कर्णबहादुर कामी’ लेखिदिएको थियो। सदरमुकाम पुगेपछि पो छक्क परे।
‘त्यतिबेला म सात कक्षामा पढ्थेँ। टोली गाउँ जाँदा सायद म स्कुल वा कतै काममा गएको हुनुपर्छ,’ उनले घटना सुनाए, ‘स्कुलले दिएको कागजात लिएर म नागरिकता लिन जिल्ला (सदरमुकाम) गएँ। नाम लिने टोलीले ठगे कामी भनेर लेखेको रहेछ।’
प्रशासनमा कागजात देखाएर उनले आफ्नो नाम कर्णबहादुर नै हो भनेर जिकिर गरे। प्रशासनका कर्मचारीले सिफारिस भएर आएको नाममा मात्र नागरिकता दिन मिल्ने अड्डी लिए। कर्णबहादुरले पनि स्कुलले दिएको प्रमाण देखाएर अड्डी लिए तर उनको केही सिप लागेन।
कर्णबहादुरले भने, ‘यही (ठगे) नामबाट लिने भए हुन्छ, नत्र हुँदैन भनेर उहाँहरूले हप्काउनुभयो। अहिलेजस्तो साथ दिने मान्छे पनि भएन। उति वेला आफूलाई विरोध गर्ने आँट पनि भएन।’
त्यस दिन उनी नागरिकताको प्रमाणपत्र नलिई घर फर्के। बाआमालाई सोधे। बाले साइँलो छोरो हो मात्र भनेका रहेछन्।
कर्णबहादुर तनावमा परे। पढाइ छाडेर उनी कालापहाड (भारतको पहाडी क्षेत्र) तिर जाने भए। त्यसबेला देशमा सशस्त्र द्वन्द्वले चर्को रूप लिन थालेको थियो। नेपालगञ्ज नाकामा पुगेपछि उनको नागरिकता खोजियो। नागरिकता नभए जान मिल्दैन भनेर प्रहरी र कर्मचारीले रोकिदिए।
उनी फेरि दैलेख फर्किए अनि नागरिकताको प्रमाणपत्र लिन सदरमुकाम पुगे। ‘ठगे कामी’ लेखेको नागरिकता पाए।
त्यो समय सम्झँदै उनले भने, ‘बाध्य भएर ठगे कामी लेखिएको नागरिकताको प्रमाणपत्र लिएर भारत गएँ।’
भारतबाट फर्केपछि पनि उनले नागरिकतामा भएको नाम सच्याउन गाउँका अग्रजहरूसँग सल्लाह गरे। उनीहरूले नागरिकताको नाम फेर्न मिल्दैन भने। नामले मात्र के हुन्छ र भनेर सान्त्वना दिन खोजे।
उनको मन मानेन। नागरिकतामा भएको नाम सच्याउन उनी सदरमुकाम पुगे। किन सच्चिन्थ्यो! कर्मचारीले सच्याउन मिल्दैन भन्ने जवाफ दिएर फर्काए।
कर्णबहादुरले आफ्नो जिद्दी छाडेनन्। तीन पटक धाए। अहँ, नाम सच्चिएन।
आजभोलि भन्दाभन्दै दिन बित्दै गयो। सधैँ एउटै कुराका पछि कुद्न सकिने पनि भएन।
यसो भनेर चित्त बुझाउँदा पनि नहुने रहेछ। केही दिनअघि नामको घाउ फेरि बल्झ्यो।
कर्णबहादुरलाई जेठी छोरीले स्कुलमा आफ्नो अपमान भएको घटना सुनाइन्। आठ कक्षामा पढ्दै गरेकी छोरी सुनिताले एक दिन बाबालाई सुनाइन्, ‘बुबा तपाईं त केही न केही पढेको मान्छे। हामीलाई स्कुलमा तपाईंको नाम लिएर गिज्याउँछन्। तपाईंको नाम सच्याउनु प¥यो।’
छोरीको कुरा सुनेपछि कर्णबहादुर चौथो पटक गत साउनमा नागरिकताको नाम फेर्ने प्रयास गर्न गाउँपालिका कार्यालय गए। त्यहाँ कुरा हुने क्रममा नागरिकताको फोटो खिचेर कसैले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिदिएछन्।
