निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि लागेको महाअभियोगको आरोपबारे बयान दिने क्रममा भावनात्मक जवाफ दिएका छन्।
प्रतिनिधि सभाले राणामाथिको आरोपबारे छानबिन गर्न गठन गरेको एघार सदस्यीय समितिमा राणाले आफूमाथिको आरोप खण्डन गर्ने गरि कुनै प्रमाण पेश गरेका छैनन्।
समितिमा रहेका नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले राणाले कुनै प्रमाण पेश नगरेको बताए। ‘प्रमाणभन्दा पनि उहाँले भावनात्मक प्रकारका कुराहरु राख्नुभयो’, पोखरेलले सेतोपाटीसँग भने, ‘ठोस रूपमा कुनै प्रमाण लिएर आउनुभएको छैन। हामीले ४३-४४ वटा प्रश्न तयार पारेका छौँ। त्यो बाहेक सांसदहरुले थप्ने सयदेखि डेढ सय प्रश्नको जवाफ दिन जरूरी छ। हामी खुल्ला रुपमा छौँ। प्रमाणले जे देखाउँछ तथ्य प्रमाणका आधारमा हामी निष्कर्षमा पुग्छौँ। उहाँले अभियोगमा इन्कार गर्ने तथ्यहरु साथमा ल्याएर प्रस्तुत गर्नु भएको देखिएन।’
सम्बन्धित समाचार : यी हुन् प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउनुको २१ कारण (पूर्णपाठ)
महाअभियोग लागेसँगै निलम्बित अवस्थामा रहेका राणाले समितिमा आफूमाथि विभिन्न स्वार्थ समूहले मिलमेतोमा महाअभियोग लगाइएको बताएका छन्।
‘तत्कालिन बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश माग्नु भएको थियो। महासचिव लिलामणि पौडेलले चेम्बरमै आएर मुख्य न्यायाधीश माग्नुभएको थियो’, राणाले भने, ‘त्यस्तै सर्वोच्च बार अध्यक्ष पूर्णमान शाक्यको पनि मुद्दामा स्वार्थ थियो। तर मैले मानिनँ। विधि र शासनको पालना गर्छु भनेँ। त्यहीँ भएर उहाँहरू मेरा विरूद्ध लाग्नुभएको हो।’
समितिमा रहेका नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले राणाले सीमा बाहिर गएर कतिपय जवाफ दिएको टिप्पणी गरेका छन्।
‘उहाँले अभियोग किन ढिला भयो भन्ने सम्मको जिज्ञासा राख्नुभएको छ’, विश्वकर्माले भने, ‘उहाँले कतिपय प्रश्नमा सीमा बाहिर गएर जवाफ दिइराख्नुभएको छ।’
बयानका क्रममा राणाले लामोलामो जवाफ दिएको विश्वकर्माले बताए। ‘धेरै कुरा भन्न मन लागेकाले पनि होला लामो लामो जवाफ दिनुभयो’, विश्वकर्माले भने, ‘उहाँको जवाफ गोलमटोल छ। यस्तो भयो। यो स्वभाविक भयो भन्ने छ।’
विश्वकर्माले बयानमा राणाले संयुक्त इजलासबाट फैसला हुने भएकाले अन्य न्यायाधीशहरू पनि दोषी रहेको टिप्पणी गरेको बताए। ‘संयुक्त इजलासबाट फैसला हुने हो म मात्रै किन दोषी भएँ भन्ने उहाँको भनाई छ’, विश्वकर्माले बैठकपछि भने।
नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले राणाले बयानको क्रममा बार एशोसिएसनका पदाधिकारी, न्यायाधीश र राजनीतिक दलका नेतामाथि आरोप लगाएकी बताइन्।
‘सबै राजनीतिक दल, पूर्व प्रधानन्यायाधीशहरु सबैप्रति प्रश्न उठाउनु भएको छ’, शर्माले भनिन्, ‘हामीले सुनेका छौँ। हामीले बढी सुन्ने काम भयो। मिडियाप्रति पनि प्रश्न छ। उहाँले सबै एकातिर हुदाँ म एक्लो बृहस्पती भएँ भन्ने आशय थियो।’
जसपाका सांसद प्रमोद साहले राणाले बयानको क्रममा नाम लिएका व्यक्तिलाई पनि सोधपुछ हुनसक्ने बताए।
‘अहिले नै हाम्रो सन्तुष्टि असन्तुष्टिको कुरा होइन’, साहले भने, ‘सर्वोच्चका श्रीमानहरुको नाम आएको छ। उहाँहरुले गलत गराउन चाहनुभएको थियो। तर मैले न्यायपालिकाको सिद्धान्तलाई आधार मानेर गलत गर्न चाहिँन भन्नुभयो।’
साहले बयानको क्रममा सर्वोच्चका ९९ प्रतिशत न्यायाधीशहरू तपाईँको विपक्षमा कसरी गए भनेर प्रश्न गरेका थिए। ‘हरेक थोकमा प्रेसर गर्ने काम न्यायपालिकामा विगतदेखि नै भएको र मेरो पालामा पनि भयो भन्ने जवाफ दिनुभयो’, साहले राणालाई उद्धृत गर्दै भने, ‘मेरा विरूद्ध एकैपटक कार्यपालिकादेखि बार एशोसिएशनलगायत मिडियाबाट पनि एकैपटक आक्रमण भएको र अभियोग लागेको बताउनुभयो।’
महाभियोग सिफारिस समितिको बयानमा राणाले ‘आफूमाथि किन महाभियोग लागेको हो भन्ने प्रश्न’ बाट बयान सुरु गरेका थिए। राणामाथि २१ बुँदे आरोपसहित सांसदहरूले महाभियोग प्रस्ताव संसदमा राखेका थिए।
राजनीतिक रूपले नियुक्ति भएका न्यायाधीशका कारणले गर्दा आफूले एकमतले कतिपय निर्णय गर्न नसकेको राणाले बताएका थिए। राणाले आफूले मुद्दाको फैसला गर्दा बार्गेनिङ गरेको भन्नु झुठो आरोप भएको दाबी गरे। ‘बार्गेनिङ गरेको भन्ने कुरा झुठो हो। मैले पहिलैदेखि यो कुरा भन्दै आएको छु,’ उनले बैठकमा भनेका थिए।
राणामाथिको महाभियोगमा भोलि पनि बयान जारी रहनेछ।
सम्बन्धित समाचार : एकदिन भए पनि अदालत फर्किने राणाको धोको पूरा होला?