भारतको झारखण्डका राज्यका सत्तारूढ सांसदहरू जहाज चार्टर्ड गरेर छिमेकी राज्य छत्तीसगढ गएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार साँझ उनीहरू राँची विमानस्थलबाट छत्तीसगढको राजधानी रायपुर गएका हुन्।
भारतीय जनता पार्टीले सत्तारूढ गठबन्धन फुटाइदिने डरले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले गठबन्धनका सांसदहरूलाई कंग्रेस आईले सत्ता चलाइरहेको छत्तीसगढ पठाइदिएका हुन्।
पछिल्लो समय भारतको निर्वाचन आयोगले मुख्यमन्त्री सोरेनविरूद्ध परेको एउटा उजुरीमा निर्णय गरेर पठाएको छ। सार्वजनिक नभएको उक्त निर्णयमा आयोगले सोरेनलाई सांसद हुन अयोग्य ठहर गरेको चर्चा छ।
त्यही चर्चाबीच झारखण्ड मुक्ति मोर्चाका नेता सोरेनको सरकार ढाल्न भाजपाले सत्ता गठबन्धनमा चलखेल गर्न सक्ने आशंका गरिएको छ।
आफू मुख्यमन्त्री भएकै बेला गत वर्ष एउटा ढुंगा खानी आफ्नै कम्पनीलाई भाडामा दिएको भन्दै सोरेनविरूद्ध उजुरी परेको थियो।
झारखण्डको ८१ सदस्यीय विधान सभाको सन् २०१९ मा चुनाव भएको थियो। उक्त चुनावमा सोरेनको झारखण्ड मुक्ति मोर्चाले ३० सिट जितेको थियो भने गठबन्धनमा रहेको कांग्रेस आईले १८ र राष्ट्रिय जनता दलले १ सिटमा जित हात पारेको थियो।
प्रतिपक्षमा रहेको भारतीय जनता पार्टीले भने विधान सभामा २६ सिट हात पारेको थियो।
मुख्यमन्त्री सोरेन सांसद हुन अयोग्य हुने आयोगले निर्णय गरेको हल्ला चलेसँगै गठबन्धनले आफ्ना सांसदलाई एक ढिक्का राख्न प्रयत्न गरेको छ।
मंगलबार ४९ मध्ये ३१ जना सत्तारूढ सांसद रायपुर गएका छन्। त्यहाँ उनीहरू एउटा रिसोर्टमा बस्नेछन्। अरू सांसदहरू पनि रायपुर जान्छन् कि जाँदैनन् र उनीहरू कहिले फर्किन्छन् भन्ने खुलेको छैन।
गत महाराष्ट्रमा पनि यसरी नै सांसदहरू हुल बाँधेर अर्को राज्यमा गएका थिए। शिव सेनाका सांसद एकनाथ सिन्दे असन्तुष्ट सांसदलाई लिएर सुरतदेखि असम पुगेपछि उद्धव ठाकरे नेतृत्वको सरकार ढलेको थियो। अहिले महाराष्ट्रमा सिन्देको नेतृत्वमा भाजपा सम्मिलित सरकार बनेको छ।