‘त्यही दिन मेरो नागरिकताको बारेमा जताततै चर्चा भएछ। भोलिपल्ट मैले वडाध्यक्षलाई आफ्नो कुरा राखेँ,’ उनले भने, ‘वडाध्यक्षले फेसबुक खोलेर हेर्नेबित्तिकै मेरो र गाउँका अर्का एक जनाको अपमानजनक नाम राखेको थाहा पाउनुभयो। त्यसपछि उहाँले हामी प्रक्रिया चलाउँछौँ भन्नुभयो।’
वडा कार्यालयले ‘ठगे’ को साटो वास्तविक नाम ‘कर्णबहादुर’ राखिदिन सिफारिस गरिदियो।
सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय गएपछि पनि ‘ठ’ अक्षरबाटै बन्ने नाम सिफारिस गरेर ल्याउनू भनेर फिर्ता गरिएको उनले बताए। ‘ठ’ बाट उपयुक्त नाम फेला पार्न सकेनन्।
कर्णबहादुर फेरि निराश भए। उनले भने, ‘म निराश भएँ, मेरो आत्मबल गि¥यो।’
फेरि वडा कार्यालय पुगेर कुनै उपाय लगाउनु पर्ला भन्ने सोच्दै थिए। त्यही वेला दैलेखकै एक पत्रकारले फोन गरे। उनले नागरिकता सच्याउन सहयोग गर्छु भने।
त्यही समय गृहमन्त्रालयले अपमानजनक नाम नाम सच्याउन चाहनेको सच्याइदिनू भनेर जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दियो। यसपछि नागरिकतामा कर्णबहादुरको नाम सच्चियो।
कर्णबहादुरका पाँच छोराछोरी छन्। उनीहरू कसैको पनि नागरिकता बनाउने उमेर पुगेको छैन। जन्मदर्तामा बाबुको नाम ‘ठगे कामी’ नै लेखिएको छ।
उनले अब छोराछोरीका जन्म दर्ता लगायतका कागजात पनि सच्याउनु छ। यसको प्रक्रिया सुरु गर्ने उनले बताए।
यसअघि श्रीमतीको नागरिकता पनि सच्याउनु छ। श्रीमतीको नागरिकतामा श्रीमानको नाम सच्याएपछि कर्णबहादुर छोराछोरीका लागि लागि काम सुरु गर्ने विचारमा छन्।
कर्णबहादुरले नामका कारणले अपमानको जे भुक्तमान सहेका थिए त्यो छोराछोरीमा पनि सरेको थियो। उनलाई आफ्नो नाम सच्चिएकोमा खुसी त छँदैछ, त्योभन्दा बढी खुसी आफ्नो नामका कारणले छोराछोरीले अपमान भोग्नु पर्ने भएन भन्नेमा छ।
उनले भने, ‘म निकै खुसी छु। मेरो त नाम सच्चियो, छोराछोरीको तनाव पनि हट्यो। यसमा झन् धेरै खुसी छु।’
कर्णबहादुरले अपमानजनक नामकै कारणले बाबुआमाबाट पाउने अंशवण्डा लिएका छैनन्। उनी नाम सच्याएर मात्रै नागरिकता चाहिने काम गर्ने मनसायमा थिए। श्रीमतीको नागरिकता र छोराछोरीको जन्मदर्ता सच्याएपछि अंशबण्डाको प्रक्रियामा जाने विचारमा छन्।
कहिलेकाहीँ कर्णबहादुरको मनमा कुरा खेल्छ– नागरिकताको लागि नाम संकलन गर्ने टोलीका कर्मचारीले कसरी ‘ठगे’ नाम लेखिदिए होलान! कसले त्यस्तो नाम भनिदियो होला! यस्तो नाम किन लेखाउँछौ भनेर कर्मचारीले किन भनेन् होला!
भगवतीमाई गाउँपालिकाकै कविराम पुरी (कामी) ले पनि आफ्नो वास्तविक नामसहितको नागरिकता पाएका छन्। उनले पनि कर्णबहादुरसँगै नाम सच्याएर नागरिकता लिए।
२०४६ सालमा गाउँमा पुगेको टोलीले ‘कुकुर कामी’ नाम लेखेर उनको नागरिकता बनाइदिएको थियो।
आफ्नो नागरिकतामा भएको अपमानजनक नामका कारण कविराम पनि अवसरहरूबाट बञ्चित भए। गाउँमा हुने भेला, उपभोक्ता समिति र कतिपय स्थानीय समितिहरूका बैठकमा गएनन्। नागरिकता प्रमाणपत्र देखाउनु पर्ने कुनै पनि ठाउँमा गएनन्।
कविरामका अनुसार सन्तान जन्मिने तर सानैमा मर्ने घटना दोहोरियो भने नराम्रो नाम राख्नु पर्छ भन्ने धारणा गाउँघरमा व्याप्त थियो।
यसै कारणले आफ्नो पनि नराम्रो नाम राखिएको उनको अनुमान छ। बाआमाका चार सन्ताको मृत्यु भएपछि कविराम जन्मेका थिए।
‘लगातार चार सन्तानको मृत्यु भएपछि बाबाआमाले म बाँच्ने आशामा मेरो नाम कुकुर राखेको हुनुपर्छ,’ उनले भने, ‘गाउँमा पढेलेखेका मान्छेले मेरो नाम टिपाउँदा त्यही टिपाइदिनुभएछ।’
कविरामका अनुसार उनको नागरिकता बन्यो तर आफू निरक्षर भएका कारणले नाम के लेखियो भन्ने पत्तै पाएनन्।
आफूलाई लेखापढी नआउने हुँदा आफ्नो नागरिकतामा त्यस्तो नाम लेखेको थाहै पाइनँ,’ उनले भने, ‘छ महिनापछि बिहे दर्ता गर्न जाँदा कुकुर कामी भनेर बोलाएपछि पो छक्क परेँ। नागरिकतामा त्यही नाम लेखिदिएका रहेछन्।’
नागरिकता बनेपछि त्यसकै आधारमा बनेका सबै कागजातमा नागरिकताकै नाम छ। कविराम अब श्रीमती र छोराछोरीका नागरिकता र अन्य कागजपत्र सच्याउने प्रक्रियामा छन्।
सबै कागजपत्र सजिलै सच्चिन्छन् कि सच्चिँदैनन्, झन्झट व्यहोर्नु पर्ने हो कि! कविरामको मनमा यही कुरा खेलिरहन्छ। भन्छन्, ‘अहिलेसम्म त दुःख पाइएकै थियो। अब अरू कागजात सच्याउन कति दुःख पाउनुपर्ने हो!’
उनका अनुसार छोराछोरी र बुहारीसहित पाँच जनाले नागरिकता लिनै मानेका छैनन्। दुई छोरा र एक बुहारीले चाहिँ लिएका छन्। तिनको पनि सच्याउनु छ।
गृहमन्त्रालयले गत साउन २३ गते अपमानजनक नाम राखेर जारी गरिएका नागरिकता सच्याउन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको थियो। त्यसको दुई साताभित्रै दैलेखका कर्णबहादुर र कविरामले सच्याए।
वडाको सिफारिस र सम्बन्धित व्यक्तिले दिएको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयको टोली गाउँमै पुगेर सर्जमिन मुचुल्का पनि उठाएको थियो।
गृहमन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता जारी नगर्न र त्यसरी जारी भएको नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन जिल्ला प्रशासनहरूलाई निर्देशन दिएको थियो।